२६ पुस २०८१, शुक्रबार

डोनाल्ड ट्रम्प र अमेरिका संकटको संघारमा


डोनाल्ड ट्रम्प

काठमाडौँ, जेठ २२ । “मृत्यु देउ वा स्वतन्त्रता” भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्राम पश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो । अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो : “हामी यी सिद्धान्तहरूलाई स्वयमसिध्द मान्दछौ कि सबै मानिस समान छन्, उनीहरूलाई उनका सृष्टिकर्ताबाट केही निश्चित अविछिन्न अधिकारहरू प्राप्त छन । जीवन, स्वतन्त्रता र सुखको चाहना यिनै अधिकारमध्ये हुन् ।” अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा नागरिकको जीवन, स्वतन्त्रता, समानता र प्रतिष्ठाको प्रत्याभूत हुनु मानब जातिको इतिहासमा एक युगान्तकारी घटना हो ।

वैदेशिक हस्तक्षेप बिरुद्ध राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताको पक्षमा गौरबपूर्ण स्वतन्त्रता संग्रामको लडाई लड्ने अमेरिकी जनता आज “न्याय छैन, शान्ति छैन ! (no justice, no peace !) को गगनभेदी नारा लगाउदै मानब अधिकारको गम्भीर हनन बिरुद्धको आन्दोलनमा सडकमा उत्रिन बाध्य भएका छन् । कोभिड-१९ को महामारीलाई रोक्न असफल डोनाल्ड ट्रम्प प्रशासनको विश्वव्यापी रूपमा आलोचना भई रहेको बेला अहिले राष्ट्रपति ट्रम्प मानब अधिकार उल्लंघनको मुद्दामा घेरिएका छन् ।

घटना सन् २०२० मे २५ को साँझ ८ बजेको हो । अमेरिकाको मिनिसोटा प्रान्तको मिनियापोलिस शहरको एक कपफुड स्टोरमा घटेको सामान्य घटनाको बिषयमा तीन जना प्रहरी अधिकृतहरू घटना स्थलमा पुगी अश्वेत नागरिक ४६ बर्षीय जर्ज फ्लोयडलाई नियन्त्रणमा लिइ हातमा हत्कडी लगाई गाडीमा राख्ने क्रममा जर्ज फ्लोयड जमीनमा लडेको अबस्थामा श्वेत प्रहरी अघिकारी डेरेक शोविनले जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्छन् र अन्य दुई प्रहरी अधिकृत टुलुटुलु हेरेर बस्छन् । घुँडाले घाँटीमा थिचेपछि उकुसमुकुस भएका जर्ज फ्लोयडले “ मेरी आमाको कसम, म सास फेर्न सकिरहेको छैन, कृपा गरेर मलाइ छोडिदिनुस” भनेर याचना गरि रहदा पनि ८ मिनेटभन्दा पनि धेरै समयसम्म घाँटीमा घुँडाले थिचिराखेपछि जर्ज फ्लोयडको मृत्यु हुन्छ । प्रहरीले नियन्त्रणमा लिइ हातमा हत्कडी लगाइ सार्बजनिक स्थलमा प्रत्यक्षदर्शी सर्बसाधारणलाई आतंकित पार्ने गरि गरिएको यो क्रुर हत्या अमानबीय एबं बर्बरताको पराकाष्टा हो ।

कोभिड-१९ को महामारीमा ठूलो क्षति व्यहोर्न वाध्य अमेरिकी जनता मानब अधिकारको गम्भिर अल्लंघनको घटना बिरुद्ध कोभिड-१९ महामारीको पर्वाह नगरी सडकमा उत्रिएका छन् । ट्रम्प प्रशासन बिरूध्द उत्रिएको यो मानब सागरले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ । अमेरिकाका १४० भन्दा धेरै शहरहरूमा आन्दोलन फैलिएको छ भने ४० भन्दा बढी शहरहरूमा कर्फ्यु लगाइएको छ । आन्दोलनकारीहरू कर्फ्युको अवज्ञा गर्दै आन्देलनमा उत्रिएका छन् । आन्दोलन कतै शान्तिपूर्ण छ भने कैयौ शहरमा हिंसात्मक हुनको साथै कैयौ लुटपाटका घटनाहरू घटेका छन् । आन्दोलनको क्रममा कयौ आन्दोलनकारीहरु मारिएका छन भने हजारौ आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ । सन् २०२० जुन १ मा राष्ट्रपति कार्यालय अगाडि भएको बिरोध प्रदर्शनमा आन्दोलनकारीहरूले अमेरिकी झण्डा च्यात्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपति ट्रम्प बंकरमा लुक्न बाध्य भएका थिए ।

कोभिड-१९ को महामारी र गृह युद्धले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ । यो संकटको शान्तिपूर्ण एबं न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीहरूलाई जेल पठाउने धम्कि दिइरहेका छन् । कोभिड-१९ को महामारीलाई रोक्न असफल डोनाल्ड ट्रम्प आउँदो राष्ट्रपति निर्वाचनमा पनि असफल हुने हुन् की भन्ने जस्ता विश्लेषण विश्वभर हुन् थालेको छ ।

कोभिड-१९ को महामारीलाई रोक्न असफल डोनाल्ड ट्रम्प आउँदो राष्ट्रपति निर्वाचनमा पनि असफल हुने हुन् की भन्ने जस्ता विश्लेषण विश्वभर हुन् थालेको छ ।

मानब अघिकारको हनन बिरूध्दको यो आन्दोलन अब अमेरिकामा मात्र सीमित रहेन । यो घटनाको बिरूध्द विश्वव्यापी रूपमा प्रदर्शनहरू भैरहेका छन् । ढिलो वा चाडो कोभिड-१९ महामारीको उपचार र अन्त्य त होला तर राष्ट्रपति ट्रम्पको यस्तै रबैयाले अमेरिकी संकटले सार्थक निकाश पाउला ? के अश्वेत, महिला, दलित, उत्पीडित,सिमान्तकृत बर्ग एबं समुदायप्रति विश्वव्यापी रूपमा भएको विभेद, उत्पीडन र शोषणको अन्त्य होला ? यो आजको यक्ष प्रश्न हो ।

*प्रेमबहादुर सिंह पूर्व मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कालापानी चर्चा : प्रेमसिंह धामीको सम्झना

सीमा अतिक्रमण : लिम्पियाधुरा, कालापानी र लिपुलेक

महाकाली नदी साझा हो ! पानी आधा-आधा हो !!

कोभिड-१९ महामारीको सामना गरौ

कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !