२१ बैशाख २०८१, शुक्रबार

सफा हिमाल अभियान : चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर


प्रभुराम शर्मा

काठमाडौँ । नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो ।

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवसका अवसरमा आज अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो ।

हिमाली क्षेत्रमा देखिएको फोहरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो । त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।

यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहर सात हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो गरी कूल ३३ हजार ८७७ किलो (३३.८ टन) फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजङ्घा हिमालबाट दुई मानव अस्थिपञ्जरसमेत सङ्कलन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए । सङ्कलित फोहमध्ये कुहिने फोहरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उनले जानकारी दिए ।

अभियानको नेतृत्व गर्नुभएका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए । समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए ।

सन् २०१९ मा सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गर्नुभएका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताए । उनले वातावरणलाई प्राकृतिक रुपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरेका छन् ।

मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उनले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता औँल्याए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले नेपाली सेनाको अभियानको प्रशंसा गर्दै हिमाल संरक्षणका लागि प्रभावकारी नियमनको खाँचो रहेको उल्लेख गरे ।

हिमाल आरोहणमा सेनाको सफलता

अभियानका क्रममा कञ्चनजङ्घा हिमालमा नेपाली सेनाले पहिलोपटक झन्डा फहराउन सफल भएको छ । प्राप्त विवरणअनुसार मे ७ मा संसारकै तेस्रो अग्लो (आठ हजार ५८६ मिटर अग्लो) उक्त हिमालमा सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले मा सफल आरोहण गरी नेपाली सेनाको झन्डा फहराउन सफल भए ।

यस्तै १२ मेमा सर्वाेच्च शिखर सगरमाथामा नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले तथा १२ मेमा विश्वको चौथो अग्लो ल्होत्से हिमालमा क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगर पुग्न सफल भएको जनाइएको छ ।

वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्य हो : प्रधानसनापति शर्मा

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले बढ्दै गएको पर्यावरणीय जटिलतामा वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्य भएको बताए । उनले सरकारको वातावरण संरक्षणको प्रयास अनुरुपका कार्यक्रममध्येको एउटा स्वरुप सफा हिमाल अभियान रहेको स्मरण गर्दै सेनाले अभियानको अगुवाइको भूमिका मात्रै निर्वाह गरेको जानकारी दिए । उनले सबैको साथ र सहयोगले मात्रै यस्ता कार्यक्रम सफल बनाउन सकिने उल्लेख गरे ।

प्रतिकूल मौसमबीच अभियान टोलीले सफलताका लागि कार्यक्रम सम्पन्न गरेकामा उनले प्रशंसा गरे । उक्त अभियानको अहिले नै प्रतिफल नदेखिए पनि दीर्घकालीन नतिजा दिने उनले विश्वास व्यक्त गरे । समारोहमा उहाँले सफलतापूर्वक विभिन्न हिमाल आरोहण गर्ने नेपाली सेना, सहयोगी संस्थाका प्रतिनिधि तथा शेर्पा आरोहीहरुलाई प्रशंसापत्रसमेत वितरण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !