१४ बैशाख २०८१, शुक्रबार

बागलुङ–नयाँ दिल्ली बस चल्ने


chitwan-delli-bus

बागलुङ, २७ भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ ।

आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो ।

साताको आइतबार, बुधबार र शुक्रबार सेवा सुचारु हुने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिन लागिएको समितिका अध्यक्ष कुमार खड्काले बताए। बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरीगेट बरफ खानामा गएर रोकिनेछ ।

एक हजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु ३२०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए । बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँ दिल्ली पुग्नेछ ।

धौलागिरि क्षेत्रबाट रोजगारको लागि भारतको नयाँ दिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बागलुङ–नयाँ दिल्ली बस सेवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष अर्जुन चोखालले बताए। यात्रुको चापअनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बस सेवा चलाउन सकिने समितिले जनाएको छ । निकट भविष्यमै भारतको सिलिगुढी, गुवाटीमा पनि बस सेवा सुचारु गर्ने योजना समितिको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !