१४ बैशाख २०८१, शुक्रबार

औद्योगिक क्षेत्र प्रदेश सरकारमार्फत नआएका कारण औद्योगिक व्यवस्थापन गर्न समस्या छ : मुख्यमन्त्री पौडेल


डोरमणि पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले औद्योगिक क्षेत्र प्रदेश सरकारमार्फत नआएका कारण औद्योगिक व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ ।

उद्योग सङ्घ हेटौँडाको १९औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले काठमाडौँ, ललितपुरजस्ता शहरी क्षेत्रका उद्योगलाई उपत्यका बाहिर खुला क्षेत्रमा सारिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्वरोजगारमुखी उद्योग सञ्चालन गर्न चाहनेका लागि ऋण रकम उपलब्ध गराउने उल्लेख गर्दै स्थानीय तहले सिफारिस गरेका आर्थिकरूपमा विपन्न र सीमान्तकृत समुदायका नागरिकका लागि उद्यमशीलता विकास गर्न रु तीन अर्बको कोष निर्माण गरेको जानकारी दिनुभयो ।

उहाँले बैंकमार्फत हुने लगानीले देशमा रोजगार, व्यवसाय तथा उत्पादनसमेत बढ्ने सरकारको अपेक्षा रहेको बताउँदै लगानीपश्चात सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एंव नेपाली कांग्रेसका जिल्ला सभापति इन्द्र बाँनियाले वर्तमान राजनीतिक घटनाक्रमले उद्योगी व्यवसायीलाई चिन्तित तुल्याएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !