६ आश्विन २०८१, आइतबार

वातावरणीय बेवास्ताका कारण नासिँदै प्राकृतिक सम्पदा


वातावरणीय बेवास्ता

गलेश्वर । मानवीय अतिक्रमण र लापरबाहीका कारण हिमाली जिल्ला म्याग्दीमा वातावरणीय सङ्कटका असर देखिन थालेका छन् । विकास भनेकै सडक निर्माण हो भन्ने प्रवृत्तीका कारण यहाँका ग्रामीण क्षेत्रमा वातावरणीय क्षति हुनेक्रम बढ्दै गएको छ । विकासका नाउँमा डोजर, स्काभेटरलगायत मेसिनहरू गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि असर परेको छ ।

ग्रामीण क्षेत्रको वातावरणीय सन्तुलनका आधार मानिने चौतारी एवं पोखरी मासिएपछि स्वच्छ हावापानी दुर्लभ बन्दै गएको छ । गाउँघरका पाटीपौवा र चौतारा विस्थापित भएका छन् । गाउँबस्तीका पारिस्थितीक प्रणालीमा जोखिम थपिँदै गएका छन् । चौतारी र पाटी पौवाहरू मासिँदै जाँदा ग्रामीण जीवनको गर्विलो इतिहास हराउँदै गएको छ ।

अर्जुन मावि भकुण्डको शिक्षक रघुनाथ शर्मा भन्छन्, “अब थकाइ लाग्दा सुस्ताउने चौतारा पनि भेटिदैनन् । सडक विस्तारसँगै चौतारा विस्थापित भए ।” वर्षभरि धान फल्ने खेतमा पानी लाग्ने कुलो डोजर लगाएर सडक बनाएकै कारण मासिएको गुनासो गर्दै उहाँले खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताए ।

विकासका नाममा जथाभावी सडक निर्माण गर्दा गाउँघर नै कुरूप भएको मङ्गला गाउँपालिका–१ का हरिकृष्ण पौडेल बताए । उनी भन्छन्, “पहिराको जोखिमसमेत बढाएको छ । सडक खन्दा अगाडि मन्दिर, विद्यालय, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन ।” पौडेलले पानीको स्रोत कुवाँ, पँधेरा, मठमन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनाश स्थानीयले छुट्याउन नसकेको दुःखेसो गरे ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर (स्काभेटर) चालकले प्राविधिक रेखदेख बिना सडक खन्दा गाउँ नै कुरुप बनेको र पहिरोको जोखिममा रहेको वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटा बताए । उनी भन्छन्, “यसरी जथाभावी सडक खन्ने क्रम नरोकिए थप सङ्कट निम्तिदै जाने र प्राकृतिक स्रोतको विनाश अझ बढ्नेछ ।” सरकारले सडक बनाउनुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने प्रावधान राखे पनि त्यसको बेवास्ता गरी आफूखुशी सडक बनाउँदा बस्ती थप जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

वन जङ्गलका छेउछाउमा र हरिया डाँडामा बस्ती विस्तार हुने क्रम बढ्दै गएपछि त्यहाँ बस्ने जनावर र चराहरूको अस्तित्व पनि सङ्कटमा पर्दै गएको सरोकारवाला बताउँछन् । यसरी जङ्गल फडानी गरेर बस्ती बसाउँदै गर्दा वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारेमा सोच्न आवश्यक रहेको वातावरण संरक्षणकर्मी सापकोटाले बताए । उनका अनुसार वातावरणीय अतिक्रमण र प्रदूषणका कारण जङ्गली जनावर, पक्षी र जलचरहरू पनि लोप हुँदै गएको पाइएको छ ।

त्यसैगरी बजारबाट निस्कने फोहर, कलकारखाना र घरबाट निस्केका ढलहरू कालीगण्डकी र म्याग्दी नदीमा मिसाइँदै नदीको जलचक्र प्रणाली नै खलबलिनुका साथै जलचरहरू नासिँदै गएका छन् भने पवित्र नदीहरू प्रदूषित बन्दै गएका छन् । बजार क्षेत्रमा यातायात र कलकारखानाबाट निस्कने धुँवा अनि धुलोको कारण बालबालिका र वृद्धवृद्धाहरूको दैनिकी असहज बन्दै गएको गुनासा सुनिन थालेका छन् ।

“हामीले प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न सकेनौँ भने ठूलो मानवीय सङ्कट निम्तिने निश्चित छ”, सापकोटा भन्छन्, “धुलाम्मे सहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अनि अस्वस्थकर र मुहान नै फोहर भएका पानी पिएर स्वस्थ रहन असम्भव हुन्छ ।”

सन् १९७२ मा संयुक्त राष्ट्रसङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !