६ जेष्ठ २०८१, आइतबार

राहत वितरणमा सक्रिय स्थानीय तह


ललितपुर, १७ वैशाख । ललितपुरका ६ स्थानीय तह एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्ना क्षेत्रका गरिब र असाय जनतालाई राहत वितरण व्यस्त छन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले एक चरणको राहत वितरण गरिसकेका छन् भने भौगोलिकरुपमा विकट मानिएका वाग्मती, महाङ्काल र कोञ्ज्योसोम गाउँपालिकाले हाल धमाधम राहत वितरण गरिरहेका छन् ।

विकट गाउँपालिकाको एक घरबाट अर्काे घर जान घण्टौँ हिँड्नुपर्ने भएकाले तथ्याङ्क सङ्कलन र सामग्री खरिद गरी ढुवानी गर्न केही समय खर्च भएको यहाँका जनप्रतिनिधिको भनाइ छ । महाङ्कालले १७ देखि १८ सय गाउँवासीलाई राहत वितरण गर्ने बताएको छ । महाङ्कालले दुई जनाभन्दा माथिको परिवारलाई २५ केजीको एक बोरा चामल, दुई केजी दाल, दुई लिटर भटमासको तेल र दुई प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका दुई जनासम्मको परिवारलाई हामीले यसको आधा राहत वितरण गरिरहेका छौँ । गाउँपालिकाका दुई हजार ३०५ प्रत्येक घरलाई राहत वितरण गर्दै छौँ ।”

कोञ्ज्योसोमले यहाँका एक हजार ८०० देखि दुई हजार घरपरिवारलाई राहत वितरण गर्ने जनाएको छ । कोञ्ज्योसोमले दुई जनाभन्दा माथिको परिवारलाई एक बोरा चामल, तीन केजी दाल, दुई लिटर तेल र दुई प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका दुई जनामुनिको परिवारलाई हामीले यसैको आधा खाद्यान्न सामग्री वितरण गरिरहेका छौैँ ।”

गोदावरीले दुईजनाको परिवार, दुईदेखि तीन परिवार र चारमाथिको परिवारलाई पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एक–एक प्याकेट नुन तथा दुई–दुई वटा साबुन वितरण गरिसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले करिब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण ग¥यौँ ।” त्यस्तै, वाग्मतीले सात वडाका एक हजार ३०० घरपरिवारलाई राहत वितरण गरिरहेको छ । जतिजनाको परिवार भए पनि यस पालिकाले राहतमा ३० केजीको एक बोरा चामल, दुई प्याकेट नुन, दुईवटा साबुनलगायतका खाद्यान्न वितरण गरिरहेको छ ।

महालक्ष्मीले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, अति विपन्न, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धौधौ भएका व्यक्ति तथा परिवार र असहायलाई एक चरणमा राहत वितरण गरिसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई किसिमको नियम बनाएर एकदेखि दुईजनाको परिवार र दुई जनामाथिको व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक–एक किलो दाल, एक–एक प्याकेट नुन, आधा र एक लिटर तेल वितरण गरिसकेका छौँ ।” महालक्ष्मीले दश हजार २०० श्रमिक जनतालाई राहत वितरण गरिसकेको श्रेष्ठले बताउनुभयो ।

महानगरपालिकाले दुई किसिमको नियम बनाएर राहत वितरण गरिसकेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई जनासम्मका व्यक्ति वा परिवार र तीन वा तीनभन्दा बढी व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक र पाँच किलो दाल, एक–डेढ किलो चिउरा, एक–एक प्याकेट नुन, दुई र तीन वटा साबुन तथा आधा र एक लिटर तेल वितरण गरिसकेका छौँ ।” महानगरपालिकाले ६४ हजार ९५२ व्यक्ति वा परिवारलाई राहत वितरण गरिसकेको महर्जनले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !