
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले घिमिरेलाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो । घिमिरेलाई सभामुखमा निर्वाचित गराइयोस् भने प्रस्तावको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा १०० मत परेको थियो भने कसलाई पनि मत दिन्न भन्ने पक्षमा १ जनाको मत परेको छ ।
घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका थिए । घिमिरे हिजो सभामुख पदका लागि उम्मेद्वारी दर्ता गराएका थिए ।
जन्म र शिक्षा
सभामुख घिमिरेको जन्म ताप्लेजुङ जिल्लाको साविकको सिकैचा-३ र हालको श्रीजंगा गाउँपालिका-३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट २०१३ साल जेठ १३ गते भएको थियो ।
घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका थिए भने काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तहको अध्ययन गरेका छन् । पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेका थिए ।
राजनीतिक यात्रा
वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए ।
२०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।
२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा संगठकको रुपमा पार्टीको विकास र विस्तारमा योगदान गर्ने काम गरे । नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भए ।
भूमिगत पार्टी जीवनमा विशिष्ट योगदान पुर्याएकै कारण घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए ।
झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी २०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।
२०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । सभामुखमा निर्वाचित हुनुअघि उनी एमाले प्रदेश १ का इन्चार्ज थिए ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट सांसदमा निर्वाचित एमालेका घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २२५६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
घिमिरेले २८ हजार ६९७ मत प्राप्त गरेर विजयी भएका थिए भने नेपालले २६ हजार ४४१ ल्याएका थिए । यस्तै तत्कालीन सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का हरि रानाले १३ हजार ९२४ मत मात्र ल्याएका थिए ।
घिमिरे पाँच दशक लामो अविरल राजनैतिक यात्रामा कहिल्यै पदीय लोभलालच नराखी आफ्नो सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पित गरेका एमालेका नेता थिए ।
यो पनि पढ्नुहोस्
प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
सभामुखको निर्वाचन आज हुँदै, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिस्पर्धामा
सभामुखमा उम्मेदवारी दिएपछि दुवै उम्मेदवार के भने ?
एमालेका देवराज घिमिरेद्वारा सभामुख पदको लागि उम्मेदवारी दर्ता