१५ बैशाख २०८१, शनिबार

हरितालिका तीजभित्र लुकेको महत्वपूर्ण वैज्ञानिक पक्ष


हरितालिका तीज

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

हाम्रा चाडपर्वको धार्मिक रूपमा मात्र होइन वैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ । हिन्दु धर्म संस्कृतिका धेरै चाडपर्वमा वैज्ञानिक पक्ष लुकेको रहेको हुन्छ । चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ ।

तीजमा नारीहरुले व्रत-उपवास बस्दा फाइदा छ । यसले मान्छेलाई शारीरिक रुपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ । बेला-बेलामा उपवास बस्नुले शरीरको स्वास्थ्यमा सुधारगत परिवर्तन आउँछ । ध्यानमग्न भई बस्ने उपवासले मानसिक पवित्रता र स्वच्छता दिलाउँछ । उपवास श्रद्धा र भक्ति प्रदर्शनको माध्यम भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायक छ । उपवासले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

न्युराल्जिया, कोलाइटिस, थकान, कब्जियत, कोलाइटिस, टाउको दुख्ने हुँदैन । शारीरिक तौलमा सन्तुलन ल्याउँछ । उपवास बस्दा ब्रेन डिराइभ्ड न्युट्रोफिल फ्याक्टर नामक प्रोटिन बढ्छ र मस्तिष्कको कार्यक्षमता वृद्धि हुन्छ । स्मरण शक्तिमा बढेपछि अल्जाइमर हुन पाउँदैन । पार्किन्सनको सम्भावना घट्दै जान्छ । उपवासमा पाचन प्रक्रियाले आराम पाउने भएकाले पाचनशक्ति बलियो हुँदै जान्छ । शरीर फुर्तिलो हुन्छ ।

चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ । खानेकुराको वैज्ञानिकतादेखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन् । मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ्य हुनुपर्दछ । हरितालिका तीज जस्ता चाडपर्वले महिलालाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ ।

तीजमा गाइने गीत र नाचगानले एक त सामूहिक भावनाको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीत-संगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ ।

चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान-प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीसंगीहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन-प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जान सक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तीज जस्तो चाडको ठूलो महत्व छ । विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ ।

चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिनिक प्रभाव बुझ्नु जरुरीछ । तिहारमा घर रङ्ग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।

मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो , रंगिन र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । डिप्रेशनले गाजेको अहिलेको अबस्थामा तिहारको झिलिमिलिले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।

व्रत भनेको स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषय हो । आफ्नो स्वास्थ्यका लागि योग गर्नु, ध्यान गर्नु, व्रत बस्नु, देवताहरूको दर्शन गर्न मन्दिर जानु, मान्यजनप्रति प्रातः कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले दर्शन ढोगका माध्यमबाट आभार प्रकट गर्नु मानवीय कर्तव्य हुन् ।

शरीरको सामर्थ्य अनुसार व्रत, उपासना आदि कृत्यले मानिसलाई शारीरिक रूपमा सबल बनाउँदै मानसिक रूपमा पनि दृढनिश्चयी भाव विकास गराउँदैै स्वकार्य सम्पादनमा दक्षता हासिल गराउँछन् । त्यसैले व्रत, उपासना, आदि साधन हुन्, साध्य होइन । साध्य त केवल परमात्मा प्राप्ति, मोक्षप्राप्त गर्नु मात्र हो । व्रतले यस लोकमा आवश्यक पर्ने सुखशान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोक साध्य कृत्यमा तल्लीन गर्नु गराउनु नै मुख्य उद्देश्य हो ।

व्यावहारिक कठिनाइका कारण पतिको सहित स्त्रीहरूले व्रत लिएको हुनुपर्छ । व्रतविधिका दृष्टिले पत्नीले पतिको दीर्घजीवनको कामना मात्र गरेर कुनै पनि व्रत लिनू भन्ने निर्देशन धर्मशास्त्रमा पाइँदैन बरु व्रतपूजादिमा दुवैको सहभागिता वा उपस्थिति भने अनिवार्य गरिएको पाइन्छ ।

तीजको व्रत र निर्जला एकादशीको व्रत सामर्थ्र्यअनुसार प्रायः निराहार नै लिने उल्लेख धर्मशास्त्रमा पाइन्छ । तर निराहार मात्र व्रत हो भनी किटान गरेको भने छैन। स्वस्थ शरीरका लागि व्रत बस्ने हो । अस्वस्थ एवं रोगी व्यक्तिले यथाशक्य नियममा रहेर दूध फलफूल खाएर पनि व्रतादि गर्नू भन्ने शास्त्रमै उल्लेख छ ।

संयमित बनाउन बुद्धिमान् मानवले आफ्नो र संसारमा देखिएका अनेकौँ रोगहरू र तिनले दिने कष्टहरू विचार गरेर स्वस्थकर, थोरै, ठिक्क र तागतिलो भोजन ठीकठीक समयमा गर्नुपर्छ भन्ने शास्त्रको आशय छ । वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ ।

हामी र हाम्रो धर्म संस्कृति र परम्परा जोगाउनेतर्फ लाग्नुपर्दछ । धर्म संस्कृतिमा भएका सुसंस्कारलाई जगेर्ना गर्नेतर्फ लाग्नुपर्छ । आधुनिकताको नाममा विदेशी संस्कार जोडेर धर्म संस्कृतिमा विकृति भित्र्याउने हो । संस्कृति तथा परम्परा मनाउने शैलीमा समय सापेक्ष परिवर्तन हुँदै जानु स्वाभाविकै हो । संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई जगेर्ना गर्दै कुसंस्कारहरूलाई क्रमशः हटाउँदै लैजानुपर्छ । तर, हामीले संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई बेवास्ता गर्दै कुसंस्कारलाई झन् बढवा चाहि दिनु हुँदैन ।

यो पनि पढ्नुहोस्

यस्तो छ कुशे औँसी पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

नाग पञ्चमी पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !