१४ बैशाख २०८१, शुक्रबार

सबैको निधारमा भाईटिका : महरा र आलम प्रहरी हिरासतमा


ram
राम मगर

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको रमझम चलिरहेको छ । विभिन्न खालका बत्तीहरु बालेर  घर, आँगन, गाउँ, सहर नै झिलिमिली भएका छन् । विशेषगरी आज भाईटिका हो । आज सबैका चेलीहरुले आफ्नो माइतीलाई रितिरिवाज अनुसार दाजुभाईलाई पुजेर भाईटिका लगाई दिने र फूल लगाई दिनेछन्छ । सबैको गलामा सैपत्री फुल र निधारमा टिकाले सजिनेछ ।

यसरी चेलीहरुले आफ्नो माइतीहरुलाई भाईटिका लगाईदिने भएपनि दुई नेताको भाईटिका भने खल्लो हुनेछ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा असोज १९ गते सभामुख निवासवाटै पक्राउ परेपछि महराको दशैँ पनि प्रहरी हिरासतमै बित्यो भने तिहार पनि प्रहरीको हिरासतमै बित्ने भएको हो । पटक-पटक अदालतमा पेश गर्दै  म्याद थप्दै गरेपछि महरा तिहारमा पनि हिरासतमै बिताउन बाध्य भएका छन् । यतिमात्र होइन उनलाई दोषी ठहर भयो भने जेल जीवन पनि बिताउनुपर्ने हुन्छ । तर यस विषयमा अनुसन्धान भइरहेको हुनाले यो पछिको कुरा हो ।

तर देशको एउटा सभामुख जस्तो गरिमामय पदमा भएर पनि यस्तो हर्कत गरेकोले नेपाली राजनीतिज्ञ पनि बेईज्वत समेत भएको छ । यसरी नेपाली राजनीतिमा धक्का पुर्याउने गरी र नेपालको इज्जतमाथि दाग लाग्ने यस्तो घटनाले नेपाली समाज र नेपाली राजनीतिमा प्रश्न उठेको छ । महराले यो भन्दा अगाडिका दशैँ तिहारमा विशेष रुपमा मनाएतापनि यस वर्षको भने निकै कठिनाई भोगिरहेका छन् । सभामुख निबासमा दशैको लागि खसी काट्दै गर्दा पक्राउ परेका महराले दशैँ मात्र होइन तिहार पनि हिरासतमा बिताए ।

सोच्दा अचम्म लाग्छ, देशको सभामुख पदमा भएका महरालाई प्रहरीको त्यो हिरासतमा देख्दा सबैको मनमा दु:ख लाग्छ । यसले के सिक्न सकिन्छ भने, कानुन विपरित कुनै काम गर्दैछ भने त्यो जतिसुकै ठुलो पदमा किन नहोस् । उसले सजाय भने अवश्य पनि भोग्न बाध्य हुन्छ । महराको राजनीतिक यात्रालाई हेर्दा त्यति सजिलो त्यो पदमा पुगेको त अवश्य पनि छैन । जनयुद्ध कालदेखि लिएर उपप्रधानमन्त्री, मन्त्री बनिसकेका महरा संघीय सरकारको सभामुख पदमा पुग्न सफल भए । तर उनलाई यो पद त्यति पचेन । कारण संसद सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप । जसले गर्दा सभामुख पददेखि सांसद पदवाट पनि निलम्बित भए ।

अर्का सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलम पनि हिरासतमा

सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमलाई राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेपछि उनी अहिलेसम्म पनि अनुसन्धानको लागि हिरासतमा छन् । उनीमाथि छानविनको लागि ८ गते पुन: प्रहरीलाई ८ दिनको म्याद थप गरेपछि हिरासतको बसाई लम्बिएको हो । बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्रीसमेत रहेका आलमको पनि यस वर्षको तिहारमा हिरासतमा छन् । नेपाली कांग्रेसका नेता आलममाथि पनि पटक-पटक म्याद थप्दै गएपछि उनी तिहारमा हिरासतमा बिताउन बाध्य भए ।

यस वर्ष भन्दा अगाडीका तिहारमा आलमले आफन्तसँगै मनाएतापनि यस वर्ष भने उनका लागि निकै कठिनाई भएको छ । उनीमाथि बमकाण्डमा घाइते भएकाहरुलाई जिउदै जलाएको आरोप लागेपछि उनी असोज २७ गतेदेखि हिरासतमा छन् । यसरी यस्तो सांसद पदमा रहेकाहरु नै यस्तो घटनामा संलग्न देखेपछि नेपाली जनताले के आश गर्ने यी नेताहरुमाथि ?

सबै नेपालीहरुलाई तिहारका रमझम लागेपनि महरा र आलमलाई भने ठुलो दशा नै लागेको छ । यसरी आफ्नो परिवारसंग मनाउने चाडको समयमा हिरासतमा बस्न पर्दा निकै चिन्ताको विषय पनि हो । यति भन्दैमा फेरी हिरासतमा राख्नु हुँदैनथ्यो भन्न पनि लागेको होइन किनकी कानुन बिपरित काम गरेको छ भने नेताहरु मात्र होइन देशका सर्वोच्च पदमा भएकाहरुलाई पनि सजाय दिनुपर्छ ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !