१५ बैशाख २०८१, शनिबार

बजेट समानुपातिक बनाउन माग


बजेट

काठमाडौँ, ३१ वैशाख । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र देशका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद दिलकुमारी रावल थापा (पार्वती)ले विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय सडक तथा रणनीतिक महत्वका सडक आयोजना सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेकोमा प्रक्रियागत अस्पष्टताका कारण आयोजना कार्यान्वनमा समस्या देखिएको बताउनुभयो ।

सांसद नन्दा चपाईले स्थानीय पूर्वाधार विकास बजेट सबै सांसदलाई समान रुपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद नैनकला ओझाले मोरङको पथरी–शनिश्चरे हुँदै रङ्गेली जोडिने सडकलाई हुलाकी सडकसम्म जोड्न १५ किलोमिटर बाँकी रहेकाले त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले सरकारले सांसदले राखेका कुरा नसुनेका कारण मन्त्रालयमा फाइल बोकेर धाउनुपर्ने बाध्यता परेकोमा त्यसलाई अन्त्य गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले राहदानी विधेयक प्रतिनिधिसभाले मात्र पारित गरी प्रमाणीकरण गर्ने अवस्था कसरी सिर्जना भयो भनी प्रश्न गर्दै यस घटनाले राष्ट्रियसभाको औचित्यमाथि नै प्रश्न खडा गरेको धारणा व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !