१२ जेष्ठ २०८१, शनिबार

गाउँकै मकै खरिद गरेर विपन्नलाई


makai

जाजरकोट, ४ वैशाख । बारेकोट गाउँपालिकाले आयतित खाद्यान्नलाई विस्थापित गरी स्थानीयरूपमा उत्पादन गरिएको मकै खरिद गरेर विपन्न नागरिकलाई राहत दिन लागेको छ ।

दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न परिवारलाई लामो समयको लकडाउनका कारण दैनिक हातमुख जोर्न समस्या परेको गुनासो आएपछि गाउँपालिकाले स्थानीयस्तरमै उत्पादित अन्न राहत दिने निर्णय गरेकोे गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

गाउँकै मकै किनेर प्रतिपरिवार पाँच पाथीका दरले उपलब्ध गराइने अध्यक्ष शाहले बताउनुभयो । विपद् व्यवस्थापन कोषबाट खाद्यान्न व्यवस्थापनका लागि प्रतिवडा डेढ लाखका दरले रकम उपलब्ध गराउने र वडाले सम्बन्धित वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरको पहिचान गरेर पाँच जनासम्मको परिवारका लागि प्रतिपरिवार पाँच पाथी मकै, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराइनेछ ।

कम्तीमा एक महिनाका लागि पुग्ने करिब साढे ८०० परिवारलाई खाद्यान्न दिने गरी वडा समितिलाई जिम्मा दिइएको अध्यक्ष शाहले बताउनुभयो । त्यसका लागि पहिलो चरणमा करिब ३०० क्विन्टल मकै आवश्यक पर्ने जनाइएको छ ।

बारेकोटमा धान उत्पादन निकै कम हुन्छ । गहँु र जौँ पाकेका छैनन् । मकै प्रशस्त उत्पादन हुन्छ, तर मकै पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ । स्थानीयरूपमा उत्पादिन अन्न प्रयोजनमा खेर जाने तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने कुरालाई निरुत्साहित गर्न गाउँमै उत्पादित मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

स्थानीय उत्पादनमा जोड दिइरहेको गाउँपालिकाले कृषि उत्पादनमा जोड दिन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताउनुभयो । वर्षेनी खाद्य सङ्कटको समाचार आउने बारेकोटमा खाद्य सङ्कट नभएर भात (चामल) सङ्कट भएको सिंहले बताउनुभयो । चामलभन्दा मकै सस्तो पर्ने भएकाले कम रकममा धेरै खाद्यान्न खरिद गरी धेरै पु¥याउन सक्ने गाउँपालिकाको योजना छ ।

अन्य स्थानीय तहले नेपाल खाद्य संस्थान र सुर्खेत, नेपालगञ्जबाट चामल ल्याएर वितरण गरेका छन् । शिवालय गाउँपालिकाले १५० घरधुरीलाई चामल वितरण गरेको छ । नलगाड नगरपालिकाले चामल नै उपलब्ध गराउँदै आएको छ । जुनिचाँदे गाउँपालिकाले खाद्य संस्थानको चामल उपलब्ध गराएको छ । छेडागाड र कुशे गाउँपालिकाले राहत दिने कुनै सुरसार नै गरेको छैन । यस्तै डोल्पामा राहत वितरणको काम शुरु गरिएको छ । ठुलीभेरी नगरपालिकाका विभिन्न वडामा राहत वितरण शुरु गरिएको हो । नगरपालिका–६ मा आज १३३ विपन्न घरपरिवारलाई राहत वितरण गरेको वडाध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो ।

अध्यक्ष बुढाका अनुसार प्रतिघरपरिवार ३० केजी चामल, एक पोका तेल र दुई पोका नुन विपन्न तथा दलित घरपरिवालाई वितरण गरिएको हो । सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुको चुलो बल्नसमेत कठिन भएको भन्दै गाउँमै पुगेर राहत वितरण गर्न शुरु गरिएको हो । हालसम्म ठुलीभेरी नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ मा मात्र राहत वितरण भएको वडाध्यक्ष वीरमलकुमार भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी काइके, जगदुल्ला, मुड्केचुलालगायतका गाउँपालिकामा समेत राहत वितरणका गर्ने क्रम शुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !