१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ संगीत र मानव स्वास्थ्य वीचको अन्तर्सम्वन्ध


संगीत र मानव स्वास्थ्य वीचको अन्तर्सम्वन्ध

संगीत र मानव स्वास्थ्यको सम्वन्ध नङ र मासु जस्तै छ । संगीतले मान्छेको मन मस्तिष्कमा ठूलो प्रभाव पारेको हुन्छ । संगीतको सुरू कहिलेदेखि भयो भन्ने कुरा यकिन गर्न सकिदैन । प्रकृतिको अनुपम उपहारको रूपमा मानव उत्पत्तिसंगै भएको अनुमान लगाउन सकिन्छ ।

प्लेटो र एप्पोलो जस्ता बिश्व प्रसिद्ध बैज्ञानिकहरुले पनि संगीत र मानिसको शरीरको सम्बन्धबारे धेरै लेखहरु लेखेर प्रकाश पारेका थिए । तर शायद संगीतलाई औषधिको रुपमा हेरेर गरिएको अनुसन्धान कम भएर होला आज पनि हामीलाई यसको महत्वबारे धेरै ज्ञान छैन ।

संसारमा संगीत मन नपराउने शायद को होला चरा-चुरङगी, बाल-बच्चादेखि जनावर, सर्पसम्म लट्ठ भएर संगीत सुन्ने गरेको पाइन्छ । संगीतसंगै यदि रोगको उपचार गराउन सकिन्छ भने यसको प्रभावबाट रोग निको बनाउन ठूलो मद्दत गर्ने देखिन्छ ।

कहिलेकाँही हामी सोच्ने गर्छौ दिनभरिको थकाई पश्चात संगीत सुन्ने गरेमा थकान कम हुन समेत यसले सघाउ पुग्ने देखिन्छ । संगीत सुन्दा शरीर आफै थाहा नपाई हल्लिन थाल्छन यस विषयमा अनुसन्धान गरेर मानवीय स्वास्थ्यमा यसको प्रयोग गरेर हामीले लाभ लिन सकिने भएको छ ।

संगीतले शरीर र रसायनलाई सन्तुलनमा ल्याएर उपचारमा सहयोग गर्ने गर्छ । स्वरको उच्चारण गर्दा इन्टरलिंकिन रसायन निकाल्ने गर्छ र मानसिक व्यग्रतालाई साम्य बनाउछ । यसरि हामीले मानसिक, डिप्रेसन जस्ता रोग निको बनाउन संगीतले मद्दत गर्ने देखिन्छ ।

केहि संगीत र स्वरले स्वास प्रणाली र केहिले मष्तिस्कमा बिशेष प्रभाव पार्ने गर्छ । विभिन्न मन्त्रहरुबाट निस्किने स्वरले पार्ने प्रभावलाई हामीले यहि अनुरुप बुझ्न सक्छौ । ॐ को प्रभाव मस्तिष्कसंग हुन्छ भने गीत संगीतले मानिसको मस्तिष्क र हरेक अंगमा यसको प्रभाव पार्ने गरेको हुन्छ ।

अहिले डिप्रेसन, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स जस्ता धेरै रोगमा “म्यूजिकथेरापी“ को प्रयोग हुन थालेको छ । दैनिक तनाव घटाउँन र बिभिन्न किसिमको शरीरमा भएको दुखाइ कम गर्न “म्यूजिकथेरापी” को प्रयोग गर्दा राम्रो फाइदा हुने कुरा केहिको मत छ । संगीतले मानव शरीरको कोशिकासम्म प्रभाव पर्ने गर्छ ।

संगीतले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्छ । संगीत शरीरको लागि मात्रै हैन, आत्माको लागि पनि बरदान हो । त्यसैले संगीतलाई मानव स्वास्थ्यमा प्रयोग गरेर हेर्नुपर्ने समय आएको छ। संगीतको महत्व बैज्ञानिक, संगीतप्रेमी र सर्वसाधारण जनताले समेत बुझ्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !