२२ बैशाख २०८१, शनिबार

प्रदेश नम्बर ५ को आर्थिक कार्यविधि पारित


Pradesh-number-5

८ चैत, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको आठौं बैठकले आर्थिक विधेयक पारित गरेको छ । चैत ४ गतेको संसद बैठकमा पेश भएको सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रस्ताव गरेका थिए ।

संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश सरकारलाई १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । संसद्बाट आर्थिक कार्यविधि पास भएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न सुरु गर्नेछ । प्रदेश सांसद भुवनेश्वरी चौधरीले मुख्यमन्त्रीले गरेको मुख्य न्यायाधीवक्ता र प्रदेश योजना आयोगका उपाध्यक्षको नियुक्ति असंवैधानिक भएको दावी गरे । ‘कानुन नबन्दै कुन कानुनमा टेकेर नियुक्ती दिइयो जवाफ चाहियो’ उनले भने ।

सांसद भोजप्रसाद श्रेष्ठले नेपालका प्रथम सहिद लखन थापाका समकक्षी सुकदेव गुरुङलाई सरकारले उचित सम्मानसहित सहिद घोषणा गर्नुपर्ने बताए । विशेष समयमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जवाफ दिए । उनले कतिपय विषय संघीय सरकारसंग जोडिएकोले प्रदेश सरकारले त्यसबारेमा केन्द्र सरकारलाई जानकारी गराउने बताए ।

प्रदेशसभाको अर्को बैठक चैत १५ गते बिहीबार १ बजे बस्ने कार्यतालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !