२० बैशाख २०८१, बिहिबार

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत


डा. प्रकाशशरण महत

पर्सा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए । विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे । उनंले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उनको भनाइ छ ।

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए । मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनुपरेको बताए ।

सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना लगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिए ।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए ।

उनले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई रु २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि रु एक करोड अर्थमन्त्रालयबाट निकासा भइसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !