२१ बैशाख २०८१, शुक्रबार

चितवनमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हुँदै


असोज ३०, चितवन | जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र निर्माण थालिएको हो ।

गत जेठ अन्तिम साताबाट निर्माण थालिएको प्रदर्शनी केन्द्रमा आगामी कात्तिक १७ गतेबाट अन्तरराष्ट्रियस्तरको पोल्ट्री एक्स्पो हुने भएपछि कामलाई अरु तीव्रता दिइएको छ । चितवन प्रदर्शनी केन्द्र निर्माण समितिका संयोजक भेषराज दुवाडीका अनुसार पहिलो चरणमा केन्द्रको प्रदर्शन गर्ने ६० हजार वर्गफिटको क्षेत्रमा प्रदर्शनी गर्न मिल्ने गरी काम सम्पन्न गरिँदैछ ।
पोल्ट्री एक्स्पोपछि सो ठाउँको थप सजावटको काम र अन्य निर्माणको काम अघि बढाइने छ । सो केन्द्रबाट उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने छन् । प्रदर्शनी केन्द्रको मुख्य भागमा करिब २४० सय स्टल अट्ने छन् ।

तीन वटा ब्लक निर्माण गरिने छ । चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले साना तथा मझौला उद्यमीलाई प्रविधि तथा सीप आदानप्रदान गर्न प्रदर्शनी केन्द्र बढी फलदायी हुने बताउनुभयो ।  सरकारले निजी क्षेत्रलाई सोझै रकम हस्तान्तरण गरेर यति छोटो समयमा निर्माण सम्पन्न गर्न लागिएको यो केन्द्रलाई व्यावसायिक क्षेत्रबाट निकै महत्वका साथ हेरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !