८ बैशाख २०८१, शनिबार

को हुन् नेपाल आएकी युएसएआइडीकी प्रमुख समान्था पावर ?


समान्था पावर

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रमुख समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेकी छन् । आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

प्रमुख पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताइएको छ । प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसआइडीको प्रतिबद्धतालाई उजागर गर्ने छिन् ।

उनले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्ने छन् । साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

को हुन समान्था पावर ?

समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन् ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । सो समयमा उनले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गरेका थिए ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

उनले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गरेकी थिइन् । कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गरेकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !