८ जेष्ठ २०८१, मंगलबार

सिद्धार्थ राजमार्गका काम धमाधम हुँदै


रामपुर, २२ वैशाख । बन्दाबन्दीेका समयमा पनि पाल्पा– बुटवल सिद्धार्थ राजमार्ग र तानसेन– तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको कटान भइरहेको छ ।

उक्त सडकखण्डको चिडियाखोलादेखि झुम्सासम्मको नाली मर्मत तथा निर्माण पनि भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार दोभानखोला, कचलखोला र तिनाउखोलाको पुल निर्माण निर्बाध भइरहेको छ । ‘लकडाउनका समयमा बाहिरका मजदूरहरु आफ्नै घर गएपछि काम नरोकियोस् भनेर स्थानीयस्तरका मजदूरबाट काम भइरहेको छ, निर्माण सामग्री बुटवल प्रशासन कार्यालयसँग समन्वय गरेर ल्याइएको छ”, डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।

लकडाउन अवधिमा मात्रै सो खण्डको कालीमाटी क्षेत्रमा चारभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भइसकेको छ । जिल्लाका करीब एक दर्जन योजना तत्काल सञ्चालन गर्ने तयारीमा रहेको डिभिजन प्रमुख अधिकारीको भनाइ छ ।

तानसेन– तम्घास सडकखण्डअन्तर्गत तानसेनदेखि भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साँघुरा सडक तथा घुम्ती कटान गर्ने, विभिन्न स्थानमा पर्खाल लगाउने, नाली काट्नेलगायत काम भइरहेका छन् । तानसेनको ढुङ्गाखानीदेखि भैरवस्थानसम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । यहाँ दैनिक छदेखि सातसम्म डोजर स्काभेटरको प्रयोग गरी काम धमाधम भइरहेको छ ।

बन्दाबन्दीको समय कृषिकर्ममा
कोभिड–१९) संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा ग्रामीण क्षेत्रका सर्वसाधारण समयको सदुपयोग गर्दै खेतबारीमा तरकारी लगाउने, स्याहार्ने काममा व्यस्त छन् । शहर बजार तथा विभिन्न मुलुकबाट गाउँ फर्केका नागरिक समय सदुपयोग गर्दै बन्दाबन्दीको समयलाई कृषि उत्पादनमा जोड दिन थालेका छन् । बन्दाबन्दीले घरमा बसेर खेतपाती लगाउन र स्याहार्ने अवसर दिएको रामपुर नगरपालिका– २ बस्ने बालकुमारी थापा बताउनुहुन्छ ।

नगरपालिका कार्यपालिका सदस्य थापालाई पहिले नगर तथा वडाका कार्यक्रम, बैठक, गोष्ठीलगायतमा सहभागी हुँदै ठीक्क हुन्थ्यो । अहिले सबै कार्य स्थगन भए पनि वडामा राहत वितरणका कार्यक्रमबाहेक अन्य समय घरकै काममा व्यस्त हुन थालेको उहाँ बताउनुहुन्छ ।

रामपुर– ५ बस्ने सरस्वती सोमै वन समूह, आमा समूह, महिला समूहलगायत विभिन्न बैठक तथा कार्यक्रममा सहभागी हुँदा कृषि कार्यमा त्यति ध्यान दिन भ्याउनुहुन्नथ्यो । अध्ययन, रोजगारलगायत विविध सिलसिलामा मानिस शहर बजारमा जान थालेपछि गाउँघरमा शून्यता छाएको थियो ।

कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेपछि पुनः पुरानै थातथलोमा प्रवेश गर्दा गाउँमा छुट्टै आनन्द मिलेको रामपुर–१० का दामोदर तिमिल्सिना बताउनुहुन्छ । घर नजीकैको विद्यालयमा शिक्षण पेशामा आबद्ध उहाँ केही समयअघि गाउँ छाडेर हाल बुटवल बजारमा शिक्षण गर्दै आउनुभएको छ ।

लकडाउनमा गाउँ पुनः फर्केपछि पुरानै बस्तीमा खेतीपाती लगाउने र स्याहार्ने काममा दिन बित्ने गरेको तिमिल्सिनाको भनाइ छ । गाउँघरमा घर वरपरका झाडी सरसफाइ गर्ने र घरका छेउछाउ खाली जग्गामा तरकारी लगाउने कार्यले उहाँलाई दशैँतिहार पर्व आएको झझल्को दिने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !