१४ बैशाख २०८१, शुक्रबार

मनाङका पुल अझै बनेनन्ः जोखिमपूर्ण यात्रा


मनाङ, २९ जेठ । हिमालपारिको जिल्ला मनाङ पुग्न अहिले पनि धेरै खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

अप्ठ्यारो बाटोसँगै आधा दर्जनभन्दा बढी खोलामा अस्थायी काठका पुल प्रयोग गर्दा मनाङको यात्रा जोखिम छ । लमजुङ र मनाङको सिमाना म्यार्दीखोलादेखि सडकको अन्तिम बिन्दु मनाङको खाङ्सारसम्म पुग्दा धेरै खोलामा काठका पुल छन् । ती काठको पुलबाट जोखिम यात्रा गर्दै सामग्री ओसारपसार र मानिसहरु यात्रा गर्ने गर्छन् । काठे पुल हटाएर सहज यात्राका लागि फलामे पुल राख्ने भनिएको धेरै भएको छ तर कुनै पनि काम अहिलेसम्म भएको छैन ।

मनाङको तिमाङ खोला, सब्जी खोला र म्यार्दी खोलामा पुल निर्माण गर्ने जिम्मा क्याराभान कन्सल्टेन्सीले पाएको छ । तर अहिलेसम्म पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने, ढुवानीका सामानबीच बाटोमै अलपत्र पर्ने गरेको मनाङ ङिस्याङका होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो । “बन्दाबन्दीले अहिले अझै सामग्री र पर्यटक आउने अवस्था छैन र स्थानीयवासीलाई मात्र कम सामग्री आउँदा सहज छ तर यात्रुसँग सामग्री पनि ढुवानी गर्दा भने पुलको कारणले गर्दा बीचबाटोमा सामान अलपत्र हुन्छ”, गुरुङले भन्नुभयो ।

पुल निर्माणको जिम्मेवारी पाएका क्याराभान कन्सल्टेन्सीलाई पटक पटक म्याद थप्दासमेत समयमा काम सम्पन्न गर्न नसक्दा मनाङवासी मर्कामा परेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ । विसं २०७२ देखि निर्माणको काम थालिए पनि पाँच वर्ष पूरा हुँदासम्म कामले गति लिएको छैन । क्याराभान कन्सल्टेन्सीका सहायक इन्जिनीयर नारायण लामाले गत मङ्सिर मसान्तसम्ममा काम सक्ने सम्झौता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङमा कहिले हिमपात, बाढी पहिरोका कारण सामान ल्याउन नसकेकाले समयमा काम सम्पन्न गर्न सकिएको छैन, चालू आर्थिक वर्षमा सम्पन्न हुन्छ भन्ने थियो तर बन्दाबन्दीले आवश्यक सामग्रीको ढुवानी र प्राविधिक आउन सक्ने अवस्था नभएपछि पुल निर्माणको काममा ढिलाइ भएको छ ।”

यसरी समयमा पुल निर्माण नहुँदा काठका कच्ची पुलको भरमा जोखिम मोलेर सवारी चलाउनुपर्ने चालक नेत्र थापाले बताउनुभयो । मनाङका पाँचवटा पुल निर्माणका लागि रु २२ करोडभन्दा बढी रकम विनियोजन भएको छ । लमजुङ र मनाङको सिमानाको पुल निर्माण भए पनि अरु निर्माणका काम शुरु गर्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !