२३ बैशाख २०८१, आइतबार

अस्पतालमा एक दिन डाक्टर साबलाई प्रश्न गर्दा


“सिस्टर! अनि उहाँको अवस्था कस्तो छ अहिले?”
नर्स केही बोलिनन्।
“हेलो! सिस्टर? उहाँलाइ कस्तो छ भनेर सोधेको”
“उहाँलाई नै सोधे भईगो नि “, झोक्किइन् नर्स।
महाराजगन्जस्थित त्रि.वि. टिचिङ हस्पिटलमा एक बिरामी भेट्न जाँदा परिचारिकासङ्गको एक संवाद हो यो।

“हैन, किन झर्केको हो र ? बिरामीलाई थाहा हुने भए हजुरलाइ किन सोध्थेँ र ?”
“बिरामीलाई कस्तो छ भनेर मलाइ सोध्ने त?”
“कसलाई सोध्ने त हजुर?”
“बिरामीलाई सोध्ने नि”।
“ऊ, डाक्टर आउँदैछन् उनलाई नै सोध्नुस् ।”

“उनलाई यो इन्जेक्सन दिनु” सबै रिपोर्ट हेरेपछि डाक्टरले नर्सलाइ अर्हाए।
“डाक्टर साब! उहाँलाई कस्तो छ अहिले?”
डाक्टरले सुनेको नसुन्यै गरे ।
“डाक्टर साब! उहाँलाई  कस्तो छ अहिले?”
खाउँला जस्तो गरी हेरे डक्टरले।

“तपाईं बिरामीको को?”
“म छिमेकी,उहाँलाई भेट्न आएको।”
“अनि भेट्नु भो हैन”?
“भेटेँ।”
“अनी भेट्न आएको मान्छे भेटेपछि भैगो त? बिरामीलाई सोध्नुहोस कस्तो छ।”

“हैन, मैले बिरामीको अवस्थाको बारेमा सोधेको”
“अवस्ठा देखि हाल्नु भो”
“हैन, मैले बिरामीको सुधार छ कि छैन भनेर सोधेको?”
डाक्टर नबोली लागे अर्को बेडतिर।
नर्सले बिरामीको मान्छेलाई औसधी किन्न लगाए।

एकछिन पछि…..

“सिस्टर, यो इन्जेक्सन केका लागि हो?”
केही बोलिनन् उनी।
“हैन उहाँलाई भएको चै के हो?”

“अझसम्म के भएको थाहा रै’न छ, अनि किन कस्तो छ, कस्तो छ गरिरा त?
कस्ता कस्ता पागल मान्छे आउँछन्, दिमाग खाइसक्यो मेरो” ——
भुतभुताउँदै लागिन् नर्स मैया उतातिर…
ओहो!! झसङ्ग भएँ म। हस्पिटलमा डाक्टर र नर्सलाई मैले प्रश्न गर्दा त म पागल भएँ भने बिरामीले प्रश्न गरे भने?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !