२३ बैशाख २०८१, आइतबार

घुम्ती कोषको रकमबाट स्वरोजगार बन्दै सामुदायिक वनका उपभोक्ता


सामुदायिक वन फाइल फोटो

कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध न्यून आयस्रोत भएका उपभोक्ताको जीवनस्तरमाथि उठाउनका लागि घुम्ती कोष परिचालन गरिएको छ ।

सामुदायिक वनबाट वन पैदावार बिक्री वितरणको आम्दानीको निश्चित स्रोतले महिला सशक्तिकरण, उद्यम विकास, गरिबी न्यूनीकरणका लागि बीउ पूँजीको व्यवस्था गरी घुम्तीकोष परिचालन गरिएको हो ।

घुम्तीकोषमार्फत व्यावसायिक कार्य गर्नका लागि ७२ जना सामुदायिक वनका न्यून आयस्रोत भएका व्यक्तिहरुले ऋण पूजीँ उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । उनका अनुसार ऋण पूँजी लिएकामध्ये ३० जनाले बङ्गुरपालनका लागि प्रतिव्यक्ति रु २० हजारदेखि ४० हजारसम्म ऋण लिएका छन् ।

यसैगरी, भैँसीपालनका लागि नौजनाले प्रतिव्यक्ति रु ३५ हजारका दरले, बाख्रापलनका लागि १५ जनाले रु ३० देखि ३५ हजारका दरले, कुखुरापालनका लागि चार जनाले रु ३५ हजारका दरले, माछापालनका लागि दुई जनाले रु ३५ हजारका दरले र हाँसपालनका लागि एकजनाले रु ३५ हजार रकम ऋणका रुपमा लिएका छन् ।

यसैगरी पसल सञ्चालनका लागि पाँचजनाले रु ३५ हजारका दरले, तरकारी खेतीका लागि दुईजनाले रु ३० हजारका दरले, केरा खेतीका लागि एकजनाले रु ३५ हजार, फलफूल पसल सञ्चालनका लागि दुईजनाले रु ३५ हजारका दरले तथा मोबाइल पसल सञ्चालनका लागि एकजनाले रु ३५ हजार ऋण लिएका अध्यक्ष राजवंशीले जानकारी दिए ।

घुम्तीकोषबाट ऋण लिएर व्यवसाय गरेका व्यक्तिहरुलाई घुम्तीकोष परिचालन कार्यविधि-२०७८ अनुसार रकम लगानी गरिएको छ । घुम्तीकोषबाट लिएको ऋण व्यावसायिक कार्य गर्ने विपन्नलाई पाँच, मध्यमलाई सात र सम्पन्नलाई नौ प्रतिशत ब्याज रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ । ऋण लगानी गरिएको रकमको ब्याज प्रतिमहिना बुझाउनु पर्ने व्यवस्था छ ।

“लगानी गरिएको रकम विपन्न वर्गलाई छ महिना, मध्यम वर्गलाई चार महिना, सम्पन्न वर्गलाई दुई महिनासम्म टोल समितिमार्फत दिने गरेका छौँ”, अध्यक्ष राजवंशीले भने, “त्यसपछि साँवाब्याजसहितको रकम कोषमा जम्मा भएपछि कृषि समूहमा लगानी गर्दै जान्छौँ ।” विपन्न गरिब, दलित, एकल महिला, आदिवासी जनजातिलगायत आर्थिक विपन्नता भएका व्यक्तिलाई अन्य उपभोक्ता सदस्य सरह समान सहभागितामा विकास गराउन घुम्तीकोषको पहिलो हकदारका रुपमा लिने गरिएको छ ।

घुम्तीकोषको सुरुआत रकम प्रतिटोल समितिमार्फत रु १० लाख सम्बन्धित टोल समिति वा समितिले सिफारिस गरेको कृषि समूहको बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको सामुदायिक वनका कार्यालय सचिव हरिकृष्ण चौधरीले बताए ।

एकल उपभोक्ता सदस्यको हकमा रु २० हजारदेखि ३५ हजार, समूह जमानीमा पाँचदेखि सातजनाको समूहलाई रु एक लाखदेखि र एक लाख ५० हजारसम्म ऋण दिँदै आएको अध्यक्ष राजवंशीको भनाइ छ । उनका अनुसार हालसम्म तीनवटा समूहलाई घुम्ती कोषमार्फत रु २३ लाख १० हजार लगानी गरिएको छ ।

बीउ पूँजीका रुपमा तीनवटा टोल समितिलाई रु १० लाखका दरले रु ३० लाख रकम अनुदानका रुपमा उपलब्ध गराइएको छ । टोल समितिले घुम्तीकोष परिचालन कार्यविधि अनुसार समूहमा आबद्ध सदस्यहरुसँग सम्झौता गरी सोही बमोजिम ऋण लगानी हुने गरेको छ ।

टोल समितिमार्फत रु ३० हजार ऋण लिएर तरकारी खेती गरेका प्रेमबहादुर चौधरीले मनग्य आम्दानी गर्दै आएका छन् । “तरकारी खेती गर्नका लागि आवश्यक रकम जुटाउन नसक्दा मजदुरी गर्दै आएका थियौँ”, उनले भने, “बीउबिजन, मलखाद र आवश्यक औजार खरिद गर्नका लागि घुम्तीकोषमार्फत रकम पाइएपछि तरकारी खेतीमा संलग्न भएका छौँ । पहिलाजस्तो मजदुरीमा जानु पर्दैन । आफ्नै स्वामित्वमा रहेको जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गरेर मासिक रुपमा रु २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।”

घुम्ती कोषको रकम उन्नत जातको पशुपालन, व्यावसायिक खेती, व्यावसायिक हस्तकला र व्यवसाय व्यापारमा लगानी गरिने व्यवस्था रहेको छ । सामुदायिक वनका एक हजार ९४ उपभोक्ता छन् । सामुदायिक वन १७९ दशमलव ५७ हेक्टरमा फैलिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !