रासस हीरक वर्ष प्रवेश सन्दर्भ : रासस, म अनि नेपाल - Nepalpatra Nepalpatra रासस हीरक वर्ष प्रवेश सन्दर्भ : रासस, म अनि नेपाल - Nepalpatra
२५ फाल्गुन २०७७, मंगलबार

रासस हीरक वर्ष प्रवेश सन्दर्भ : रासस, म अनि नेपाल


राष्ट्रिय समाचार समिति

काठमाडौँ । निकै दुब्लो, पुड्को तर हातको पकड त्यत्तिकै कसिलो । आँखामा कुनै चमक थिएन, अनुहारमा पनि औपचारिकताको एक सर्को मुस्कान पनि भेटिन्न । चिनजानको त्यो पहिलो क्षण । नेपाल बैंक लिमिटेडको शाखा कार्यालयको एक कुनामा आफ्नो कार्य समयमा व्यस्त हुनुहुन्थ्यो उहाँ । पद नोगजा अर्थात् च्यातिएको, झुत्रो अनि सक्कली÷नक्कली नोट जाँच्ने र गन्ने काम । सहायकस्तरको नोकरी थियो ।

चिनापर्चीको छोटो अनि छिटो प्रकरणपछि चिया पिउने प्रस्ताव भयो । बैंक परिसरबाट निस्केर बाहिर सडकको छेउमै स्टोभमाथि बिसाइएको केटली अनि त्यसको वरपर छरप्रष्ट सिसाका ग्लासहरुलाई ताक्दै अगाडि बढेँ । लम्पसार परेर रहेका दुईटा लाम्चा मेचहरु हामी आमुनेसामुने बस्न प्रशस्त थियो । हामीलाई हस्तक्षेप गर्ने कोही थिएनन्, खुलस्त कुराकानी गर्न उपयुक्त थियो । शायद त्यसैले पनि त्यो चिया पसल छनोटमा परेको होला ।

सहजीकरणको भूमिकामा हुनुहुन्थ्यो अमृतकु्मार बोहरा । बोहराले चिनापर्ची गराइदिएका व्यक्ति हुनुहुन्थ्यो माधवकुमार नेपाल । “म मल्ल के सुन्दर” प्रत्युत्तरमा मैले भनेको त्यत्ति नै थियो । त्यो उनन्तीस साल चैत अर्थात् आजभन्दा अठचालीस वर्षअघिको कुरा होला । विराटनगरको दक्षिणी सीमा क्षेत्र, रानी मिल्स एरिया, विशेष गरी विराटनगर जुट मिल्स, रघुपति जुट मिल्स, हुलास स्टील फ्याक्ट्री, जुद्ध म्याच फ्याक्ट्री आदि थुप्रै कलकारखाना थिए । भरखरै चिनापर्ची गराइएका व्यक्ति नेपाल पनि बैंकको रानी शाखामा कार्यरत कर्मचारी हुनुहुन्थ्यो ।

राष्ट्रिय समाचार समितिको अञ्चल प्रतिनिधिमा नियुक्ति पाएपछि कोशी अञ्चल मेरो जिम्मामा पर्यो । विराटनगरको मुख्य बजार बुद्धहाटमा कोठा लिएर बसेको थिएंँ । लामो समय भइसकेको थियो, बोहरा आफ्नो सङ्गठन विस्तारका काममा पूर्वीय क्षेत्रतिर धाइरहनुहुन्थ्यो । विराटनगर पुगेका बेला उहाँ मेरो कोठामा पस्न भुल्नु हुन्थेन । यद्यपि हाम्रो मित्रता काठमाडाँैं छंँदैखेरिको थियो । मलाई बोहराको भूमिगत रुपमा वाम राजनीतिक समूहसँंग आबद्धता रहेको राम्ररी जानकारी थियो । मेरो वाम विचारसंँगको झुकावका कारणले हामीलाई निकट ल्यायो ।

त्यतिखेर नेपाली राजनीतिमा झापाली समूह चर्चाको केन्द्रमा थियोे । बोहरा त्यसै समूह विस्तारका काममा विराटनगरतिर धाइरहनुहुन्थ्यो । यस पटक केही दिनपछि नै विराटनगरबाट उहाँ हिँड्नुभयो । नेपालसंँग भने मेरो सम्बन्ध, संवाद निरन्तर रहँदै आयो । शनिबार जोगबनीतिर सिनेमा हेर्न भाँैंतारिँदै गर्दा समय निकालेर म नेपालको रानीमा रहेको डेरामा पुग्थे ।

नेपालको डेरा भन्नु मात्रको थियो । रानीको सडकभित्र खुला नालीसंँगै फुसको सानो छाप्रो, एकातिर स्टोभ, आल्मोनियमका भाँडा, अनि छेउमा खटिया, एक कुनाबाट अर्को कुनासम्म टाँगिएको डोरी र त्यसमाथि लुंँगी, रुमाल, केही कपडा । बस्, मेरो सम्झना भएसम्म नेपालको आवास भनेको यति नै थियो । खटियामाथि एउटा मच्छरदानी थियो क्यार ।

“सर्वहारावर्गको लागि क्रियाशील हुनेहरुले सर्वहारासंँग जिउन सिक्नुपर्छ, सर्वहाराहरुको दुःख, पीडा, समस्या के हुन् भन्ने कुरा सुनेर वा पढेर होइन, आफैँले भोगेर शिक्षा लिनुपर्छ ”, उहाँमा यस्तै दृढता थियोे, कडा प्रतिबद्धता पाइन्थ्यो । क्रान्तिबाहेक अन्य कुराको चर्चा नै गरिन्नथ्यो । धर्मप्रसाद ढकालमाथिको एक्सन भइसकेको त्यो कालखण्ड । नेपालको प्रत्येक संवादमा ‘वर्ग शत्रु सफाया’ मा मात्र जोडबल हुन्थ्यो ।

कम्युनिष्ट सिद्धान्तका सम्बन्धमा अध्यक्ष माओका लालपुस्तिकालाई नै मूलमन्त्र सम्झनुहुन्थ्यो । कुराकानीमाझ बेलामौकामा तकियामुनिको रेडबुक निकाल्दै त्यसभित्रका पङ्क्तिहरु उद्धरण गर्न लालायित हुनुहुन्थ्यो । अत्यन्त उग्र, आक्रामक, आवेशपूर्ण भावना, केवल त्याग, बलिदान अनि सर्वहारा वर्गप्रति समर्पणका अभिव्यक्तिहरु ।

पश्चिम बङ्गाल टाढा थिएन, नक्सालबारी आन्दोलनका नेताहरु कानु सन्याल, जङ्गल सन्थालहरुको आवतजावत हुन्थ्यो । सागर नेपालका परिचयमा मदन भण्डारीको मुकाम विराटनगर बस पार्कनिर थियो । विद्यादेवी भण्डारी महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिका लागि खटिनुभएको थियो । अशोककुमार राई क्षेत्रकै पार्टी सङ्गठन विस्तारका जिम्मामा हुनुहुन्थ्यो ।

भारतको फारबेसगञ्जमा झापाली आन्दोलनका दस्तावेज छापिन्थे । समयसमयमा सहजता र सुरक्षाका लागि जोगबनी सीमा कटाएर नेपाल ल्याउने जिम्मा मलाई दिइन्थ्यो । राससका संवाददाताका नाताले अञ्चलाधीशको सेतो प्लेटको को अ १ नम्बरको रसियन जीप चढ्ने सुविधा प्राप्त थियो । सीमा वारिपारिका लागि त्यसको सदुपयोग गरिन्थ्यो ।

एउटा सरकारी समाचार संस्थाको कर्मचारी म, रामै्र पारिश्रमिक पाउँथे । विराटनगर जस्तो आधुनिक शहरको मुटुमा सुविधासम्पन्न कोठा लिएर बसेको थिएंँ । राम्रो चामलको भात दुई छाक भरपेट खान पाएको थिएंँ । अफिसबाटै प्राप्त अरु सुविधाहरु पनि उपभोग गरिरहेको थिएँ । हरेक शनिबार सिनेमा हल छिरेर बिदाको आनन्द लिन पनि छाडेको थिइन । जब नेपालको रहनसहन बसाइ देखेंँ, म आफ्नो वाम राजनीतिप्रतिको इमान्दारीमा प्रश्न गर्थेँ, सङ्कोच र ग्लानिबोध हुन्थ्यो । नेपालको राजनीतिक बुझाइ अनि जीवनयापन शैलीबाट म अवाक् बनेको थिएंँ ।

समय बित्दै गयो, विराटनगर रानी मिल्स एरिया वरपर वाम राजनीति, त्यसमा पनि झापाली विद्रोहका बाछिटा कारखाना, मिल्सहरुका भित्तामा देखिन थाले । रानी एरियामै एउटा सानो सिनेमा हल थियो अरुण सिनेमा । ‘हकिकत’ नामको भारतीय सिनेमा लागेको थियो । भारत–चीन सीमा युद्धको कथामा आधारित । सिनेमामा चिनियाँ शासक र सेनालाई होच्याएर देखाइएको थियो । त्यतातिर बसोबास गर्ने वाम युवाहरुलाई त्यो पाच्य भएन, सिनेमा हलको पर्दामा नै आगो लगाइदिए । सिनेमा हल जल्यो ।

पछि थाहा पाएँं नेपाल प्रहरी हिरासतमा परिसक्नुभएको रहेछ । त्यसपछि हामी दुवैबीच सम्पर्क, भेटघाट रहेन । केही समयपछि राससले मलाई पनि केन्द्रमै सरुवा ग¥यो । म काठमाडौंँमा बसेर जागीर थाम्दै गरे ।

राससको जनकपुर अञ्चलको कार्यभार सम्हाल्दै गर्नुभएका लीलासिंह कर्मालाई स्थानीय राजनीतिक चलखेलका कारण जनकपुरमा टिक्न दिइएन । उहाँ त्यहाँबाट खेदिएपछि जनकपुरको जिम्मा मेरो थाप्लामा पर्यो । हाकिमहरुले मलाई त्यतै खटाए । जागीरे भएपछि खटाइएको क्षेत्रतिर लाग्नै पर्यो । जनकपुर रेल्वे स्टेशन, भानुचोक मेरो बसाइ थियो । त्यहीँ एक कोठालाई अफिस बनाइयो ।

संजोगको कुरा, म सरस्वती क्याम्पस पढ्दै गर्दा अर्थशास्त्र अध्यापन गराउने प्राध्यापक शङ्करराज पाठक जनकपुर अञ्चलाधीश भएर आउनुभयो । गुरु शिष्यको केमेष्ट्री गजबको थियो । दुवैबीचको सम्बन्ध र निकटताले अञ्चलाधीश जस्तो पदासीन व्यक्ति पाठक साँझ चियापानका लागि मेरो कोठा आइपुग्नुहुन्थ्यो । कतै कुनै समारोहमा परसम्म जिल्लातिर हिंँड्नु पर्दा उहाँ मेरो साथ खोज्नुहुन्थ्यो । सँंगसँगै जनकपुर अञ्चलका थुपै्र जिल्ला घुमियो ।

अञ्चलाधीशको साथ समर्थनबाट जनकपुरमा नेपाल पत्रकार सङ्घको शाखा बनाइयो । ‘नयाँ पाइलो’ साप्ताहिकका सम्पादक लेखनाथ शर्मा अध्यक्ष अनि सचिवको जिम्मा मेरो रह्यो । जनकपुरभरिका पत्रकारलाई गोलबन्द गर्ने अवसर मिल्यो । जनकपुरको सामाजिक परिवेशमा त्यसले राससको एउटा बेग्लै प्रतिष्ठा र इज्जत स्थापित गरायो ।

म जनकपुर छंँदा पनि ग्रामीण भेग र पहाडी क्षेत्रको सङ्गठनको जिम्मेवारी बोकेर बोहरा सम्पर्कमा आउने गर्नुृहुन्थ्यो । अबेर पर्दा रात बिताउने थलो मेरै कोठा हुन्थ्यो । ईश्वर पोखरेल त्यतिखेर जनकपुरमै क्रियाशील हुनुहुन्थ्यो । प्रकाश काफ्ले र सुशील प्याकुरेलसंँगको चिनाजानी पनि जनकपुरबाट भएको थियो । स्थानीय वाम नेता पाण्डवराज घिमिरे मकहाँ नियमित आउने जाने गर्नुहुन्थ्यो ।

उहाँहरुले सुनाउनुभयो, नेपाल फेरि पक्राउमा पर्नुभयो । वाग्मती र जनकपुर अञ्चलको सीमान्त क्षेत्र कर्मैयातिर प्रहरीले फेला पारेको रहेछ उहाँलाई । पार्टीका थुपै्र सामग्री पनि माधवसंँगै जफत गरिए तर, थाहा छैन, नेपाललाई प्रहरी प्रशासनले कता पु¥यायो ? के गरे ? कुन स्थितिमा छन् ? जिउँदै हो वा मारिसके ? व्यापक चिन्ता र चासो थियो । कसैबाट केही पनि सुइँको पाउन सकिएन ।

झापाली विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) ले स्वरुप लिइसकेको त्यो समयखण्ड । पञ्चायती शासकहरु अत्यन्त निर्मम, निरङ्कुश र दमनकारी बन्दै गइरहेका थिए । पक्राउमा परेकाहरुलाई विनाअभियोग गुपचुप थुनामा राख्ने, यातना दिने तथा बेपत्ता पार्ने काम तीव्र थियो । सिन्धुलीमा आजादलाई, धनुषामा सूर्यनाथ यादवलाई मारिसकिएको थियो ।

विशेषतः झापाली विद्रोहीहरुलाई मुठभेटका नाउँमा जङ्गलतिर लगेर गोली ठोक्ने, जिउँदै आगो लगाएर हत्या गर्ने घटना भइरहेका थिए । कतिपयलाई हातखुट्टा बाँधेर बोराभित्र कोच्दै नदीमा फाल्ने गरियो भन्ने पनि व्यापक हल्ला थियो । ठीक त्यसै समय नेपालको पक्राउ, त्यसमा पनि सबुद प्रमाणसहित । पार्टी पङ्क्तिमा व्यापक आशंका भयो, सरकारले गुपचुप तरिकाले उनलाई पनि सिध्यायो होला, बेपत्ता पारिए होला । नेपालका सम्बन्धमा अनेकन चिन्ता थियो, त्यत्ति नै निराशा व्याप्त हुँदै ग¥यो । अब नेपालसंँगको भेट होला भन्ने कुरामा धेरैले आशा मारे ।

बोहरा फेरि एक पटक मेरोमा आइपुग्नुभयो तर अत्यन्त हतास मनस्थितिमा । मेरो अञ्चलाधीशसंँगको राम्रो उठबस र जनकपुरको समाजमा स्थापित परिचयको पृष्ठभूमिमा उहाँले विशेष सहयोगको अपेक्षा गर्नुभयो । नेपालको अवस्थाबारे अवगत गराइयो । समयमै खोजखबर गरिएन भने केही पनि हुन सक्ने खतरा छँंदै थियो । अवस्था सङ्गीन थियो तर त्यसबारे खुला रुपमा मैले कसैसंँग चर्चा गर्न सक्ने स्थिति थिएन । एकातिर नेपालको जीवन रक्षाको संवेदनशील कुरा, अर्कातिर प्रहरी प्रशासनको निरङ्कुशता, सजिलो थिएन । म द्विविधामा परे, के गर्ने ? कसरी गर्ने ? शुरुआत कहाँबाट गर्ने हो, बेग्लै खाले चुनौती रह्यो ।

केही दिनको घोत्ल्याइँपछि म एक्लैले एउटा योजनाको ढाँचा तयार पारँें । पत्रकार सङ्घ, जनकपुर शाखा वैधानिक माध्यम छंँदै थियो । सबै मित्रमण्डलीलाई सहमत गराइसकेपछि पत्रकार सङ्घकै कार्यकारीहरुका तर्फबाट जनकपुर अञ्चलका विभिन्न जिल्लाका कारागारको अवस्था निरीक्षण गरिने कार्यक्रम तय भयो । मेरातर्फबाट गरिएको आग्रहका कारण अञ्चलाधीश सजिलोसँंग सहमत हुनुभयो । सोहीअनुसार सबै प्रमुख जिल्ला अधिकारीहरुमार्फत जेलरहरुलाई परिपत्र गरियो ।

पत्रकार सङ्घको कारागार निरीक्षणको कार्यक्रम धनुषा जिल्लाबाट शुरु गरियो । अन्य पत्रकार साथीहरुका लागि त्यो कार्यक्रम समाचार सामग्री बनाउने एउटा मेसो बन्यो, मेरा लागि भने एक विशेष खोजी अभियान थियो । जिल्लाका कारागार घुम्दैघुम्दै अन्त्यमा महोत्तरी जिल्लाको जलेश्वर पुगियो । अन्यत्र जस्तै जेलरको औपचारिक स्वागत सत्कारपछि कोठाकोठा चाहारियो, बन्दीहरुसंँग भेट्ने काम भयो, सोधपुछ भयो, अवस्थाको जानकारी लिइयो । जेल रहेका स्थान, जिल्ला र कैदीहरु फरकफरक रहे पनि निरीक्षणको हाम्रो कार्यक्रम उस्तैउस्तै रह्यो । मेरा लागि भने आफूले सोचे जस्तो योजना बनेन, निराश भएंँ ।

जलेश्वर जेल निरीक्षण सिध्याएर फर्कन लागेको थिएँं, कारागारभित्र कुनै एक बन्दीले मेरो कुर्ताको फेर तान्दै इशारा गरे । शुरुमा त मैले उनको इशाराको भेउ पाउन सकिन । दोहो¥याएर उनले मेरो ध्यान खिंच्दै गरे, पछि उनको सङ्केतलाई बुझेंँ । जलेश्वर जेलमा सामान्य कैदीहरु राख्ने कोठाका अतिरिक्त थप एउटा कालकोठरी पनि रहेछ । हामी त्यतातिर पुगेकै रहेनछौँ । उनको सङ्केत त्यतैतिर रहेछ, कुरा बुझेंँ ।

मसँग आएका साथीहरु सबै कारागार बाहिर पुगिसकेका थिए । मैले भित्रै रहेर जेलरलाई त्यस कालकोठरीभित्र जान दिनका लागि आग्रह गरँें । आलटाल गर्दै थिए, सजिलोसंँग मानिरहेका थिएनन् । धेरै करबलपछि जेलरले म एक्लैलाई मात्र खुसुक्क भित्र पस्न इशारा गरेँ । मैले त्यसै गरे ।

सानो, अंँध्यारो कालकोठरी, मैले केही ठम्याउन सकिन । मलिन प्रकाश, चिसो भुइँमा केही छरप्रष्ट छ जस्तो अनुमान गरेंँ । केही बेर एक टक लगाएर हेर्दै गरेंँ । विस्तारै केही रेखीहरु पहिल्याएँं । मान्छेको श्वासप्रश्वास सुनियो । हेर्दै गर्दा ठम्याएंँ सिङ्गो मान्छे भुइँमा लडाएर राखिएको रहेछ । हात खुट्टा गोर्खेलौरीमा । लामो दाह्रीजुँगा, पातलो मान्छे, केवल तेजिला दुइटा आँखा, चिन्न नसकिने । देख्नेबित्तिकै त्यस कैदीले मलाई भने चिने । उनले तुरुन्तै इशारा गरे, मैले बुझेंँ । ती कैदी अरु कोही नभई नेपाल थिए ।

आखिर, मेरो योजनाले काम गर्यो । तुरुन्तै ठाउँमा सूचना पुग्यो । राजनीतिक दवाव, मानवअधिकारवादीहरुको सक्रियता बढ्यो । बेपत्ता पारिएका, ज्यानको ठेगाना नभएका, साथीभाइले माया मारिसकेका नेपाल केही दिनमै काठमाडौंँको कारागारमा सरुवा गरिनुभयो । कुनै क्षण झण्डै मृत्युको सँघारमा पुगिसकेका व्यक्ति नेपाल समयचक्रले नेपालको प्रधानमन्त्रीको कुर्सीसम्मै पुग्नुभयो ।

बैंकका निम्नतहका कर्मचारी, उग्र सोचका युवक, सर्वहारावर्गका लागि सर्वस्व त्याग्न प्रतिबद्ध विद्रोही कालखण्डसंँगै फेरिनुभयो । देशको कार्यकारी प्रमुखसम्म हुनुभयो । फेरि पनि विराटनगर रानीको मिल्स एरिया फेरिएन । त्यहाँको नाली, रछ्यान, साँघुरा गल्ली अनि असरल्ल छाप्राहरु तथा त्यहाँ निसास्सिंँदै गरेका निमुखाहरु अझै फेरिएनन । मजदूर, सर्वहारा, विपन्नहरु यत्रतत्र बेसहारा नै छन्, अझै !

थाहा छैन, मैले त्यतिखेर निर्वाह गरेको त्यो भूमिका रासस कर्मचारीका रुपमा उपयुक्त थियो, थिएन ? थाहा छैन, मैलै त्यतिखेर एक जिम्मेवार नागरिकका रुपमा भूमिका निर्वाह गरँे, गरिन ?(लेखक राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्छ ।)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !