१४ बैशाख २०८१, शुक्रबार

थापाथली सानेपासम्मका देवालय पुनःनिर्माण शुरु


थापाथली

काठमाडौँ । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण शुरु भएको छ ।

नदीको दायाँबायाँ गरी करिब छ किमी वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण देवालय पुनःनिर्माण शुरु गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । एशियाली विकास बैङ्कको रु एक अर्ब २८ करोड ऋण सहयोगमा नदीको दायाँबायाँ सौन्दर्य अभिवृद्धिसँगै देवालय पुनःनिर्माण पनि शुरु गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।

यो बजेटबाट गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरवाहिनी क्षेत्रको करिब २०० मिटर नदी किनारका पुरातात्विक महत्वका सत्तल पुनःनिर्माण र सौन्दर्य अभिवृद्धि गरिने छ । समितिले गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको करिब सात किमीमा पनि नदी सौन्दर्य अभिवृद्धिको काम गरिरहेको छ । मुआब्जा विवादका कारण रोकिएको काम आजैदेखि पुनः गर्न आइतबार सरोकार भएका निकायबीच सहमति भएको छ ।

गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको सौन्दर्य अभिवृद्धिको काम रु एक अर्ब ९० करोड लागतमा भइरहेको छ । मुआब्जा विवादका कारण करिब एक वर्षदेखि रोकिएको कामको हालसम्म ७६ प्रतिशत भौतिक र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । आगामी पुसमा म्याद सकिने भएपछि एक वर्ष थप गर्न समितिले शहरी विकास मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।

सिनामङ्गलबाट थापाथली पुलसम्मको नदी किनारमा भने सुकुम्वासी बस्ती रहेकाले सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन नसकिएको सूचना अधिकारी अर्यालले बताउनुभयो । समितिले वाग्मती नदी किनारमा रहेका सार्वजनिक जग्गालगायत सम्पत्तिसम्बन्धी कार्यविधिको मस्यौदा निर्माणसमेत शुरु गरेको जनाएको छ । तीन महिनाभित्रमा कार्यविधि जारी हुने गरी काम भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !