१४ बैशाख २०८१, शुक्रबार

पाँचथरबाट एक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात


असोज २७, पाँचथर । पाँचथरबाट एक वर्षभित्र २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात भएको छ । तरकारी, मसला बाली र नगदे बालीसमेत गरी २ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात भएको हो । २०७३ सालको असोजदेखि २०७४ साल भदौ मसान्तसम्म गरी ठूलो मात्रामा कृषि उपज निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरबाट अलैंची, सुन्तला, कागती, अदुवा, अकबरे खुर्सानीलगायतका कृषि उपज निर्यात हुँदै आएका छन् । त्यसैगरी गोलभेडा, काउली, मुला, करेला र मटरलगायतका तरकारीमात्र करिब ३० करोड रुपैयाँको निर्यात भएको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित अलैंची र अदुवा लगायतका नगदेबाली झापा र काठमाडौंसहित भारतसम्म निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३६ लाख रुपैयाँ बढीको कृषि उपज निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !