१५ बैशाख २०८१, शनिबार

ब्रिजकोर्स आवश्यक कि अनावश्यक ?


Saroj Rijal सरोज रिजाल

सामान्यतय एउटा र अर्को तहबीच रहेको भिन्नतालाई जोड्न तयार बनाइएको छोटो अवधिको पाठ्यक्रम नै ब्रिजकोर्स हो । यो तह अनुसार फरक फरक अवधिको हुने गर्दछ । यसले विद्यार्थीलाई अगाडिको तहको बारेमा जानकारी दिनुका साथै मानसिक रूपमा माथिल्लो तहको बारेमा तयार बनाउने कार्य गर्दछ । ब्रिजकोर्स मुख्यगरी सबै तहमा हुनु आवश्यक छ । एउटा तह पुरा गरेर वा परीक्षामा सामेल भएका विद्यार्थीहरूको पूर्ण मानसिक विकास गरि  अघिल्लो तहमा समस्या नहोस् भनेर तयार पारिएको पाठ्यक्रम नै ब्रिजकोर्सको बिषयवस्तु हो । ब्रिजकोर्सले सही समयमा उचित निर्णय गर्न र गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

विद्यार्थीलाई अभिभावकले दवाव दिएर आफ्नो रूचि बिनाको विषयमा पढ्न बाध्य बनाउने र पछि विद्यार्थीले उक्त विषयमा प्रगति गर्न नसकेको र बिचैमा पढाई छोडेको, मानसिक रूपमा विचलित भएको र भविष्य नै अन्धकार बनाएका धेरै उदाहरणहरू हाम्रो समाजमा देखिरहेका छौं । त्यसैले आफ्नो नानी (छोरा वा छोरी)लाई उसको इच्छा अनुसारको पढाइप्रति अभिभावकले हौसला प्रदान गर्नुपर्दछ ताकि उसले आफ्नो रूचिमा दक्षता हासिल गर्न सहज हओस् ।

विद्यार्थीलाई ब्रिजकोश गरेको खण्डमा आफूले पढ्ने माथिल्लो तहको विषयको बारेमा आधारभूत ज्ञान प्राप्त गर्नुका साथै आफूले सामना गर्नुपर्ने जटिलताको बारेमा समेत सचेत बनाउने गर्दछ जसलेगर्दा विद्यार्थीलाई भविष्यमा उचित विषय छनौट गर्न मद्दत गर्नुका साथै राम्रो दक्षता प्राप्त गर्न सहयोग गर्दछ ।

हो, अहिलेको समयमा एक हिसाबले हेर्दा यो ब्रिजकोर्स आधुनिकता जस्तै देखिन्छ । उदाहरणको लागि एस.एल.सी सक्ने वितिक्कै अब के गर्ने भन्दा ब्रिजकोर्स भन्ने भनाइ विद्यार्थीको हुन्छ । तर केको ब्रिजकोर्स भन्ने चाहिँ उनीहरूमा अन्योल रहेको पाइन्छ । किनकी अधिकाशं विद्यार्थीले देखासिकीमा उक्त कार्य गरेको र ज्ञान आर्जन गर्ने भन्दापनि साथीहरूबीचको निरन्तरको सम्पर्कमा रहने माध्यम बनाएको पाइन्छ । धेरैले ब्रिजकोर्सबाट हुने फाइदा नबुझि पनि पढिरहेका हुन्छन् भने केही सवल विद्यार्थीहरूले चाहिँ अभिभावकको उचित दिशानिर्देश नभएकालेले ब्रिजकोर्सको अवसर प्राप्त गर्न सकिरहेका हुँदैनन् । जसले गर्दा कतिपय विद्यार्थीहरूको भविष्य अन्योलपूर्ण बनेको पनि देख्न सकिन्छ । कलिलो दिमागले सही निर्णय गर्न नसक्नु र अभिभावकको उचित सल्लाह प्राप्त नहुनु नै विद्यार्थीले असफलता प्राप्त गर्ने मुखय कारण हो । त्यसैले देखासिकि भन्दापनि विद्यार्थीलाई निर्णय क्षमताको विकास गराउन र अगाडि आउने समस्याको सही निराकरण गर्नको लागि सहज बनाउन नै ब्रिजकोर्स आवश्यक छ ।

मुख्यतय सबै विषयमा ब्रिजकोर्स हुनु आवश्यक छ तर हाम्रो समाजले विज्ञानलाई मात्र उचित विषय मानेर त्यसप्रतिमात्र चासो दिएको कारण विज्ञान संकायको ब्रिजकोर्सको लोकप्रियता अत्याधिक रहेको पाइन्छ । जेसुकै भए पनि ब्रिजकोर्स गर्दा विद्यार्थीले आफू उक्त विषयको लागि उपयुक्त छ कि छैन भन्ने निचोड निकाल्न  सहयोग गर्दछ । यदि ब्रिजकोर्सले उसलाई उक्त विषय पढ्न धेरै कठिन हुन्छ भन्ने लाग्यो भने उसले बेलामा नै अर्को संकाय पढ्ने सोच बनाउनुपर्दछ जसले गर्दा भविष्यमा उसले रोजेको क्षेत्रबाट धेरै सफलता प्राप्त गर्न सक्दछ । त्यसैले पनि ब्रिजकोर्सले विद्यार्थीलाई उच्च शिक्षाको विषय र संकाय रोज्न र दक्षता हाँसिल गर्न सहयोगी भूमिका खेल्दछ ।

गाउँघरमा ब्रिजकोर्सको चलन अझै कम भएपनि सहरमा भने यसले व्यापक्ता लिइरहेको छ । यसका धेरै फाइदाहरू पनि छन् । मुख्यगरी लगनशील विद्यार्थीलाई समयको सही सदुपयोग गर्न ब्रिजकोशले महत्वपूर्ण भूमिका खेल्दछ । धेरै जसो पढ्ने विद्यार्थीहरू परीक्षापछिको लामो विदाको कारण साथै साथीहरूको लहैलहैमा लागेर यस बेला कुलतमा फस्ने धेरै डर रहेको हुन्छ ।

अभिभावकले विद्यार्थीलाई कुनै कार्यमा व्यस्त राख्न नसक्नु, पढ्नको लागि कुनै दवाव दिने वातावरण नहुदाँ विद्यार्थीले साथीहरूको लहैलहैमा लागेर खराब कार्य गर्ने समय पनि यो परीक्षापछिको नतिजा पर्खिएको समय हो । अभिभावकले यस समयमा आफ्नो छोरा छोरीको उचित हेरविचार गर्न नसकेमा कुलतमा लाग्ने डर हुन्छ ।  ब्रिजकोर्स अहिलेको सहरीया आवश्यकता हो जसले विद्यार्थीलाई व्यस्त राख्नुका साथै उनीहरूलाई पढाइप्रति रूचि बढाइरहन र लगनशील हुन सहयोगी भूमिका निर्वाह गरेको हुन्छ ।

विज्ञान संकाय लगायतका प्राविधिक विषयमा उच्च शिक्षा हाँसिल गर्ने हो भने आफ्नो क्षमतालाई बेलामा नै ब्रिजकोर्सद्वारा जाँच गरी त्यसै अनुरूपको तयारी गरेर आफ्नो भविष्य सफल बनाउन सकिन्छ । एकैपटक कुनै ज्ञान बिना नै कुनै संकायमा त्यसमा पनि प्राविधिक शिक्षामा दक्षता लिन धेरै कठिन हुने हुँदा ब्रिजकोर्सको आवश्यकता अहिले अनिवार्य झैं बनिरहेको छ ।

अब ब्रिजकोर्स गर्दा कहाँ र कस्तो ठाउँमा गर्ने भन्ने सवाल पनि उठ्न सक्छ । अहिले च्याउजस्तै जताततै ब्रिजकोर्स गराउने संस्था खुलेका छन् जसले गर्दा विद्यार्थी भ्रममा परेर झन अन्योलता सिर्जना भएको अवस्था पनि देखेका छौं । त्यसैले ब्रिजकोर्स गर्दा त्यहाँ पढाउने शिक्षकका बारेमा राम्रोसँग बुझ्नु आवश्यक छ जसले गर्दा आफ्नो मिहिनेत र गरेको लगानी खेर नजाओस । कतिपय ब्रिजकोर्स गराउने संस्थाले उच्च शिक्षा प्रदान गर्ने शिक्षक बिना नै विद्यार्थीलाई भुल्याउने कार्य गरेर विद्यार्थीबाट रकम मात्र असुल गरिरहेको पनि देख्न र सुन्न पाइन्छ । त्यसैले एउटा विद्यार्थीले ब्रिजकोर्स गर्नुभन्दा अगाडि यस विषयमा बुझ्नु आवश्यक छ र यसका लागि अभिभावकको सहयोग लिनु पनि जरूरी छ । यति गर्न सकेमा विद्यार्थीको सफलतामा केही कमि हुने छैन । त्यसैले ब्रिजकोर्स गर्ने संस्था छनौटमा आफूले पढेको विद्यालयको शिक्षक, अभिभावकसँग सरसल्लाह गर्नु अति नै आवश्यक छ ।

ब्रिजकोर्स गराउने संस्थाको सही छनौट हुन सकेमा विद्यार्थीले जीवनमा धेरै नै सफलता हाँसिल गर्न सक्ने र भविष्यमा गर्ने निर्णयमा क्षमता वृद्धि गर्न धेरै नै मद्दत गर्दछ । यसको लागि अभिभावकले पनि चासो दिनु जरूरी छ । अभिभावकले यस समयमा छोराछोरीको लागि केही समय दिन सकेमा उनीहरूको उज्जवल भविष्य निर्माण सहयोग पुग्न सक्दछ । मुख्यगरी उनीहरूलाई व्यस्त बनाएर पढाइप्रतिको लगाव कायम राख्न र अन्य सिर्जनशील कार्यमा अगाडि बढाउनको लागि ब्रिजकोर्सले धेरै मद्दत गर्ने गर्दछ ।

फुर्सदको समयलाई रचनात्मक क्रियाकलापमा बदल्न, समयको सही सदुपयोग गर्न, खाली समयको व्यस्त हुन, विद्यार्थीको चौतर्फि विकास गर्न, उच्च शिक्षाको लागि सहज वातावरण सिर्जना गर्न, प्राविधिक विषयहरूको आधारभूत ज्ञान प्राप्त गर्न, निर्णय क्षमताको विकास गर्न र नेतृत्व विकास गर्नको लागि पनि ब्रिजकोर्सको आवश्यकता छ । ब्रिजकोर्सले मुख्यगरी दुई तहलाई जोड्ने पुलको काम गर्ने गर्दछ । त्यसैले पनि ब्रिजकोर्स अहिलेको समयमा अति नै आवश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !