१४ बैशाख २०८१, शुक्रबार

बागलुङमा घरघरै खानेपानीको धारा पुग्दै, स्थानीय हर्षित


धारा

बागलुङ । ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पुर्याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो ।

सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ । सुरुमा वडा नं ७ मल्मको गगनपानी (क) बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ ।

आयोजनामा १० साना ‘स्किम’ छन् । आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी (क) मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ ।

यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ । गगनपानी (ख) मा ३० हजारका दुई र ५० हजारको एउटा ट्याङ्की बनेको छ । मुहान र इन्टेकसहित दुई हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताए ।

गगनपानी (क) बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने (ख) बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ । वडा नं ७ मा गगनपानी (क), (ख) सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन् ।

अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो । वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन् । सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो । त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइ लगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन् ।

यस्तै वडा नं ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पुर्याइँदैछ । कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताए ।

उनले पूर्वाधार तयारीसँगै खानेपानी वितरणको काम छिट्टै शुरु हुने बताए । “सत्तरी घरधुरी जतिलाई खानेपानी वितरणका लागि सामग्री पनि आइपुगेको छ”, सुपरभाइजर कँडेलले भन्नुभयो, “वडा कार्यालय र जनप्रतिनिधिसँग समन्वय गरेर वितरणको काम अघि बढाउँछौँ ।”

आयोजना कार्यालयले उपभोक्तालाई मिटर, धाराको टुटी, ‘स्ट्याण्ड’ मात्र उपलब्ध गराउने उहाँको भनाइ छ । खानेपानीको मुहान पुरानै प्रयोग गरे पनि अन्य संरचना भने पूरै नयाँ बन्ने आयोजनाका अध्यक्ष थापाले बताए ।

गाउँभरिका मुहानलाई एकीकृत गरेर घरघरै खानेपानीका धारा पुर्याउने लक्ष्य आयोजनाले लिएको छ । रोल्पा, रुकुमदेखि आएका श्रमिक अहिले आयोजना निर्माणमा खटिएका छन् । पूर्वाधार निर्माण र खानेपानी वितरणको काम सँगसँगै हुने जनाइएको छ । बहुवर्षीय कार्यक्रम भएकाले बजेटको अभाव नहुने आयोजना कार्यालयले जनाएको छ ।

हालसम्म भौतिक निर्माणका काममा रु दुई करोड बढी खर्च भइसकेको छ । आयोजनामा ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमी र वितरण ‘पाइपलाइन’ ३२ किमी छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्नेछन् ।

घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने राज्यको नीतिअनुसार तीनै तहका सरकारले ‘एक घर, एक धारा’ अभियान चलाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !