५ जेष्ठ २०८१, शनिबार

राहत वितरण नगर्दा विपन्न परिवार समस्यामा


राहत

लहान, ९ वैशाख । सिरहाको विष्णुपुर गाउँपालिका–३ का रामअवतार सदाको घरमा विगत तीन दिनदेखि चुल्हो नबल्दा बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् । दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका रामअवतारको सरकारले कोभिड–१९ को जोखिम हुन नदिन जारी गरेको लकडाउनका कारण मजदुरी बन्द भएपछि चुलो बल्न छाडेको हो ।

“लकडाउनका कारण करिब एक महिनादेखि सबै काम बन्द छ”, सदाले भन्नुभयो, “मजदुरीको काम बन्द भएपछि पहिले मजदुरी गरेर जम्मा पारेको अन्नपात बसेर खाइयो, अब एक माना पनि अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” घरमा अन्नपात नहँुदा विगत तीन दिनदेखि चुलो बल्न सकेको छैन, जसले गर्दा बालबच्चासँगै भोकै बस्दै आएको उहाँले दुखेसो पोख्नुभयो ।

घरमा भएको चामल लकडाउनकै समयमा सकिएपछि सिरहा नगरपालिका–५ निवासी सुमित्रा सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएका छन् । “घरमा एकमुठ्ठी पनि चामल छैन”, उहाँले भन्नुभयो, “घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छौँ ।” आफूहरु भुजा खाएरै दिन काट्दा पनि बालबच्चाहरुले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले अगाडि थप्नुभयो, “बच्चाहरुले भोक लाग्यो, भात दिनु न भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनु ? असाध्यै चिन्तामा डुबेका छौँ ।”

यो समस्या केबल रामअवतार र सुमित्राको मात्रै होइन, सिरहाको एक दर्जन स्थानीय तहले अझै राहत वितरण नगर्दा त्यहाँ बसोबास गर्ने विपन्न, दलित र मजदुर तथा उहाँहरुको परिवारका सदस्यको समस्या यस्तै छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले गत चैत्र ११ गतेदेखि देशव्यापी लकडाउनका कारण काम बन्द भएपछि मारमा परेका विपन्न श्रमिक परिवारलाई सिरहाका अधिकांश स्थानीय तहहरुले राहत वितरण गर्न सकेका छैनन् ।

दिनमा मजदुरी गरेपछि मात्र बेलुकाको चुलो बल्ने विपन्न श्रमिक अधिकांश परिवारका सदस्यको मजदुरी बन्द भएकाले कतिपय परिवार भोकभोकै बस्न बाध्य छन् भने कतिपय परिवारका सदस्य भुजा खाएर दिन काट्दै आएका छन् ।

मजदुरी बन्द भएका कारण समस्यामा परेका श्रमिक तथा विपन्न परिवारलाई अन्यत्र राहत दिइरहेको सुन्दा आफूहरुलाई पनि राहत दिन्छ कि भन्ने आसमा यहाँका श्रमिक परिवार बसेका छन् । तर लकडाउन भएको महिना दिन बित्नै लाग्दासमेत सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहले अझै राहत वितरण शुरु गर्न सकेका छैनन् ।

गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असङ्गठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित छन् । लकडाउनले उहाँहरुको कमाउने, खाने र बाँच्ने अवसर खोसिएको छ । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तह रहेकामा हालसम्म मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका, कर्जन्हा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले मात्र राहत वितरण शुरु गरेका छन् ।

विपन्न, दलित र मजदुर वर्गको यर्थाथ विवरण सङ्कलन नभएको भन्दै सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिकासहित विष्णुपुर, नरहा, अर्नमा, औरही, भगवानपुर, बरियारपट्टी, लक्ष्मीपुर पतारी, नवराजपुर र सखुवानान्कारकट्टी गरी नौ गाउँपालिकाले अझै राहत वितरणमा ढिलाइ गर्दा अतिविपन्न र मजदुर परिवारको कन्तबिजोग भएका छन् ।

लामो समयसम्म लकडाउन लम्बिएका कारण सरकारले दिने भनेको राहतसमेत नपुगेपछि उहाँहरुको समस्या झनै चुलिएको छ । आफूहरुसँग भएको पैसा सकिएपछि पसलेले समेत उधारो दिन नमान्ने र बाहिर काममा पनि निस्कन सक्ने अवस्था नभएपछि आफूहरूलाई दुई छाक टार्नै धौधौ परेको सिरहाको औरही गाउँपालिका–३ का शिवकुमार महराले गुनासो गर्नुभयो ।

लकडाउनका कारण कन्तबिजोगमा परेका विपन्न तथा मजदुर परिवारलाई स्थानीय तहमार्फत राहत वितरण गर्न प्रदेश नं २ सरकारले समयमै स्थानीय तहमा बजेट पठाए पनि समयमा विवरण सङ्कल नभएकाले राहत वितरण गर्न नसकिएको सिरहाको औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताउनुभयो ।

“हामीले राहत वितरण गर्न खाद्यन्न सामग्रीहरु खरिद गरिसकेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर वडाध्यक्षहरुले समयमा राहत पाउनुपर्ने परिवारको विवरण अझै बुझाउन नसकेकाले राहत वितरण गर्न सकेका छैनाँै”, विवरण आउनेबित्तिकै राहत वितरण शुरु गरिने उहाँको भनाइ थियो ।

“राहत पाउनुपर्ने भन्दा पनि आफ्ना आसेपासेहरुको बढी नाममा समावेश गरी वडाध्यक्षले विवरण बुझाएकाले समस्या भएको छ”, सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले भन्नुभयो, “वडाध्यक्षलाई विवरण सच्याइ वास्तविव विपन्न र मजदुर परिवारको विवरण मात्र बुझाउन भनेको छु, उहाँहरुबाट विवरण आए पनि राहत वितरण गर्ने छौँ ।” राहत वितरणमा ढिलाइ हुदाँ विपन्न तथा श्रमिक परिवारमा समस्या भएको आफूले पनि अनुभव नगरेकाले अब धेरै ढिलाइ नगरिने उहाँको कथन थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !