१४ बैशाख २०८१, शुक्रबार

बैंकसँग छैन पैसा


मनोज ढकाल
मनोज ढकाल
केही समयदेखि नेपालका बैंक तथा वित्तिय संस्थाहरुले तरलता अभावले गर्दा लगानीको लागि माग भएको रकम उपलब्ध गराउन सकिरहेको छैनन् । बजारमा जुन रुपले लगानीको माग बृद्धी भइरहेको छ त्यही अनुपातमा निक्षेप भने बढीरहेको छैन् । यसका विभिन्न कारणहरु रहेका छन् । बैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा गिरावट, आयातमुखी अर्थतन्त्र सरकारले पूँजीगत खर्च गर्न नसक्नु, कर्जाको उच्च माग लगायत अन्य कारणहरुले गर्दा समस्या सिर्जना भएको देखिन्छ ।

विगतका वर्षहरुमा जुन रुपमा रेमिट्यान्सको बृद्धी दर थियो त्यो अहिले संकुचित हुँदै गइरहेको छ । आयातमुखी  अर्थतन्त्र भएकोले उपभोग्य वस्तुको आयात गर्न मुलुकबाट रकम बाहिरिरहेको छ र यसको दर विगतको वर्षहरुमा अत्याधिक मात्रामा बढी रहेको छ । त्यस्तै सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा रकमको अभाव हुन गएको देखिन्छ । हाल राष्ट्र बैंकमा सरकारको दुई खर्ब भन्दा बढी रकम फ्रिज भइरहेको छ । यो रकम बजारमा जाने हो भने अहिलेको अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ । बजार हाल कर्जाको माग उच्च रहेको छ भने बैंकहरु त्यही अनुपातमा निक्षेप आकर्षण गर्न सकिरहेका छैनन् । त्यस्तै राष्ट्र बैंकबाट जारी गरिएको कर्जा र पूँजी निक्षेप  अनुपात प्राय बैंकहरुमा पुगी सकेकोले त्यो भन्दा बढी लगानी गर्ने अवस्था छैन ।

समस्याको समाधान हुन केही महिनापछि सरकारको खातामा रहेको रकम बजारमा आउने अनुमान गरिएको छ । भुकम्प पिडितले पाउने भनिएको बाँकी रकम र पूँजीगत बजेट बजारमा आउने वित्तिकै यो समस्या समाधान हुनेमा बैंक तथा वित्तिय संस्थाहरुले आशा गरेको छन । तर यो समस्या पहिलो पटक भने भएको होइन । बैंकहरुले हायर पर्चेज, शेयर खरिदरियल स्टेट जस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा लगानी गर्दा आजको परिस्थिति सृजना भएको देखिन्छ । यसका लागि बैंकहरुले पूँजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनतर्फ ध्यान दिन सके दिर्घकालीन रुपमा यस्ता समस्या नदोहोरिने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !