६ जेष्ठ २०८१, आइतबार

कर सङ्कलन शुरु


goverment tax

१४ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो ।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नं २७, २९,३०, ३१ बाट कर सङ्कलन शुरु भएको छ । उहाँका अनुसार वडा नं ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजश्वलगायत सबै कर तिर्न सकिनेछ ।

महानगरपालिका कार्यालयमा कर सङ्कलन हुँदा जनतालाई कष्टकर हुनुको साथै बढी भीड हुने गरेको कारण सर्वसाधारणले जुनसुकै वडामा राजश्व बुझाउने व्यवस्था गरिएको बताउँदै उहाँले वडा नं १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर सङ्कलन शुरु गरिने जानकारी दिनुभयो ।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरी महानगरले कर सङ्कलन शुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल बताउनुहुन्छ ।

असोज महीनाको ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर सङ्कलन शुरु गरेको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !