, सीमा अतिक्रमण : लिम्पियाधुरा, कालापानी र लिपुलेक

सीमा अतिक्रमण : लिम्पियाधुरा, कालापानी र लिपुलेक

सुगौली सन्धि भन्दा पहिले नेपालको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा काँगडा र दक्षिणमा गंगा नदीसम्म थियो

प्रेमबहादुर सिंह

प्रेमबहादुर सिंह

२०७७ जेष्ठ ४, आइतवार । सुगौली सन्धि भन्दा पहिले नेपालको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा काँगडा र दक्षिणमा गंगा नदीसम्म थियो । सुगौली सन्धिमा नेपालले ठुलो भू-भाग गुमाउनु पर्यो । ९ अनुच्छेदहरु रहेको सुगौली सन्धिको अनुच्छेद २,३ र ५ हेर्दा नेपालले निम्न भूभागहरु गमाएको देखिन्छ :-

अनुच्छेद २ :- युद्ध हुनु भन्दा पहिले दुवै राज्य वीच जुन भूभागका सम्वन्धमा बिवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन र ती भू-भागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्विकार गर्छन् ।

Article II :- The king Of Nepal Renounces All Claims To The Lands Which Were The Subject Of Discussion Between Two States before the war, and Acknowledges the right of the honorable company to the sovereignty of those lands 

सुगौली सन्धि भन्दा पहिले नेपालको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा काँगडा र दक्षिणमा गंगा नदीसम्म थियो । सुगौली सन्धिमा नेपालले ठुलो भूभाग गुमाउनु पर्यो ।

अनुच्छेद ३ :- नेपालका राजा माननीय इष्ट इन्डिया कम्पनीलाई तल उल्लेखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन :-
• काली र राप्ती नदीको वीचका सम्पूर्ण तल्ला भूभागहरु
• वुटवल बाहेक राप्ती र गण्डकी वीचको सम्पूर्ण तल्लो भूभागहरु
• गण्डकी र कोशी वीचको समस्त तल्लो भूभागहरु
• मेची र तिष्टा वीचको समस्त तल्लो भूभागहरु
• मेची नदी भन्दा पुर्व तर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमीन तथा नगरकोटको घाटी र नागरिका वीचका सवै भूभाग आजका मिति देखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ ।

Article III :- The king of Nepal here by cedes to the honourable the east india company in perpetuity all the under mentioned territories :-
• The whole of the low lands between the rivers kali and rapti
• The whole of the low lands lying between rapti and gandaki, except butwal
• The whole of the low lands between gandaki and koshi
• All The low lands between the river mechi and the teesta
• All The territories withing hill eastward of the river mechi including the fort and lands of nagari and the pass of nagarkot leading from morang into the hills, together with territory lying between that pass and nagair. the aforesaid territory shall be evacuated by the gorkha troops within forty days from this days .

अनुच्छद ५ :- नेपालका राजा स्वयमका लागी, आफ्ना उत्तराधिकारीहरु वा वारिसहरुका लागी काली नदीको पश्चिममा पर्ने देशहरुसंगको सम्पूर्ण दावी वा सम्वन्धहरु परित्याग गर्छन र ती देश वा बासिन्दाहरुसंग कुनै पनि मामलामा कहिले पनि सम्मिलित हुने छैनन ।

Article V :- The king of Nepal renounces for him self, his heirs and successors all claims to or contentions with the countries lying to the west the river Kali and engages never to have any concern with those counters or the inhabitants thereof.

सुगौली सन्धिका उपरोक्त अनुच्छेदहरु हेर्दा सुगौली सन्धिमा नेपालले व्यहोर्नु परेको क्षतिको विवरण स्पष्ट हुनुको साथै यो सन्धि नेपाल विरुद्ध लादिएको असमान र अपमानजनक सन्धि थियो भन्ने तथ्य स्वत: उजागर हुन्छ । सुगौली सन्धिले नेपाको पूर्वी सीमा मेची नदी र पश्चिमी सीमा काली नदीलाई निर्धारण गरेको थियो भने दक्षिण तर्फको सीमा स्पष्ट थिएन । डिसेम्वर ११,१८१६ मा पुरक सन्धि भइ कोशीदेखि राप्ती सम्मको भूभाग फिर्ता भयो । नोभेम्वर १,१८६० मा राप्तीदेखि काली सम्मको बाँके, बर्दिया, कैलाली र कञ्चन्पुर (जसलाइ नयाँ मुलुक भनिन्छ) को भूभाग फिर्ता गर्ने सम्झौता भयो । त्यस्तै जनवरी ७,१८७५ मा दाङ्ग डुडुवा क्षेत्रमा पानी ढलो अनुसार सीमा निर्धारण हुने सम्झौता भयो । यसरी नेपालको पूर्व, पश्चिम र दक्षिणको सीमाना सुगौली सन्धि, डिसेम्वर ११,१९१६ मा भएको पुरक सन्धि, नोभेम्वर १,१८६० र जनवरी ७,१८७५ मा भएको सम्झौताले सीमा निर्धारण भएको हो ।

नेपालको पश्चिमी सीमाना कालीनदी (शौका भाषामा कुटी याङ्दी भनिन्छ) भएकोमा कुनै विवाद छैन । अहिले काली नदी पूर्व पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्वन्धमा विवाद भएको देखिन्छ । लिम्पियाधुराको ३६००-५२०० को उचाइमा रहेको कालापानी काली नदीको उद्‌गमस्थल हो । काली नदी पूर्वको लिम्पियाधुरा क्षेत्रको ३३५ वर्ग कि.मी क्षेत्र र लिपुलेक क्षेत्रको ६२ वर्ग कि.मी भूभाग समेत गरी ३९७ वर्ग कि.मी भूमिमा भारतले अतिक्रमण गरेको छ । लिपु खोलाभन्दा पूर्वतर्फको तुल्सी न्युरान भन्ने ठाउलाई भारतले कृत्रिम कालापानी नामाकरण गरी आफ्नो सैनीक वेस क्याम्प राखेको छ । कालापानी भनेको तुल्सी न्युरान स्थित भारतीय वेस क्याम्प रहेको ठाउँको नाम होइन । कालापानी काली नदीको उद्‌गमस्थलको नाम हो । यसैले काली पूर्वको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपालको भूभागलाई विना प्रमाण जवरजस्ति ओगटेर छ । २००८ सालदेखि २०२७ सालसम्म नेपालको उत्तरी सीमानामा ताप्लेजुङ्गदेखि दार्चुलासम्म १८ ठाउँमा भारतीय सैनिक चेक पोष्ट रहेका थिए । २०२७ सालमा सैनिक चेक पोष्टहरु हटाएपछि पनि दार्चुला जिल्लामा रहेको सैनिक चेक पोष्ट नहटेको देखिन्छ ।

सन् १८१७ को फेब्रुवरी महिनामा इष्ट इन्डिया कम्पनीका का.वा. सचिव जे.आडमले काठमाण्डौ स्थित आवासीय प्रतिनिधि एडवार्ड गार्डनलाई पठाएको पत्रमा “कालीनदी पूर्वमा पर्ने व्यास प्रगन्नाका चौतरिया वम शाहको दावी अनुसार कालीनदीको पूर्वमा पर्ने सो क्षेत्र नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनु” भन्ने निर्देशन भएको ऐतिहासिक तथ्य छ । तत्कालिन व्यास क्षेत्रका कुटी, नावी, गुञ्जी, गर्व्याङ्ग, छाङ्‌रु र टिंकर समेत ६ वटा गाउँ काली नदी पूर्वमा पर्दथे । २०११ सालमा नेपालबाट भएको जनगणनामा व्यास क्षेत्रका ६ गाउँका ४३४ घर धुरी संख्या र १८१६ जनसंख्या कायम भएको थियो भने वरिष्ट पत्रकार भैरव रिसालको नेतृत्वमा २०१८ सालमा व्यास क्षेत्रका कुटी, नावी, गुञ्जी, गर्व्याङ्ग, छाङ्‌रु र टिंकर गाउँको जनगणना भएको थियो । ती सवै गाउँका मानिसहरुले नेपालको मालपोत कार्यालयमा तीरो वुभाउनुको साथै विभिन्न समयमा भएका निर्वाचनहरुमा सहभागी भएका थिए । यी सवै तथ्य र प्रमाणहरु नेपालसंग सुरक्षित छन ।

सुगौली सन्धि पछि प्रकाशित भएका विभिन्न नक्साहरुमा काली नदीलाई नै सीमाना कायम भएका अनेकौ ऐतिहासिक तथ्यहरु छन् । सुगौली सन्धि भएको ११ वर्ष पछि सन् १८२७ मा इस्ट इन्डिया कम्पनीले निकालेको नक्सामा काली नदीलाई नै सीमा नदीको रुपमा देखाइएको छ । तत्पश्चात व्रिटिश इन्डिया र स्वतन्त्र भारतले नक्सामा सीमान सार्दै आएका कारण सीमा विवाद देखा परेको हो । विभिन्न प्रमाण र ऐतिहासिक तथ्यहरुको आधारमा काली नदी भन्दा पूर्वका लिम्पियाधुरा, लिपुलेक र कृत्रिमरुपमा खडा गरिएको कालापानी समेतका सम्पूर्ण भूभागहरु नेपालको हो भन्ने कुरामा कुनै द्विविधा छैन ।

सुगौली सन्धि, तत्पश्चात प्रकाशित भएका विभिन्न नक्साहरु, सन् १८१७ मा “काली नदी पूर्वमापर्ने ठाउँहरु नेपालको ठहरिन्छ तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीले वुझाउनु” भन्ने इस्ट इन्डिया कम्पनीका प्रमुख जे.आर्डमको निर्देशन, २०११ साल र २०१८ सालमा भएको जनगणनामा व्यास क्षेत्रका ६ गाउँको जनगणना नेपालको तर्फबाट भएको, ती ६ गाउँका वासिन्दाहरुले नेपालको मालपोत कार्यालयमा तीरो तीर्ने गरेको र सो क्षेत्रका वासिन्दाहरुले नेपालको निर्वाचनमा सहभागी भएको प्रमाण र तथ्यका आधारमा काली नदी पूर्वका व्यास क्षेत्रका कुटी, नावी, गुञ्जी, गर्व्याङ्ग, छाङ्‌रु र टिंकर ६ वटा गाउँ नेपालको हुनु पर्नेमा हाल छाङ्‌रु र टिंकर बाहेक अरु ४ गाउँ भारततर्फ पारिएको र सारिएको देखिन्छ । प्रमाण र ऐतिहासिक तथ्यका आधारमा ती ठाउँ र गाउँहरुमा भारतको दावी पुग्ने कुनै प्रमाण र ऐतिहासिक तथ्य देखिदैन ।

संसदीय अनुगमन संयुक्त समितिले लिम्पियाधुरा-लिपुलेक क्षेत्रको २०५३ सालमा स्थलगत निरिक्षण गर्दाका वखत सो समितिको सदस्यको हैसियतले लेखकले सो क्षेत्र बारे प्राप्त गरेको भौगोलिक जानकारी, दार्चुला जिल्लाका प्रतिनिधि सभा सदस्य मा. गणेश सिंह ठकुन्ना लगाएतका स्थानीय महानुभावहरुबाट प्राप्त जानकारी र विभिन्न ऐतिहासिक तथ्यका आधारमा तयार गरिएको हाते नक्सा सवैको जानकारीको लागि सार्वजनिक गरेको छु :-

लिम्पियाधुरा

*प्रेमबहादुर सिंह पूर्व मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

महाकाली नदी साझा हो ! पानी आधा-आधा हो !!

कोभिड-१९ महामारीको सामना गरौ

कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म