७ बैशाख २०८१, शुक्रबार

यसरी रोक्न सकिन्छ कोरोनाको तेस्रो लहर


नेपालमा कोरोना संक्रमण दर

कोरोना संक्रमण बढ्दो ग्राफमा छ । आजको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या ४१०७ छ भने ३५ जनाको दुखद निधन भएको छ । अहिले समुदायमा परीक्षण भएको छैन । कन्ट्याक्ट ट्रेसिंग पनि छैन ।

सरकारले परिस्थिति विषम आउनुअघिं नै युद्धस्तरमा महामारी नियन्त्रणको लागि बिशेष रणनीति बनाएर कार्यन्वयन गर्नु जरुरी छ । अब हामीसंग ढिलो गर्ने समय छैन । विश्वभर नै डेल्टा प्रजातिको संक्रमण द्रुतगतिमा बढिरहेको छ ।

छिमेकी देश भारतमा समेत तेस्रो लहरको संकेत देखिएको छ । अहिले नै कडा कदम नचाल्ने हो भने यो लहरले निकै जनधनको क्षति गर्नेछ । तसर्थ निम्न लिखित उपायहरु स्वास्थ्य तथा गृह मन्त्रालयविच समन्वय गरेर तत्काल गर्नु आबश्यक छ ।

१. खोप केन्द्र जनसंख्याको अनुपातमा धेरैवटा बनाएर तीब्रगतिमा खोप लगाउने । खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाकर्मीको ब्यबस्था गर्ने । खोप वितरणमा भएको ढिलासुस्ती अन्त्य गर्ने ।

२. बालबालिकाको खोप छिटो ल्याउने ।

३. कर कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीको चाँप हुने ठाउँमा बैकल्पिक विधिको प्रयोग गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने ।

४. भीडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर मापदण्ड पालना गराउने ।

५. सवारीसाधनमा जनस्वास्थ्यका मापदण्ड अनुगमन तथा निगरानी गरेर मापदण्डमा ल्याउने ।

६. फुटपाथ पसललाई खुला ठाउँमा स्थानान्तरण गर्ने ।

७. संक्रमित धेरै भएका ठाउँलाई शिल गर्ने । त्यहाँबाट हुने असुरक्षित आवतजावत नियमन गर्ने ।

८. सिमाना, पहाडी जिल्ला तथा तराइका गाउँमा एन्टिजेन परीक्षण बढाउने । एन्टिजेन किट हरेक स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा उपलब्ध गराउने ।

९. ८७ वटै ल्याबबाट अधिकतम रुपमा पिसिआर टेस्ट गर्ने । सरकारले समुदायमा पिसिआर परीक्षण बढाउने । कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने ।

१०. संक्रमितलाई वडा कार्यालय तथा अन्य निकायबाट अनुगमन र निगरानी गर्ने । होम आइसोलेसनको पालना नगर्ने व्यक्तिलाई जरिवाना गर्ने ।

११. सरकारी अस्पतालमा अक्सिजन बेड, आइसीयु बेड तथा भेन्टिलेटर थप्ने ।

१२. मास्कको प्रयोगलाई प्रभावकारी बनाउने तथा सार्वजनिक स्थलमा निशुल्क उपलब्ध गराउने ।

१३. हरेक पसल, कार्यालय तथा अन्य ठाउँमा ‘नो मास्क : नो सर्भिस ‘ लागु गर्ने ।

१४. ५ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नदिने । १५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र सांस्कृतिक काम गर्ने अनुमति दिने ।

१५. आम जनताले सहि तरिकाले नाक र मुख छोप्ने गरि मास्क लगाउने । भौतिक दुरी कायम गर्ने । हातको सफाइ गर्ने । भीडभाडमा नजाने । खुला ठाउँमा मात्र भेटघाट गर्ने ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !