शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

वेद, शास्त्र वा पुराणको चर्चा हुने बित्तिकै प्राय: दुई खाले विचारहरू प्रष्ट रूपमा देखिन्छन् । एक खाले मानिसहरू त्यसलाई ईश्वरीय वचन भएकोले त्यसको प्रतिकार गर्नै नहुने र त्यसमा जेसुकै लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने मान्यता राख्छन् भने अर्काथरी भने यो सब हावा गफ वा कथा मात्रै भएकोले यसको कुनैपनि महत्व नभएको बताउने गर्छन् ।

वास्तवमा माथिका दुवै विचारधाराहरू गलत छन् र सामान्य अवस्थामा यसको समर्थन र विरोध गर्ने दुवै पक्ष एक दृष्टिबाट हेर्दा सरल मार्गको चयन गरेर अध्ययन बाट बच्ने वा विवाद गरेर रमाउने मात्रै देखिन्छन् ।

केही समय अगाडि घरमा रहेका केही पुराना किताबहरू फेरि दोहर्‍याएर पढ्ने क्रममा एउटा रमाइलो तर उदेक लाग्दो तथ्य भेटें । वेद, शास्त्र वा पुराण वास्तवमै अझैसम्म पनि केवल अन्ध समर्थन वा अन्ध विरोधको ‘सामान’ मात्रै रहेका छन् । जुन तटस्थ वा सम्यक् अध्ययनको तुलनामा सर्वाधिक सरल छ । कारण कसैको कुरामा ‘हो मा हो’ मिलाएर त्यसको समर्थन गर्नु भनेको अध्ययन र जिम्मेवारीको जोखिमबाट बच्ने सबैभन्दा सरल उपाय हो ।

‘हैन’ भन्नलाई ‘हो’ भन्नभन्दा केही साहसको जरुरत त पर्छ । तर प्रामाणिक आधार वा स्वार्जित ज्ञान बिना अरू कसैको मत वा तर्कलाई आधार मानेर ‘हैन” भन्नु शाब्दिक रूपमा ‘हो’ भन्दा केही भिन्न देखिए वा सुनिए पनि यस्ता ‘हैन’ ले गुणात्मक रूपमा भने खासै फरक वजन राख्दैनन्। मेरो दृष्टिमा वेद, शास्त्र वा पुराणमा वर्णित भनेर कुनै कुराको अन्ध समर्थन गर्नु र मार्कस, नित्से वा माओको विचारसँग मेल नखाने भनेर सोही कुराको विरोध गर्नु एउटै कुराहरू हुन । यी दुबैमा कुनै विद्वता, बोध वा प्रज्ञाको किञ्चित् मात्र पनि उपस्थिति भेट्दिनँ म । अझ सिधा कुरा गर्ने हो भने माथि भने जस्तै यी सबै ‘सरलमार्गीहरु’ मात्रै हुन, जुन मार्गमा मानव चेतना, विवेक वा ज्ञानको कुनै जरुरत नै हुँदैन। जहाँ हरके वाद, मार्ग वा सोचको समर्थन वा विरोध दुवै कसैको उधारो ज्ञानमा आधारित हुन्छन् । मनुस्मृतिमा लेखिएको छ त्यसैले सही हो, शास्त्रमा उल्लेख छ त्यसैले अकाट्य छ भन्नु र मार्कसको ‘क्यापिटल’ मा लेखिएकोले ठीक छ वा फ्रायडको सिद्धान्तमा भएकोले वैज्ञानिक छ भन्नु एउटै कुरा हुन् । कारण बदलिँदो समाजिक परिस्थितिमा जसरी मनुस्मृतिका सबै श्लोक र नियमहरु सान्दर्भीक रहेनन् त्यसैगरी विज्ञानको विकाससँगै मार्कसका वैज्ञानिक भनिएका सिद्धान्तहरु समेत गलत प्रमाणित भैसकेका छन् ।

तर अझैपनि उदेक लाग्नेकुरा के छ भने, सामान्य मानिसहरू मात्रै हैन, यो सरल मार्ग रोज्नेमा आफूलाई वेदका ज्ञाता मानेर मोटा मोटा किताब लेख्नेहरु र आफूलाई तर्क र दर्शनका विद्वान ठानेर सनातन धर्ममा वे आधार र बिना अध्ययन प्रहार गर्ने प्रसिद्ध व्यक्तिहरू पनि पर्छन् ।

अघिल्लो हप्ता वेद भित्रका तथ्य भनेर लेखिएको एकजना नेपाली ‘विद्वान’को किताब हात पर्‍यो । रामयणमा पुष्पक विमानको चर्चा रहेको कुरालाई आधार मानेर हाम्रा पूर्वजहरुले वायुयानको आविष्कर गरेका थिए र महाभारतमा सञ्जयले धृतराष्ट्रलाई कुरुक्षेत्रको वयान गरेको कुरालाई लिएर त्यति नै बेला टेलिभिजन बनिसकेको थियो भन्ने जस्ता उनको तर्क देखेपछि उनको बोध र विद्वताप्रति टीठ लाग्यो।

अहिलेको समाज प्रमाणमा विश्वास गर्ने र तर्कले सोच्ने समाज हो। यो वैज्ञानिक र तार्किक मानिसको मनस्थितिलाई र समयको प्रवाहलाई नबुझी सोझै किताबी ज्ञानलाई अन्ध भक्तिको लेप लगाएर यस्ता तर्क-कूतर्क गर्नु वास्तवमै गलत मात्रै हैन, वेद वा शास्त्रको त्यो काल्पनिक र हल्का व्याख्या गर्नु तिनै बाङमयको अपमान पनि हुने मैले ठानेको छु।

हुन त कुनैपनि कुरालाई हरेक मानिसले आ-आफ्नै ढंगले बुझ्छन् र एउटै वाक्य वा शब्दका समेत अनेक अर्थ लगाउन सकिन्छ । तर यत्ति हुँदाहुँदा पनि तात्कालिक समय वा समाजको विकासको ख्याल नै नगरी आफ्नो काल्पनिक उडानलाई विज्ञान भएको दाबी गर्न खोज्नु भने गलत नै हो । किनकी विज्ञान प्रमाणको आधारमा टिकेको छ र प्रमाण विहीन अबस्था रहँदासम्म कुनैपनि ‘दावा’, ‘सिद्धान्त’ वा ‘तर्क’ भन्दा माथि जान सक्दैन । रामायणको पुष्पक विमान, ययातिको बुढ्यौलीको उपचार वा सञ्जयको “महाभारतको लाइव टेलिकास्ट” यस्तै केही उदाहरणहरू हुन । जसले सम्भावनाको द्वार खोल्ने वा उनुसन्धानकालागि प्रेरित गर्ने कार्य पक्कै गर्ने छ, तर शास्त्रमा वर्णित भएकै आधारमा यसलाई हामीकहाँ ५००० वर्ष पहिलै हवाईजहाजको विकास, शारीरिक अंगका प्रतिरोपण वा स्याटेलाईट टेलिभिजनको अस्तित्व थियो भन्नु हास्यास्पद देखिने छ ।

यसो भनेर मैले यहाँ हाम्रा निधिहरू वा वैदिक वाङ्मयको विश्वसनीयता प्रति खिल्ली उडाउन खोजेको भने कदापि हैन । मेरो सानो र प्रारम्भिक अध्ययनकै क्रममा पनि मैले शास्त्रमा वर्णित केही यस्ता तथ्य वा खोजमूलक कुराहरु भेटेको छु, जुन आजको विज्ञानको कसीमा समेत साँचो साबीत हुन्छन् (यसलाई आगामि पोसटहरुमा राख्ने छु) । केही यस्ता सिद्धान्त र मान्यताहरु छन् जुन आधुनिक विज्ञानले प्रमाणित गर्छन् र केही यस्ता सोच, सूत्र र अवधारणा पनि छन् जुन अहिलेको भौतिक विज्ञानको लगि पनि चुनौतीकै रुपमा रहेका छन् । आत्माको अस्तित्व एउटा त्यस्तै जटिल वा भौतिक विज्ञानको लागि विवादीत वा अप्ठेरो चुनौती हो । शरीरका सबै भौतिक अवयवहरू जस्ताका त्यस्तै रहँदा रहँदै पनि मानिसको मृत्यु हुन्छ । अझ आश्चर्यजनक कुरा के छ भने: निश्चित समय भित्र निकालिएमा ती मृत व्यक्तिका शारीरिक अगहरू अर्को व्यक्तिमा प्रतिरोपण पनि गर्न सकिन्छ र प्रतिरोपण पश्चात् तीनले नयाँ शरीरमा सामान्य ढंगले नै काम गर्छन् । तर तिनै अंगहरु मृत व्यक्तिका लागि बेकार हुन्छन् । शरीरका सबै अंगहरु साबुत भए पनि चल्दैनन्, काम गर्दैनन् र सूक्ष्म शरीरको वहिर्गमन पश्चात् भौतिक शरीर वेजान हुन्छन् ।

तर भौतिक विज्ञान आत्माको अस्तित्वलाई मान्दैन । किनकि त्यसलाई देख्न, छुन वा वैज्ञानिक दायरभित्र प्रमाणित गरेर देखाउन हालसम्मको स्थितिमा सम्भव छैन। तर यो एकतर्फी सोच मात्रै हो, वास्तवमा देख्न, छुन वा भौतिक तलमा महसुस गर्न नसकिने अबस्थासम्ममा आत्माको अस्तित्व नमान्ने आधार वा हक भौतिक विज्ञानलाई पनि त्यतिबेला मात्रै मिल्नुपर्ने हो, जुन बेला विज्ञान मृत शरीरमा जीवन भर्न सफल हुन्छ । मेरो विचारमा मृत शरीरमा जीवन हाल्न सफल नभएसम्म भौतिक विज्ञानलाई पनि आत्माको अस्तित्व नकार्ने कुनै अधिकार छैन ।

प्रसंगबस यहाँ एउटा सानो घट्ना राख्दैछु । कतै पढेको थिए (अहिले स्रोत याद भएन)

एक जना वैज्ञानिकले एउटा अन्तर्राष्ट्रिय सभामा विभिन्न तर्क दिएर प्रमाणित गरी दिए कि वास्तवमै ईश्वरको कुनै अस्तित्व छैन। आफ्नो “there is no God” भन्ने कार्यपत्र प्रस्तुत गरेर मञ्चबाट ओर्लदैँ गर्दा उनको मुखबाट निस्कियो — “Thanks God! I have proved that there is no God!”

मैले माथि नै भनिसकें हामीकहाँ वेद शास्त्र वा पुराणको विरोध वा समर्थन दुवै बेआधार गरिन्छन् । अनि बेआधार गरिएका कुनैपनि तर्क, मत वा सिद्धान्त लंगडो र अर्को तर्क वा सिद्धान्तले नकाटे सम्मका लागि मात्रै सही हुन्छन् ।

वास्तवमै हाम्रा निधिहरूको वैज्ञानिक अध्ययन र विश्लेषण जरुरी छन् । अल्वर्ट अनस्टाइनले आफ्नो “Science, Philosophy and Religion: a Symposium” भन्ने शोधपत्रमा भनेका छन् “Science without religion is lame, religion without science is blind.” । हामीले पनि हाम्रा शास्त्र र दर्शनमा रहेका तथ्य र सूत्रहरूलाई वैज्ञानिक तरिकाबाट अध्ययन र व्याख्या गर्नै पर्छ । पुष्पक विमानको चर्चा गरेर आत्मरतिमा रमाउनु व्यक्तिको लागि मात्रै हैन हाम्रै अमूल्य निधीहरुकालागि समेत घातक सिद्ध हुनेछन् । तर त्यस पछाडि रहेका सोच, बोध वा दर्शनको सम्यक खोज र हाम्रा वाङ्मयमा रहेका वैज्ञानिक दर्शन, तथ्य र सूत्रहरूको खोज भने वैज्ञानिक तरिकामै जारी रहनुपर्छ । कथा, उपमा वा रुपक बाहेक हाम्रा निधिहरुमा संसारलाई र अझ प्रस्ट भन्दा आजको विज्ञानलाई दिन सक्ने धेरै कुराहरू छन्, तर तीनको व्याख्या काल्पनिक उडानमा हैन वैज्ञानिक पद्दती र सम्यक् ढंगबाटै हुनुपर्छ ।

यो पनि पढ्नुहोस् 

उत्तर शिरान गरेर सुत्नु नहुने वैज्ञानिक आधार के हो ?