६ बैशाख २०८१, बिहिबार

सभामुखको निर्वाचन आज हुँदै, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिस्पर्धामा


देवराज घिमिरे र ईश्वरी न्यौपाने

काठमाडौं । आज सभामुखको निर्वाचन आज हुँदैछ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुखको निर्वाचन आज हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि सभामुखको चयनका लागि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले) का देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाइएको हो ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् । न्यौपानेको प्रस्तावकमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक रहेका छन् ।

न्यौपाने समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् । न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहेका छन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिइन् । तत्कालीन व्यवस्थापिका–संसद्मा उनी पार्टीको सचेतक थिइन् ।

सभामुख निर्वाचित हुनका लागि २७५ सदस्यमा १३८ बहुमत ल्याउनुपर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई बहुमत पुग्ने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत गरी १४५ मत अर्थात बहुमत रहेको छ ।

यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत र एकीकृत समाजवादीको १० मत रहेकोमा जम्मा ९८ मत हुने हुँदा उनको बहुमत नपुग्ने देखिन्छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका रहेको छ । सोलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था रहेको छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !