१९ बैशाख २०८१, बुधबार

कञ्चनपुरका स्थानीय तह : ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रवृत्ति’


चाँदनी र दोधारा

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गरिने व्यवस्था गरिएको छ ।

नगर उपप्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याईएको बताउनुभयो । उनका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको छ ।

हिंसा पिडीत महिलाका र दशनामी तथा सन्यासी सामुदायका लागि पनि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आगमी आर्थिक वर्षका लागि रु ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए ।

एकल पुरुषलाई भत्ता

कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”

योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ ।

नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ ।

प्राविधिक शिक्षाका लागि छात्रबृत्ति

बेदकोट नगरपालिकाले प्राविधिक शिक्षा पढ्का लागि दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र विपन्न गरिब जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बजेटको व्यवस्था गरेको छ ।

छात्रबृत्ति प्रदान गरी चिकित्सक, पाइलट, ईन्जिनियर , कृषि विज्ञान , सवईञ्जिनियर , सर्वेक्षक, स्टाप नर्स, जेटिए, अनमी, एचएलगायत दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगरपालिकाको नगर सभाले रु ५५ लाख बजेट विनियोजन गरेको छ ।

“दक्ष प्राविधिक जनशक्ति उत्पादनको अभाव खेप्नु नपरोस् भनेर लक्षित समुदायका युवालाई छात्रबृत्ति दिने व्यवस्था गरेका छौँ”, नगर प्रमुख अशोक चन्दले भन्नुभयो, “आर्थिक अभावकै कारण प्राविधिक शिक्षा पढनबाट कसैले पनि बञ्चित हुनु पर्दैन ।” प्रारम्भिक बाल शिक्षकलाई नगरपालिकाले मासिक रु सात हजार दिने र उपयुक्त विद्यार्थी सङ्ख्या अनिवार्य हुनुपर्ने नगर सभाले निर्णय गरेको छ ।

सामुदायिक विद्यालयका कर्मचारीको तलबमा नगरपालिकाले रु १० हजार ५००, सात हजार ५०० र तीन हजार ५०० दरले मासिक थप तलव गरी बजेटमा व्यवस्था मिलाएको छ । लामो समयदेखि कार्यरत स्वास्थ्य स्वयंसेविकालाई अवकाश लिँदा एकमुष्ट रु दुई लाख रकम दिने बजेटमा उल्लेख गरिएको छ । बेदकोट नगरपालिकाको नवौँ नगर सभाबाट आब २०७८/७९ का लागि रु ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !