१४ बैशाख २०८१, शुक्रबार

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


tax

२७ मङ्सिर, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म रु आठ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक उत्पादन करबाट रु तीन करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु दुई करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु एक करोड २१ लाख सङ्कलन भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताउनुभयो । “गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले गत आवमा रु छ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।

भैँसीपालनमा रु चार करोड लगानी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी हरि खड्का व्यवसायी हुनुहुन्छ । उहाँले दुलेगौँडा बजारमा युनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले गत वषदेखि शुक्लागण्डकी नगरपालिका–१० मीनामखानीमा भैँसीपालन शुरु गर्नुभएको छ । उहाँको युनिक मल्टी एग्रो प्रालिमा हालसम्म रु चार करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त फार्ममा हाल ४२ वटा दूध दिने भैँसी रहेका छन् । प्रत्येक भैँसीका लागि पाइपबाट पानीको व्यवस्था गरिएको छ भने घाँस राख्नका लागि पनि छुट्टै ठाउँ बनाइएको छ ।

उहाँले भन्नुभयो, “जग्गा खरीद, संरचना निर्माण र बाटो विस्तारलगायत सबै गर्दा रु साढे चार करोडभन्दा बढी लगानी पुगिसकेको छ ।” फार्मबाट उत्पादित दूध दुलेगौँडा र खैरेनीटार बजारमा रहेको आफ्नै बिक्री केन्द्रबाट बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

फार्मबाट उत्पादिन दैनिक २५० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । शुक्लागण्डकी नगरपालिकाको बजारमा मात्रै दैनिक ७०० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ । “शुक्लागण्डकी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ”, उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !