२२ बैशाख २०८१, शनिबार

खेलकूद क्षेत्रमा लगानी बढाउनुपर्दछ


Nepalpatra

१२ माघ, कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकूदको महत्व बुझेर सोहीअनुसार विकासको योजना बनाउनुपर्ने बताउनुभएको छ ।

जिल्लास्तरीय सामुदायिक विद्यालयस्तरीय प्रथम सिर्जना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको आज समापन समारोहमा उहाँले विगतमा खेलकूदको महत्व सरकारले बुझे पनि लगानी नगरेको हुँदा अब लगानी वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । खेलकूदका माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य राजीव पहारीले खेल पूर्वाधारको अभावमा नेपाली खेलाडीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसकेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय मावि प्रथम, कालिका मावि द्वितीय तथा भद्रकाली माविले तेस्रो स्थान हासिल गरे । छात्रातर्फ जनप्रिय मावि प्रथम, तालबाराही द्वितीय तथा बालमन्दिर माविले तेस्रो स्थान प्राप्त गरे ।

प्रतियोगितामा उपाधि विजेता छात्रछात्रा दुवैलाई नगद रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट सर्भरलाई पनिरु पाँच÷पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यही माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ नौ विद्यालयले प्रतिष्पर्धा गरेका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !