१९ बैशाख २०८१, बुधबार

एक अद्भूत मौनप्रेम कहानी


tribendra

त्यो बाटुलो अनि हँसिलो अनुहार, ठुला काला आँखा, लामो कालो कपाल लाग्यो म कुनै चित्रकारको कला हेर्दैछु। अमृत साइन्स कलेजको कक्षा कोठामा पहिलो चोटि उनी सँग नजर जुधेको थियो। साच्चै कति मोहित पार्ने उनको रुप। पहिलो पल्ट देखे पनि बर्सौँदेखि परिचित जस्तो उनी सँग। त्यो उमेर न हो मनमा खैलाबैला मच्चिहाल्यो। क्लास सकेर घर फर्किएँ मन त्यसै त्यसै कल्पनाको दुनियाँमा उड्न थल्यो।

सधैँ कलेज जान उत्ति जाँगर नचले पनि भोलिपल्ट क्लास शुरु हुनुभन्दा अगाडि नै पुगेँ। “आज त केटो बेलैमा पो आइपुग्यो, सुधृने भएछ अब” साथीहरु मजाक बनाएर उडाउदै थिए। म भने आँखा यताउता डुलाउँदै थिएँ, एक्कासि उनिसँग नजर जुध्यो। मनमा हलचल भयो, मुटु छिटोछिटो चल्न थाल्यो। जीवनमा पहिलोपल्ट यस्तो भएको थियो। घरिघरि उनलाइ हेर्दा उनि पनि पुलुक्क हेर्थिन्। बिस्तारै हाम्रो हेराहेर क्लासमा, बाहिर साथी समुहमा पनि दिन प्रतिदिन हुन थाल्यो। बिस्तारै बिस्तारै अरुसँग बोल्दा, हिड्दा डाहा हुन थाल्यो। उनी सँग बोल्नलाइ धेरै चोटि कोसिस गरें तर हिम्मतै हुदैनथ्यो। सास बढे जस्तो, चिट्चिट पसिना आएझैँ हुन्थ्यो। उनी पनि बोलुँ बोलुँ जस्तो गर्थिन् तर आँट गर्दिन थिइन्। उनी एक्लै भएको बेला जाउँ जाउँ लाग्थ्यो अनि उनी पनि मुस्कए जस्तो गर्थिन्, रातो पिरो हुन्थिन् तर आँट न उनमा थियो न म मा। उनी पनि मलाइ लुकिलुकि हेर्ने, मेरो अभाब महशुस गर्ने कुरा साथीको प्रतिकृया बाट थाहा पाएँ। म अलि हँसिमजाक, ठट्टा गर्थेँ साथीसँग, उनी पनि त्यसमा रमाए जस्तो गर्थिन्।

हाम्रो यो मौनप्रेमले हेर्दा हेर्दै एक बर्ष पार गरेछ। उनले मेरो बारेमा के सोचिन् थाहा थिएन तर म भने उनलाइ मन पराउन थालिसकेको थिएँ। उनीसँग जिन्दगी बिताउने कल्पना समेत गर्न थालिसकेको थिएँ। तर उनी नेवरकी छोरी म ब्राम्हणको छोरा, कसरी स्विकार्ला त यो सम्बन्धलाइ मेरो परिवारले अनि समाजले? फेरि म गाउँको केटा अनि उनी शहरकी केटी, के यो सम्बभ होलात? कि उनले तेस्तो सोचेकी छैनकी? मनमा कता कता डर पनि थियो। फेरि सोचेँ, जिन्दगी त मेरो हो नि। अरुको खुसीको लागि मेरो पहिलो प्रेमलाइ किन त्यग्ने? तर उनीलाइ यो कुरा कसरी भन्ने? सोच्दा सोच्दै दोस्रो बर्ष बितेछ।

तेस्रो बर्ष चलिरहँदा मनका छालहरु धेरै छछल्किरहेका थिए। डर पनि उत्तिकै बढ्न थाल्यो। अब पनि मैले उनीलाइ सबै कुर भनिन भने त फेरि हाम्रो भेट कहिल्यै हुदैन। फेरि म उनीलाइ कसरी गुमाउन सक्छु र? त्यसपछी निकै अठोट गरेर आज चैँ सबै कुरा भन्छु आखिर उनले पनि त मलाइ मन् पराउछिन् नि त नत्र किन लुकिलुकि हेर्छिन् त, अरुसँग हाँस्दा, जिस्किदा किन हेर्दै मुस्कुराउँछिन् त। अरु भन्दा किन पृथक व्यवहार गर्छिन् त। यी कुराले मलाई दरिलो महशुस गरायो। अनि निकै आँट गरेर अर्को दिन कलेज गएँ। उनीलाइ एताउता खोजेँ। साथीहरु सँग बसेकी रहिछ्न्, पछाडी बाटै चिनिहालेँ। आफ्नो मौनप्रेम उनिसँग पोख्नलाइ जब उनको सामु पुगेँ, उनले पुलुक्क हेरिन्। म छाँगाबाट खसेझैँ भएँ, मन ढक्क फुलेर आयो, सासनै अड्किए जस्तो भयो जब उनको सिउँदोमा सिन्दुर र हातमा राता चुरा देखें। वरिपरि सबै अन्धकार भयो। कराउन, चिच्याउन मन लाग्यो। म तेसै टोलाएछु। झस्किएर हेर्दा उनी त्यहां बाट गैसकेकी रहिछन् पर देखे अनि हेर्दा हेर्दै मेरो नजरमा कहिल्यै नपर्ने गरि हराइन्। मैले आफुले आफुलाइ धिक्कारेँ। मनको कुरा भन्न नसक्दा आफ्नो माया गुमाएँ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !