मंसिर महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ । पद्मपुराणमा उत्पत्तिका एकादशीको महात्म्यको चर्चा गरिएको छ ।
एउटा प्रसङ्गमा पाण्डुपुत्र धर्मराज युधिष्ठिरले एकादशी तिथिको उत्पत्ति र महत्त्वका बारेमा केही बताउन अनुरोध गरेपछि भगवान् श्रीकृष्णले यस व्रतको व्रतकथा र महत्त्वका बारेमा बताउनु भएको हो । सत्ययुगमा एउटा मुर नामक भयङ्कर पराक्रमी दानव थियो । उसले स्वर्गका राजा इन्द्रलाई पराजित गरी स्वर्गमाथि कब्जा गरेको थियो । स्वर्गको सुखवैभव र भोगविलासमाथि राक्षसहरूको आधिपत्य स्थापना भएपछि देवताहरूले वनजङ्गलमा भौंतारिएर अनेकानेक दुःख र कष्ट भोग्नुपर्यो ।
आफूले पाएको दुःख र कष्टको निवारणका लागि देवताहरू देवाधिदेव महादेवको शरणमा गए । महादेवले उक्त समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो । त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं अघि लागि क्षीरसागर जानुभयो । त्यहाँ शेषनागको शय्यामा योगनिद्रामा लीन हुनु भएका भगवान् विष्णुको वन्दना गर्दै विष्णुलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे । देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो ।
उचित समय आएपछि दानव मुर र भगवान् नारायणका बीचमा भीषण युद्ध भयो । युद्धका क्रममा मुर दैत्यको पक्षबाट युद्ध लड्न आएका असङ्ख्य राक्षसहरू मारिए । बल र सामर्थ्यमा कमी आएपनि मुर दैत्य सकुशल युद्ध लडिरहेको थियो । लामो समयसम्म युद्ध गर्नु परेकाले थकाइ लागेकाले र मुर दैत्यको शक्तिमा कमी आएको छ भन्ने ठानेर भगवान् नारायण युद्ध त्यागेर बदरिकाश्रम जानुभयो र त्यहाँ अवस्थित बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो, अनि केही समयमैं निद्रालीन हुनुभयो ।
दानव मुरले भगवान् विष्णुको खोजी गर्यो र सिंहावती गुफामा गएर सुत्नुभएको कुरो चाल पायो । त्यसपछि निदाएकै वेलामा मार्न सजिलो हुन्छ भन्ने उद्देश्यले ऊ त्यहाँ पुग्यो । गुफामा उसले प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट रूप र लावण्यले युक्त एउटी झल्झलाकार स्वरूपकी अत्यन्त सुन्दर कन्या उत्पन्न भईन् । उनी दिव्य अस्त्र-शस्त्रले युक्त थिईन् । ती कन्या नै एकादशी थिईन् । ती कन्याले गुफामा पस्दै गरेको दैत्यलाई देखेर को हो ? भनी ठूलो हुङ्कार गरिन् । उनको हुङ्कार सुन्नासाथ मुर राक्षसको सातोपुत्लो उड्यो र उसका प्राणपखेरु उडे । यसरी केवल एकादशीको हुङ्कारले मात्र दानव मुरको अन्त्य भयो र ऊ डढेर खरानी भयो ।
केही समयपछि भगवान् नारायण निद्राबाट जागा हुनुभयो । ब्युँझदा केही समयअघिसम्म आफूसित युद्ध गरिरहेको मुर दैत्यको मृत शरीर नारायणले देख्नुभयो र छक्क पर्नुभयो । आफू नजिकै यसभन्दा पहिले कहिल्यै नदेखिएकी एउटी कन्यालाई देखेर भगवान् विष्णुलाई झन् अचम्म लाग्यो । भगवानले उनलाई यो परिस्थिति कसरी सिर्जना भयो भनी प्रश्न गर्नुभयो । ती कन्याले भगवानलाई आतातायी मुर दैत्यको बध आफूले गरेको कुरा बताईन्, साथै आफू उत्पत्ति भएको प्रसङ्ग पनि सुनाईन् । आफ्नै शरीरबाट उत्पत्ति भएकी एकादशीको यस्तो अद्भूत पराक्रम थाहा पाएर भगवान् प्रसन्न हुनुभयो । उहाँले तिनलाई पन्ध्रवटा तिथिमध्ये एउटा तिथिका रूपमा प्रतिष्ठित हुने वरदान प्रदान गर्नुभयो र मनोवाञ्छित वरदान दिई आफ्नो प्रिय तिथिका रूपमा रहने बताउनु भयो ।
भगवान् श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भईन् । यसरी एकादशीले भगवान् विष्णुसित वरदान प्राप्त गरेको हुँदा भगवान् विष्णुको उपासनाका लागि यो तिथिलाई व्रत र उपासनाको दिन तोकिएको हो । जुन मनुष्यले जीवनपर्यन्त एकादशीका दिन श्रद्धा र भक्तिका साथमा व्रत र उपासना गर्दछ, उसले सांसारिक जीवनका यावत् सुखसौभाग्यको भोग गरी मरणोपरान्त वैकुण्ठधाम प्राप्त गर्दछ । वास्तवमा एकादशीसमान अरु कुनै पापनाशक व्रत छैन । व्रत लिन नसके पनि एकादशीको माहात्म्य र कथा सुन्नाले मात्र पनि एकहजार गोदानको पुण्यफल प्राप्त हुन्छ ।
एकादशीमा उपवास गरेर रात्रिको समयमा जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागिदार हुन पाउँछ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नादिको परित्याग गर्नु आवश्यक मानिन्छ, किनभने एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ भन्ने गरिन्छ । सबै किसिमका अन्नको त्याग गर्न असम्भव छ भने पनि यस दिन चामल र चामलबाट बनेको परिकारहरू खानु हुँदैन । नत्र ठूलो दोष लाग्छ । यस व्रतले सबै चराचर जगतको कल्याण गर्ने भएकाले यो व्रत समस्त प्राणिहरूका लागि अनिवार्यसमेत मानिएको छ । श्रीहरिः ।। (*खगेन्द्र सुवेदी ज्योतिषाचार्य हुनुहुन्छ ।)
यो पनि पढ्नुहोस्