१४ बैशाख २०८१, शुक्रबार

सबै वडामा सडक विस्तार


Nepalpatra

८ माघ, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो ।

सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार गठन भएपछि सडकको सञ्जाल फराकिलो पार्दै साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याएको छ । कच्ची अवस्थामा भएपनि सबै वडामा विस्तार गरिएको सडक सञ्चालनमा आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र साकेला गाउँपालिकाको सिमानामा पर्ने तावाखोलामा अस्थायी सडक बनेपछि अहिले यातायात आवागमन सहज भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । गाउँपालिकामा जताततैबाट सडकको पहुँच पुगेपछि विकासले समेत फड्को मारेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल र तराई जोड्ने छोटो दूरीको सडक बनेपछि दुई/तीन दिन लगाएर तराई तथा अन्य स्थान जानुपर्ने बाध्यता हटेको छ । विकासको पहिलो खुड्किलो सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल–मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार–लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडक निर्माण गरेर सञ्चलानमा ल्याएको हो ।

गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दूरीको सडक दिक्तेल–खानीडाँडा–याम्खा सडकखण्डमा पक्की पुल निर्माण हुँदैछ । जसको लागि बोलपत्र आह्वानको काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

यसैबीच, आठ गाउँपालिकामध्ये विकासमा सबैभन्दा अगाडि रहेको उक्त गाउँपालिकाले मङ्सिर २२ गतेदेखि ६५ वर्षमाथिका सम्पूर्ण ज्येष्ठ नागरिकलाई यातायातमा निःशुल्क सुविधा दिएको छ ।

मुहान संरक्षण गर्न रिचार्ज पोखरी

पानीको मुहान संरक्षणका लागि खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले छ वटा ‘रिचार्ज’ पोखरी निर्माण गरेको छ ।

जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि वडा नम्बर–१ फेदीमा पाँच र वडा नम्बर–३ दिप्सुङमा एउटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

वर्षाको पानीबाट हुने जमीन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षण गर्न आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित रकमबाट रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “अहिले अधिकांश पानीको मुहान सुकिसकेका छन् ।” उहाँले भन्नुभयो, “सुक्दै गएको पानीको मुहान संरक्षण र प्रत्येक नागरिकलाई सहजरुपमा स्वच्छ पानी उपलब्ध गराउन हामी लागि परेका छौँ ।”

पर्यायवरण संरक्षणका लागि फेदीमा एउटाको २० हजार र दिप्सुङमा ४० हजारको लागतमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमीनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने दाबी गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !