६ पुस २०८१, शनिबार

यस्तो छ ऋषि पञ्चमी पर्वको वैज्ञानिक महत्व


ऋषि पञ्चमी पर्व

काठमाडौँ । सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ’ भनेका थिए । यसले धर्म र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो हुन्छ भन्ने पुष्टि गर्दछ ।

आज हिन्दू नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यो त धार्मिक पक्ष भयो भने यसभित्र वैज्ञानिक पक्ष पनि लुकेको छ ।

बिहानै उठेर नित्य कर्म र ध्यान गर्नु भनेको अनुशाशित भई मनलाई शान्त र एकाग्र गर्दा शरीर स्वास्थ्य हुन्छ । नित्य कर्मअनुसार चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

दत्तिवनले दाँत माझ्दा दाँत सफा हुने नै भयो । आयुर्वेदमा दत्तिवनलाई महत्वपूर्ण जडिबुटीका रुपमा चिनिन्छ । द्रव्यगुण विज्ञान अनुसार दत्तिवन अरुचि, छर्दी, अग्निमांध, शूल, उदररोग, आध्मान, अर्श, पित्ताश्मरी र कृमिरोगमा प्रयोग हुन्छ । यो विशेषगरी हृदयरोग, रक्तविकार, पाण्डु, गण्डमाला, आमवात र शोथरोगमा समेत उपयोगी रहन्छ ।

साथै दत्तिवन कुष्ठ, वर्णविकार, चर्मरोग आदिमा समेत लाभदायक रहन्छ । शोथवेदनायुक्त विकारमा र सर्पको दंशस्थानमा यसको लेप लगाइन्छ भने कास रोगमा यसको क्षार कफ निकाल्नका लागि प्रयोग गरिन्छ ।

ऋषि पञ्चमी महिलाले गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । गाउँघरमा घर लिपपोत गर्नका लागि गाईको गोबर प्रयोग गरिन्छ । गोबरले लिपपोत गरेपछि घर पवित्र र सफा हुन्छ भन्ने मान्यता समेत रहदै आएको छ ।

धार्मिक दृष्टिले गाईको गोबरले लिपपोत गरिएको स्थानलाई पवित्र मानिन्छ । यस्तो स्थानमा बसेर कुनैपनि पूजा-पाठ, यज्ञ, हवन, मन्त्रोच्चारण आदि गर्नु पनि शुभ मानिन्छ । गोबरले लिपपोत गर्दा टिबीको भाइरस एवं रोगाणु मर्छ । यसवाट के बुझिन्छ भने वैज्ञानिक दृष्टिले हेर्दा गोबरमा एन्टी भाइरल र बायोटिक गुण हुन्छ ।

गोबरले नुहाऊँदा शरीरमा भएका ब्याक्टेरिया मर्न सक्छन । गोबरले हात, खुट्टा वा शरीरको कुनै अंग जलेमा उक्त भागमा गोबर लगाउनाले जलन कम हुन्छ । चिसो पार्ने हुनाले यसमा एन्टीथर्मल गुण हुन्छ । छाला सम्बन्धि कुनै रोग वा समस्या भएमा नियमित रुपमा उक्त स्थानमा गोबरको लेप लगाउनाले उक्त समस्या शिघ्र तथा सजिलै ठिक हुन्छ ।

शरीर धेरै चिलाएमा पनि स्वदेशी गाईको गोबरले जीउ मालिस गरेर करिब १० मिनेटको अन्तरालमा मन तातो पानीले नुहाउदा चिलाउने समस्या कम हुनुका साथै छाला सम्बन्धि समस्या समेत कम हुने गर्छ ।

मानवीय जीवनमा गाईको गोबर पनि त्यति नै उपयोगी छ । इटालीका वैज्ञानिक जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई समेत मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका छन् । यस अनुसन्धानबाट हिन्दूहरूले परापूर्वकालदेखि किन गोबरले घर लिप्ने कार्य गर्थे भन्ने कुरा प्रष्ट भएको छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । यो त धार्मिक पक्ष भयो ।

नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ । खरानी पनि एन्टीसेप्टिक गुण हुन्छ । नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १/१ चम्चा खाँदा साधारण जुका र नाम्ले जुका आदि रोग निर्मुल भएर जान्छ । यो स्वास्थ्यको दृष्टिकोणले हेर्दा खरानीमा एन्टीहेल्मेन्थिस गुण हुने हुनाले यो वैज्ञानिक पक्ष भयो ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने गर्छ । रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ ।

यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोण समेतबाट महत्वपूर्ण छ । आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यसरी टुसा पलाएका खानेकुरा खानु भनेको स्वास्थ्यका दृष्टिकोणले धेरै राम्रो पक्ष हो ।

वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ । हामी र हाम्रो धर्म संस्कृति र परम्परा जोगाउनेतर्फ लाग्नुपर्दछ । धर्म संस्कृतिमा भएका सुसंस्कारलाई जगेर्ना गर्नेतर्फ लाग्नुपर्छ । आधुनिकताको नाममा विदेशी संस्कार जोडेर धर्म संस्कृतिमा विकृति भित्र्याउने काम आजैदेखि बन्द गर्नुपर्छ ।

संस्कृति तथा परम्परा मनाउने शैलीमा समय सापेक्ष परिवर्तन हुँदै जानु स्वाभाविकै हो । संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई जगेर्ना गर्दै कुसंस्कारहरूलाई क्रमशः हटाउँदै लैजानुपर्छ । तर, हामीले संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई बेवास्ता गर्दै कुसंस्कारलाई झन् बढवा चाहि दिनु हुँदैन ।

यो पनि पढ्नुहोस्

हरितालिका तीजभित्र लुकेको महत्वपूर्ण वैज्ञानिक पक्ष

यस्तो छ कुशे औँसी पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

नाग पञ्चमी पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता

शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !