हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता Nepalpatra हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता
८ माघ २०७७, बिहिबार

हिन्दु सनातन धार्मिक पक्षहरूभित्र लुकेको बैज्ञानिकता


ॐ र परमाणु

धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो । हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो । धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो । पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञानका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे । सनातन धर्मको ग्रन्थ वेदलाई आधुनिक वैज्ञानिकहरुले पनि स्वीकारेका छन् । वेद एउटा विज्ञान भएकोले जसमा उल्लेखित ज्ञानको कुराहरु हजारौं बर्षदेखि एकदम तर्क सहित चल्दै आएको छ ।

सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ’ भनेका थिए । यसले धर्म र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो हुन्छ भन्ने पुष्टि गर्दछ ।

धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो । हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो । धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो ।

१. सृष्टिको आदिकालमा नै हाम्रा पूर्वज प्रात: स्मरणिय ऋषि महर्षिहरूले आमरण त्याग तपस्याद्वारा अलौकिक योगशक्ति प्राप्त गरेका थिए । त्यसैबाट तिनीहरूको दिव्यदृष्टि पनि भएको थियो । उनीहरूका निमित्त भूत, भविष्य, वर्तमान तिनै कालका विषयहरूको यथार्थरूपले अवगत गर्नु पनि साधारण कुरा जस्तै थियो ।

मानिसले जुन काम गर्दा पनि कर्तव्य संझि फलको इच्छामा आशक्त नभइ धैर्यपूर्वक काम गर्न लागेमा सिद्ध गर्न नसकिने कुरा कमै होला । यसमा अहिले त चन्द्रलोकको यात्रा गरिसकेका वैज्ञानिकहरू नै उदाहरण बनिसकेका छन् । स्वार्थरहित परोपकारमा रातोदिन लागिरहेका ती ऋषिमुनिहरूले प्रकृतिका सूक्ष्म तत्वहरुको रहस्य पत्ता लगाए ।

सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले धर्मबिना विज्ञान अन्धो हुन्छ र विज्ञानबिना धर्म लङ्गडो हुन्छ भनेका थिए ।

२. यसै सिलसिलामा मानव निरोगी र दिर्घायु रहुन भन्ने उद्देश्यले हाम्रा पूर्वज धर्मशास्त्रकारहरूले हामीले विहान उठेदेखि फेरि राती नसुतेसम्म गर्नुपर्ने कामहरूलाई यस-यस समयमा यसरी–यसरी गर्नुपर्दछ, आफ्नो इच्छा अनुसार गर्नुहुदैन भनी तोकिदिएका छन् । शास्त्रको नियम बमोजिम सबै काम गर्नु नै आचार हो । “आचारः परमो धर्म” अर्थात् आचार सर्वश्रेष्ठ धर्म हो, भनेर धर्मका साथ आचारको तादात्म्य सम्बन्ध बताएका छन् ।

उठ्नु, खानु, पिउनु, बोल्नु, हांस्नु, हिड्नु, रुनु आदि सबै कामलाई विधिपूर्वक गर्नुपर्ने नियम छ । यसमा यो शङ्गा छकि नियमित भएर वा नियमको वास्ता नगरी जसरी भएपनि दाल र भात खाएपछि पेट भरिन्छ । मुख्य पेट भर्नलाई खानुपर्ने हुनाले पेट भरिए भइहाल्यो । यो तर्क झट्ट सुन्दा योग्य जस्तो छ, तर मानिसले बुद्धिलाई स्थिर र मनलाई प्रसन्न राख्ने किसिमका स्वास्थ्यकारक खाद्यपदार्थहरू आयुर्वेदले बताए अनुसारको समयमा बताएको परिणाम अनुसार खानाले स्वस्थ जीवन बन्दछ । जुनसुकै बेला जति मन लाग्यो उति भक्ष्याभक्ष्यको विचार नगरी खानाले राम्रो स्वास्थ्य हुदैन । नियमपूर्वक खानपान, रहनसहन, शयन आदि गर्नाले यस लोकमा आरोग्य बल वीर्य आदिले परिपूर्ण स्वस्थ शरीर भई आनन्द साथ सुखमय जीवन बिताउन सकिन्छ भने परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ ।

३. मानिस आफ्ना इन्द्रियहरूलाई रोक्न मुस्किल पर्ने हुनाले मीठो चिज भेट्टाएको वखतमा आफूले पचाउन सक्ने नसक्ने वास्ता नगरी खान थाल्दछ । पछि पचाउन नसकेर रोगको शिकार बन्ने कुरा त्यस वखतमा विचार गर्दैन । यसरी आइपर्ने आपत्तिको वास्तै नगरी निषिद्ध वस्तुको सेवन गर्दछ । मानिसलाई निषेध गरिएका वस्तुहरू खान र गर्न ज्यादै इच्छा हुन्छ । त्यसैले शास्त्रको मर्यादामा रहने मानिस ईश्वर र परलोकको भयले सहसा निषिद्धकार्यमा तत्पर हुन सक्दैन । कामचार, कामवाद, कामपानमा लागेका मानिसहरू पतन भएका सबैले आफ्नै आँखाले देखेका छन्, तर आश्चार्य छ त्यस कुराको ख्यालै नगरी अरूहरू पनि त्यही कुबाटोमा लागिरहेका छन् ।

४. हाम्रा प्राचीन ऋषिमुनिहरूले मद्य, मासु, लसुन, अण्डा आदिलाई ब्राम्हणका निमित्त त्यसै निषेध गरेको होइन । हामी जस्तो चीज खान्छौ त्यस्तै हाम्रो मन वन्दछ । “अन्नमयं हि सौम्य मनः” उपनिषद् । शिवसङ्गल्प भएको अर्थात् सधैं सबैको भलो चिताउने मन ब्राम्हणको हुृनपर्दछ । कल्याणकारक मार्गमा सबै जनतालाई लगाउनु ब्राम्हणको कर्तव्य हो । त्यस्तो मन बन्न सक्ने सात्विक आहार मात्र भोजन गनै शास्त्रले विधान गरेको छ । जसबाट तमोगुण र रजोगुण दविई सत्वगुणको अभिवृद्धि हुन्छ ।

५. जुन काम गर्नाले आफ्नो निमित्त, समाजका निमित्त र राष्ट्रका निमित्त वा विश्वका निमित्त सुख शान्ती आदिको अभिवृद्धिपूर्वक ऐहिक अभ्युदय र परलौकिक कल्याण हुन्छ, त्यो काम धर्म भनिन्छ । “धर्मो विश्वस्य जगतः प्रतिष्ठा” भनेर ऋग्वेदले स्पष्ट रूपमा उल्लेख गरेको छ । धर्मको उल्लङ्खन गर्ने राष्ट्रमा सुख शान्तिको आशा गर्नु खरायोको सिङ खोजेर हिड्नु जस्तै हो । मर्यादामा नरहेमा कुनैपनि कुराको व्यवस्था हुदैन भन्नेकुरा स्वतः सिद्ध छ । मर्यादाको आधारमा नै संसार अडेको छ ।

६. अनादिकालदेखि ऋषि महर्षिहरूले देखाइदिएको बाटोमा पहिले पहिलेका आर्यजनहरू परम कल्याणकारी बाटो सम्झी लागिरहेका थिए । तर समय सधैं एकै किसिमको रहदैन । ती नियमहरूमा बांधिएर बस्नलाई मानिसले कठिनाई मान्यो । फलतः अनेक थरीका कुतर्कहरू कल्पना गरी नियमका बन्धनहरूलाई तोड्ने प्रवृत्ति बढ्दै गयो ।

जब भारतमा मुगल शासन आयो तब आर्यधर्म खतम पार्न शासकहरू नै तत्पर भए । हाम्रा पूर्वजहरूले पुस्तौं पुस्ताको त्याग तपस्याद्वारा उपार्जन गरेको तक्षशिला आदि विश्वविद्यालयमा रहेका वेद वेदाड्ड, दर्शन आदि दुर्लभ धर्मग्रन्थहरू जलाईदिए । विद्वान्हरूका घरघरमा सुरक्षित रहेका ज्ञानभण्डारका सारा शास्त्रहरू पनि बलजफ्ती खोसेर खरानी भए । यज्ञोपवितको रक्षा गर्न भागाभाग गर्नुपर्यो ।

७. त्यो शासन सकिएपछि फेरि अर्को भयानक अंग्रेजी शासन आयो, उसले सोझै धर्ममा हस्तक्षेप नगरी अर्कै चलाखिपना अपनायो । त्यो जाति आर्यभूमिमा आफ्नो प्रभुत्व कायम गर्न मात्र आएको थिएन, यहांका जनतालाई आफ्नो सांचोमा ढाल्नु पनि उसको उद्देश्य थियो । त्यसैले शुरुमा आफ्नो शिक्षाको प्रचार गराएर त्यो शिक्षा लिएका व्यक्तिमात्र उच्चपदमा नियुक्त हुने व्यवस्था गर्यो । हुंदाहुंदा त्यो शिक्षा नलिनेले जागिरको आशा नै राख्नु परेन । इज्जत प्रतिष्ठा, मान–मर्यादा आदि त्यो शिक्षामा दिक्षित नभएकाले पाएनन् । अनि सबै जनता उसैको शिक्षा दिक्षा रहन सहन, बेश, भूषा आदिमा लाग्न थाले ।

८. आर्यजातिको पुख्र्यौलि अमूल्य सम्पत्ति भएको वेद, उपनिषद्, वेदाड्ड, दर्शन आदि विशाल विद्याराशिलाई कुठाराघात पारी भारतमा आफ्नो गुलाम बनाउने उद्देश्यले शिक्षाको जरो गाडेपछि नेपालमा पनि त्यस समयका शासक राणाहरू अंग्रेजकै इशारामा नाच्ने हुनाले उसलाई प्रशन्न गराउन उनिहरूले हलाहल विषको विउ जस्तै गरेर यस पवित्र तपोभूमिलाई विषाक्त बनाउने त्यस शिक्षाको बीजारोपण गरे । हुंदाहुंदा अहिले वर्तमान समयमा त खानपान, रहन, सहन, वेश, भूषा सबैमा पाश्चात्यहरूको नक्कल गर्नु नै आर्यका सन्तानलाई गौरवको अनुभव हुन लाग्यो । जुन आर्य जातिले–

“एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।। “मनु”

आर्यावर्तदेशमा जन्मेका ब्राम्हणहरूबाट पृथिवीका सबै मानिसले आ-आफ्नो आचार नियम आदि सिकुन् । यो सिंहनाद गरेर सर्वमान्य बिश्ववन्द्य महामहिमगौरवको आदर्श राखिएको थियो । त्यही आर्यका सन्तान हामीहरू आज अनार्यको दासानुदास बन्न कोशिश गरिराखेका छौं । बन्न सकेमा आफूलाई गौरवान्वित सम्झन्छौं । अहो कस्तो दुर्भाग्य ।

९. पहिले पहिले आर्यहरूको शास्त्रमा ज्यादै विश्वास भएकाले शास्त्रले निर्देशन गरेका नियमलाई राजाको हुकुमभन्दा पनि उच्चतम शिरोधार्य मानेर श्रद्धापूर्वक पालन गर्दथे । अदृष्टफलमा मात्र विश्वास गरेर नित्य नैमितिक र काम्य कार्यमा अग्रसर हुन्थे । आजकाल पाश्चात्य शिक्षाले गर्दा धेरैजसो चार्वाकका चेला भए । नास्तिकबन्नमा नै महत्व सम्झेर साधारण जनतालाई पनि बहकाउन लागे । त्यसैले धर्मानुष्ठान खालि परलोकमा मात्र असल हुने होइन यस लोकमा पनि ज्यादै कल्याणकारक छ भन्ने ऐतिकलाभको पनि प्रचार गर्नुपर्ने अवस्था आयो ।

हुन त पाश्चात्य शिक्षामा दीक्षितहरूलाई पनि आर्यमार्ग असल हो भन्ने मनमा नलागेको होइन । तर तिनीहरूको सानै उमेरदेखि विलासमय जीवन भयो । स्वावलम्वी भई साधारण जीवन निर्वाह गर्न दुःख गर्न नसक्ने भए । रुखा सुखा खाई गुरूको सेवागरी ब्रम्चर्याश्रममा रही कुशासनमा सुतेर आर्यधर्मग्रन्थहरूको अध्ययन गर्ने परम्परा हरायो । होस्टेलमा बसेर मोजमज्जा गर्दै मनले चाहेको आहार विहार गरी सजिलैसंग आंड्डल भाषामा स्नातक भएकाले धर्मशास्त्रको नियममा बांधिन तयार नहुनु स्वभाविकै छ । अनि नचाहिदा कुतर्क– गरी आफ्नो धार्मिक नियमलाई उपहास गर्दै हिड्ने बानी गर्नु नै पर्यो ।

१०. अब प्रकृततर्फ जाउं शास्त्रले हवनलाई ज्यादै ठूलो धार्मिककृत्य मानेको छ । तर आजकल नवयुवकहरू बहुमुल्य घिउ र प्राणेश्वर भएको अन्न डढाएर धर्मको ठेकेदारले बर्वाद गरिरहेका छन् भन्छन् । उता गरीवहरू खान नपाएर तड्पिरहेका छन् । हवनको सट्टा खान नपाउनेलाई खान दिएमा उनका आत्माहरूले कति आशिर्वाद दिने थिए भन्छन् । अर्को कुरा हवन गर्ने वस्तु खाने तर्फ लगाएपछि ती बस्तुहरू बजारमा सुलभ भई भाउ पनि बढ्ने थिएन आदि तर्क गर्दछन् ।

आपाततः ठिकै जस्तो देखिए पनि खानमा प्रयोग गर्नुभन्दा हवनगर्नु धेरै गुना फाइदा छ । पूर्वाचार्यहरूले विचारै नगरी त्यसै आगामा घिउ अन्न फल डढाउन लगाएका होइनन् । हवनकार्य ज्यादै उत्तमहुनाले नित्यकर्मको र धेरैजसो धार्मिककार्यको अङ्कपनि भएको छ । हवनबाट आएको धुवां ज्यादै स्वास्थ्यकारक हुन्छ । त्यसले वरिपरिको दुषित हावालाई नै शुद्ध गरिदिन्छ । घरमा रहेका रोगका किटाणुहरू नाश हुन्छन् । मानिसले शास फेर्दा शरीरभित्र पसि शरीरका पुर्जाहरू बलिया हुन्छन् । अन्तस्करण सुद्ध भई चित्त प्रसन्न हुन्छ ।

सुगन्धले घ्राणेन्द्रियलाई अलौकिक आनन्द दिएको त अनुभव गरेकै छौं । हवन गरेको द्रव्यको स्थूलभाग खरानीलाई साधारण कार्यमा उपयोग हुन्छ । सूक्ष्मभाग धूवां बनी आकाशमा पुगी बादलमा परिणत भई पानी बर्षाउछ । ज्यादै सूक्ष्मतत्वले देवताहरूलाई तृप्त गराउने हुनाले पनि एकपन्थ धेरैकाज भई हवनको ज्यादै महत्व छ । गरीबहरूलाई खान नदिएर भन्ने आरोप पनि नबुझि गरेका छन् ।

धार्मिक कार्यमा गरीबहरूलाई अनिवार्य भोजन गराउन पर्ने विधिपनि शास्त्रले नै बताएको छ । तर यसको पूरापूर फल पाउन शास्त्रले बताए बमोजिमको घिउ, चरु समिधा शुद्धमन्त्रोच्चारण आदि जुट्नु पर्दछ । हवन पनि श्रद्धा र विधिपूर्वक हुनुपर्दछ । श्रद्धा नभई करकाप अथवा अरूलाई देखाउन गरेको कुनै पनि धर्म कार्यबाट ऐहिक र पारलौकिक दुबैफल पाइदैन । “अश्रद्वया हुतं दत्तं तपस्तप्तं कृतं च यत् । असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह” ।। गीता ।।

११. मानिसका निमित्त काम क्रोध लोभ यी तीन महा अनर्थ कारक छन् । यिनीहरूलाई आफ्नो अधीनमा राख्नसके मानिसले संसार विजय गरेको सम्झे हुन्छ । यिनीहरूलाई वशमा राख्न धर्मानुष्ठानहरू आवश्यक छन् । यसैको सिलसिलामा धर्मप्राप्तिका निमित्त शास्त्रले बताएका एकादशी, रामनवमी, कृष्णाष्टमी, शिवरात्री आदि व्रतहरू छन् । त्यसमा पनि वर्त गर्ने मानिसको अवस्था हेरी प्राजापत्य कृच्छ, अतिकृच्छ, चान्द्रायण आदि छन् ।

कुनै व्रतमा विस्तारै आहार घटाउदै लगि पछिबाट क्रमैले बढाउँदै ल्याउने नियम छ । निराहार, जलाहार, दुग्धाहार, फलाहार, एकाहार अनादि व्रतहरू पनि बताईएका छन् । यी उपवासका भेदहरू गर्नाले मासु, रगत, हाड, छाला आदि शुद्ध हुन्छन् । अन्तस्करण प्रशन्न हुन्छ र रोगहरू हट्दै जान्छन् । भित्र पाचन शक्ति बढ्दै जान्छ । शरीरमा बल, विर्य, ओज आदि भरिदै जान्छ । कफवात पित्तहरू ठिक अवस्थामा रहन्छन् ।

शरीर तन्दुरुस्त र जे खाए पनि पच्ने, जे पनि गर्न सक्ने भई सुखमय जीवन बन्दछ । उपवासको अघिल्लो दिन एकाहार तथा थोरै सात्विक भोजनको उल्लेख गरेको पनि वैज्ञानिकताले भरिएको छ तर आजकल यो कुरा वास्ता नगरी भोली व्रत वस्नु छ भने अघिल्लो दिन कोची–कोची खान्छन् । व्रत लिई उपवास नगरेर एकाहार गर्नेहरू पनि व्रत लिएको अघिल्लो दिन घिउ आदि गरिष्ट वस्तु प्रशस्तमात्रामा पाकेका चीजहरू अरू दिनमा भन्दा पनि बेस्करी खाने गर्दछन् । यसो गर्दा पाचन क्रियामा मन्दता आई शरीरको स्वास्थ्य सप्रनुको सट्टा बिग्रदै जान्छ ।

सधै पेटभर मात्र खाईरहनाले खाएका सबै वस्तु पूरापूर परिपाक नभई पेटको रोेग हुन्छ । समय समयमा उपवास गर्नाले भित्रको पाचन यन्त्रले त्यसरी अपरिपक्व भएका वस्तुलाई परिपाक गराउने मौका पाउंदछ । आजकालका व्रतीहरूले यो कुराको विचार नगरी खाली लहै लहैमा लागेर नियमपूर्वक व्रतहरू नलिएकाले नै व्रतबाट हुने प्रत्यक्ष लाभबाट वञ्चित भएका छन् ।

व्रतोपवास खाली धर्मका निम्ति नभएर एहिक कल्याणका निमित्त पनि निश्चित छ । हामीले देखेकै छौं धर्ममा रहने मानिस एक दुई दिनसम्म उपवास वस्न पनि किन्चित मान्दैन, विलासी मानिस २,३ घण्टामात्र खान पछि भयो भने तुल्वुलाउन थाल्दछ । त्यसैले इन्द्रियहरूलाई अधीनमा राख्नका निमित्त यो एक उपाय हो, सबैले गर्नुपर्ने वैज्ञानिक अनुष्ठान हो ।

१२. धार्मिक कार्यमा आर्यजातिका लागि स्नान सबभन्दा पहिले नगरी नहुने एक अड्ड मानेको छ । “स्नानमूलाः क्रियाः सर्वाः श्रुतिस्मृत्युदिता नृणाम्” ।। याज्ञवल्क्य ।। सधैं स्नान नगर्ने मानिसहरू पनि आज एकादशी आज शिवरात्री भनेर सवेरै स्नान गर्दछन् । साधारण सन्ध्या वन्धन देखि लिएर ठूला ठूला यज्ञहरूसम्म गर्दा पनि स्नान गर्नुपर्ने शास्त्रको विधान छ ।

व्यवहारमा पनि मानिस जन्मेदेखि लिएर मरीसकेपछि सबलाई समेत स्नान गराउने चलन छ । नदी, झरना, तलाउ, कुवा, पोखरी आदि मध्ये पाएसम्म असल ठाउंमा स्नान गर्नु पर्दछ । केही पानी मिल्दै नमिलेमा शरीर खुल्ला गरि वायव्य स्नान, भष्म स्नान भए पनि गर्नुपर्दछ भनी शास्त्रले कडा शासन गरेको छ ।

*मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

माघे संक्रान्ति र यसको धार्मिक महत्व

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम

माघे संक्रान्ति र यसको धार्मिक महत्व

होली पर्व र योसँग जोडिएको पौराणिक लोककथा

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व 

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व

रामनवमी र यसको धार्मिक तथा सांस्कृतिक महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !