१४ बैशाख २०८१, शुक्रबार

बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड


Nepal-Rastra-Bank

४ जेठ, इनरुवा । नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिनुभएको छ ।

सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहुँदै सिवाकोटीले सो कुरा बताउनुभएको हो ।

बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने भएकाले बैंकमा सबैको पँहुच हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले फरवार्ड कम्युनिष्टले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय संस्थाले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले बैंक र बित्तीय संस्थाको पहुँचले नै नागरिकमा सार्थक सन्देश जाने र पहुँचसमेत बढ्ने भएकाले बचतमा जोड दिनुभयो ।

स्मृति दिवसमा शैक्षिक सामग्री वितरण

यसैवीच, सुनसरी सदरमुकाम इनरुवा–३, सखुवागाछीमा २५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा अपांगता भएका २० जना बालबालिकालाई बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ ।

रामधुनी नगरपालिका–८ नम्बर वडा कार्यालयको सहयोग र नेकपा (एमाले) ३ नम्बर वडा कमिटी, इनरुवाको आयोजनामा २० जना अपांगता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

इनरुवा–६ मा रहेको जनता मावि, मधेशामा अध्ययनरत बौद्धिक अपांगता भएका १० जना र सुस्तश्रवण भएका १० जना गरी जम्मा २० जना फरक क्षमता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको आयोजक संस्थाका कालुराम गुरुङले जानकारी दिनुभयो ।

बालबालिकालाई अध्ययन अध्यापन गर्नका लागि सहज होस् भने उद्देश्यले फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामग्री र पोशाक दिएको विद्यालयका स्रोत शिक्षक चिरञ्जीवी रेग्मीले जानकारी दिनुभयो ।

दिवसको अवसरमा साहित्यकार प्राज्ञ उपेन्द्र पागललाई समेत सम्मान गरिएको छ । साहित्यको माध्यमबाट ठूलो योगदान गरेको भन्दै साहित्यकार पागललाई सम्मान गरेको स्थानीय राजन निरौलाले जानकारी दिनुभयो ।

उहाँलाई सम्मानपत्र, दोसल्ला र फूलमाला अबीर लगाएर सम्मान गरिएको हो । त्यसैगरी, दिवसको अवसरमा सरसफाइसमेत गरिएको छ । इनरुवा–३ सखुवागाछीमा सरसफाइ गरिएको र खेलकूद प्रतियोगितासमेत सम्पन्न गरेको आयोजकले जनाएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !