१४ बैशाख २०८१, शुक्रबार

दारीवाल केटाको एकदिने डायरी “केटी हेर्न जाँदा”


bharat-bhandari

मङ्गसिर देखी काठमाण्डौमा चिसो बढेकोले दारी नकाटेको करिव दुइ महिना भएछ। गोरो अनुहारमा झपक्कै आएको दारी लोभलाग्दो भयो हेर्दाहेर्दै। ऐना हेर्दा मन पर्न थाल्यो आफैँलाइ। साथिहरुलेपनि गज्जब छ भन्नथाले। सङ्गै पढेका महिला साथिहरुलेपनि दारी गज्जब छ भन्नथालेपछी झन् के चाहियो ?
त्यसमाथी पनि फेसबुकमा यो दारी ग्याङमा पसेपछी दारी फाल्न पटक्कै मन लागेन। हुनत साथिहरुले “गालामा दारी काँधमा जिम्मेवारी” भनेर खुब गफ हान्थे, तर आफ्नो दारी निकै लामो भैसक्दापनि जिम्मेवारी थपिएको अनुभव भने भएन।

माघ महिना नजिकिँदै गर्दा घरमा केटी हेर्ने कुराले खुब पिरोल्न थाल्यो । कोही दारी काट भन्छन् कोही ठिकै छ नकाट भन्छन्, तर काट्ने कि नकाट्ने भन्ने दोधारमै दुइचार दिन बराल्लिँदा बराल्लिँदै एकदिन केटी हेर्न जानै पर्ने भयो।
“खनिया गाउँकी हुन् रे, टीचर अरे बाउ चैँ, एम. ए. पढेकी छे रे” एकदिन बाले भन्नु भो। हेर्दिन भन्न आँट आएन।
“लौ भन् कुन दिन जाने ?” पेल्नुभो बाले ।
“भोलि” केही नसोची फ्याट्टै भनिदिएँ मैले ।
“खुरुक्क दारी काट्” थर्काउनुभो बाले ।
“म दारी चैँ काट्दिन” आँट गरेर भनेँ मैले ।
“यस्तो झ्याप्ले दारी पालेर केटी हेर्न जान्छन्? ”
“आज कालका केटीहरुले दारीवाल केटा मन पराउँछन् रे क्या बा” मैले कन्भेन्स गर्न खोजेँ बालाइ।

भोली पल्ट
एक्कासी गइयो कपुरधारा स्थित एक घरमा केटी हेर्न ।
एउटा बैठक कोठामा तिन चार जना मानिस हरु गमक्क परेर बसेका, उता पट्टी दुइ तिन जना महिला हरु, सबै बिबाहित । त्यस बिचमा एउटी अबिबाहित को खोजी थियो मेरो । तर देखिएनन् । यता उति हेरेर एउटा मान्छेले बालाइ सोधे।
“खोइ , केटा चाहीँ ल्याउनु भएन ?” झसङ्ग भएँ म । मलाइ त अन्दाजै लगाएनन् ।
“यही हो केटा, मेरो छोरो” बाले चिनाउनु भो । सबै छक्कपो परे । महिलाहरु खुसु खुसु गर्न थाले। पुरुषहरु मुख बिगार्न थाले । लाग्यो अब काम बन्दैन। “हैन यो दारी यिनिहरुलाइ किन भयो भारी?” म छक्क परेँ ।

“अनी बाबुको उमेर चाहिँ कती हो नि ?” म पोटी फर्किएर सोधे एक जनाले।
“२८ बर्ष ” बा ले भन्नु भो। खिस्स हाँसे तिनी । हैन ढाँटेरै भने जस्तो गरे, मानौँ मेरो उमेर २८ नभएर ३८ भए जस्तो।
“यस्तो झ्याउरे दारी किन पालेको ?” फेरी सोधे उनिले। लाग्यो केटीको बाबु यही हुनु पर्छ। यो कस्तो अचम्म ? कुनै औपचारिक कुराकानी बिनानै कुरा सुरु भयो ।
“पालेको होइन नकाटेको” सिधा उत्तर दिएँ मैले।
“किन नकाटेको त ?” सोधे उन्ले ।
“जाडोमा के काट्नु भनेर हो” भनिदिएँ मैले पनि।
“हुन त गलामा दारी काँधमा जिम्मेवारी भन्छन्, अनि कामचैँ के गर्नु हुन्छनी?”
“भर्खर पढाइ सकेको, कामको खोजिमा हो।”
“ए! भनेपछी पढ्दा पढ्दै दारी काट्न नभ्याएको जस्तो कुरो बुझियो, धेरैनै पढ्नु भएजस्तो छ, के बिषय पढ्नुभा हो?”
“पोलिटीकल साइन्स मा डिग्री हो” भनिदिए मैले ।
“पोलिटीकल साइन्स पढेर जागीर पाइन्छ?” फेरी सोधे उनिले। केही उत्तर दिइन मैले।

“हेर्नुस् काठमाण्डौँमा दुइ जना बस्न कम्तिमा ३० हजार लाग्छ एक महिनाको। तपाइको जागिर छैन, कमाइ छैन, कसरी पालिनु हुन्छ? कि बासङ्ग माग्नु हुन्छ?” फेरी ना जवाफ भएँ म । एतिखेर चाहिँ बा लाइपनि असजिलो भएजस्तो बुझेँ मैले ।
“दारी पाले पछी जिम्मेवार छु भन्ने ठान्दैमा पुग्दैन बाबु! कम्सेकम बिबाहको लागी तयार रहन आफु सक्षम हुनु पर्छ, खाने र बाँच्ने आधार हुनु पर्छ, अनि तिमीहरुले जे सोचेपनि दारी पाल्नेलाइ कि त गजडी, कि त अल्लारेनै सोच्छन दुनुयाले….”
उनि भन्दै थिए तर मेरो मनमा रिसको आगो बलिसकेको थियो।
छेउमा बसीरहनु भएको बालाइ पनि नहेरी आफ्नो यो अपमान भन्दापनि दारीको अपमान सहन नसकेर कती खेर बाहिर आइपुगेँ थाहा भएन। घर आइपुगेपछी कसम खाइदिएँ सबै सामु “यती भैसके पछी बरु बिहे गर्दिन तर दारी काट्दिन”।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !