६ बैशाख २०८१, बिहिबार

नयाँ बानेश्वरको बीच सडकमै एक्कासी १५ फिट गहिरो भ्वाङ परेपछि…


नयाँ बानेश्वरको बीच सडकमा एक्कासी भ्वाङ परेपछि

काठमाडौँ । राजधानी काठमाडौँको मुटु नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक ठूलो भ्वाङ परेको छ । सडकबीचमा ठूलो भ्वाङ पर्दा केहीबेर यातायात अवरुद्ध भएका थिए ।

सडक मर्मत गर्ने क्रममा डोजरले खन्दा ठूलो खाल्डो परेको हो । अहिले सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका छन् । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।

​​​​​​​अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका विभिन्न ठाउँ–ठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर स्रोतका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको बुझिएको छ । यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंकाल कारण देखिएको छ । भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक लगभग ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !