८ बैशाख २०८१, शनिबार

देवराज घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार


देवराज घिमिरे

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरेले उम्मेदवारी दिने निश्चित भएको हो ।

झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाउन लागिएको हो ।

एमालेमा घिमिरेको नाम सर्वसम्मत भएकोले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

यसअघि एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि एमाले अध्यक्ष ओलीले विश्वकर्मा र भट्टराई भन्दा घिमिरे उपयुक्त हुने भन्दै उनैलाई अघि सारिएको हो ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !