२३ बैशाख २०८१, आइतबार

बन्दाबन्दीको सदुपयोग गरेर सामुदायिक भवन निर्माणमा श्रमदान


म्याग्दी, २ जेठ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका महिला श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।

पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन निर्माण गर्न स्थानीयवासी श्रमदानमा जुटेका हुन् । लकडाउनको फुर्सदको समय उपभोग र चन्दा सङ्कलन गरेर भवन निर्माण गर्न लागिएको आमा समूहका अध्यक्ष उदा मल्लले जानकारी दिनुभयो । “एक महिनायता आलोपालो गरेर भवन निर्माणका लागि श्रमदान गरिरहेका छन्”, उहाँले भन्नुभयो, “६० घरधुरीले हालसम्म २० दिनका दरले श्रमदान गरिसकेका छन् । भवन सकिँदासम्म थप १५ दिन श्रमदान गर्नुपर्ने अनुमान गरेका छाँै ।”

गिट्टी कुट्ने, पर्खाल लगाउने, ढुङ्गा सङ्कलन गर्ने, काठ जुटाउने, ढुवानी गर्नका लागि उनीहरुले श्रमदान गरेका हुन् । घरायसी र खेतबारीको कामबाट बचेको समय भवन निर्माणमा उपयोग गरेको गरेको समूहकी सहसचिव दुर्गा शाहीले बताउनुभयो । “बन्दाबन्दी र कोरोनाको त्रासले गाउँमा सामाजिक, सांस्कृतिक गतिविधि ठप्प भएका छन्”, उहाँले भन्नुभयो, “खेतबारीको काम पनि सकिएकाले फुर्सदको समयलाई भवन निर्माणमा लगाएका छौँ ।”

गत चैत महिनादेखि भवन निर्माण शुरु भएको थियो । भवन निर्माणका लागि समूहले रु पाँच लाखमा करिब चार आना जग्गा किनेको थियो । एकतले भवनको पहिलो तला ढलानको तयारी गरेका छन् । मिस्त्री र ढलानको काममा भने मजदुर परिचालन गरेका छन् । रु २३ लाख लागत अनुमान गरिएको भवनका लागि चन्दासमेत जुटाउन थालिएको छ । हालसम्म सरकारी निकायबाट सहयोग लिएका छैनन् । भवनलाई आर्थिक स्रोतको कमी भएकाले श्रमदान गरेर भवन निर्माणमा सहयोग गरेको स्थानीयवासी गणेशप्रसाद सुवेदीले बताउनुभयो ।

भवन नहुँदा व्यक्तिको घरमा भेला बैठक बस्ने गरेका छन् । समूहका भाँडाकुँडा पनि व्यक्तिकै घरमा राख्नुपर्दा असजिलो भएको छ । तीनकोठे भवन बनेपछि कार्यालय सञ्चालन, भण्डारणका साथै तालिम, गोष्ठी, बैठक सञ्चालन गर्न सहज हुने जनाइएको छ । भवन निर्माणका लागि सघाउन वडा, गाउँपालिका र दातालाई आमा समूहका पदाधिकारीले अपिल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !