२१ बैशाख २०८१, शुक्रबार

साउन महिना शुरु भएपनि ठप्प छ चुरा पोतेको व्यापार


चुरा

काठमाडौँ, ६ साउन । विगतका वर्षमा साउन महिना शुरु भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहल पहल देखिदैन ।

काठमाडाँैको मुख्य र पुरानो व्यपारिक स्थानका रुपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन । बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पु¥याएको छ । खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुर्नु मात्र भएको व्यापारी सविर अहमद बताउनुहुन्छ । उहाँ प्रश्न गर्नुहुन्छ, “व्यापार नै छैन कसरी परिवार चलाउने ?” मल्ल कालदेखिको पुख्र्याैली पेशा धान्दै आउनुभएका उहाँ इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको जिकिर गर्नुहुन्छ ।

पोतेको व्यापार गर्दै आउनुभएका उहाँ विगतका वर्षमा मानिसको अत्याधिक भिडभाड हुने गरेको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन ।” विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताउनुभयो । उहाँ जस्तै यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ । विगतका वर्षमा दैनिक झण्डै रु ५० हजारको व्यापार हुने गरेकामा अहिले रु एक हजारको पनि व्यापार नहुने गरेको बताउनुहुन्छ । “व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ”, उहाँले भन्नुभयो । सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको उहाँको ठम्याइ छ । बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको उहाँले बताउनुभयो । जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको चौधरीको दुखेसो छ ।

व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ ।” यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उहाँको बुझाइ छ । सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको उहाँको आरोप छ । “जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ ?”, उहाँको प्रश्न छ । कोरोनासँगै समाजमा मनोवैज्ञानिक त्रास बढ्दै गएको उहाँ बताउनुुहुन्छ । राजनीतिक खिचातानीलाई छाडेर सरकारले जनताको अवस्थालाई बुझी नयाँ विकल्प खोजी हाल्नुपर्ने अवस्था रहेको उहाँको सुझाव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु