१. केही भारतीय टिभी च्यानलले नेपाल र चीन विरूद्धको आफ्नो प्रोपगान्डा युद्ध चलाउने क्रममा नेपाल सम्वन्धमा कपोलकल्पित, भ्रमपूर्ण र अमर्यादित समाचार प्रशारण गर्ने गरेका छन् ।
वास्तवमा त्यसले नेपालको भन्दा पनि संसारको सवैभन्दा ठूलो प्रजातन्त्र र त्यहाँको स्वतन्त्र मिडियाकै अपमान र अवमूल्यन गरेको छ ।
२. तर नेपालले भारतीय टेलिभिजन न्यूज च्यानलहरूलाई बन्द गरेर त्यस्ता च्यानलहरूलाई आफ्ना मूल दर्शक अर्थात भारतीय जनता समक्ष नेपाल विरूद्ध प्रहार गर्ने थप अवशर प्रदान गरेको छ ।
३. वर्तमानमा भारतको चीनसँगको सम्वन्धको स्तरमा नेपाल चीन सम्वन्धको चरित्रलाई जोडेर त्यस्तो प्रोपगन्डा वारमा प्रशारण गरिने सामग्रीहरूको सत्यासत्य छुट्याउने काम दर्शकहरू, श्रोताहरू र पाठकहरूकै हो ।
हातहातमा इन्टरनेट सुविधा सहितको स्मार्ट फोनको युगमा त्यस्ता समाचार र टिप्पणीहरू एउटा श्रोतबाट छेकिए अर्को श्रोतबाट आउँछन् ।
झन् भ्रम र झूठ थपिएर आउँछन् ।
बढी नोक्सान गराउने भएर प्रवेश गर्दछन् ।
४. २०४६ सालको जन आन्दोलनको क्रममा भारतको सरकारी रेडियो अल इण्डिया रेडियोको खास गरेर नेपालमा व्यापक सुनिने नेपाली कार्यक्रमले नेपाल सरकार र राजा रानी विरूद्ध अत्यन्त अमर्यादित र अनर्गल प्रचार गर्दथ्यो ।
प्रतिवन्धितको अर्थमा प्र .वा पुरानोको अर्थमा पु. लेखेर कार्यालय समेत चलाएर बसेका कुनै राजनीतिक दलका नेता -कार्यकर्ताले त्यसको विरोध गरेनन् I
५. नेपालमा नै आन्दोलनमा संलग्नहरू पनि त्यस्तो गलत प्रचारमा संलग्न थिए ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, मुमा महारानी र वालिका राजकुमारी श्रुतिसम्मको चरित्र हत्या गर्न समेत बाँकी राखिएन ।
राजा ज्ञानेन्द्र विरूद्ध हिजो के र कति सम्म भनियो सवैको स्मृतिमा ताजै छ र त्यस्तो कुरो अझै भनिरहेका छन् ।
भन्न खोजिएको हामी पनि कम छैनौ ।
आधारहीन र मनगढन्ते कुरा गरेर अर्कोको बदनामी र चरित्र हत्या गर्ने गराउने हाम्रो चरित्र हो ।
आफ्नै देशका पूर्व राष्ट्र प्रमुखको व्यक्तिगत सम्मान र मर्यादाको रक्षाको सरकारी, राजनीतिक वा नागरिक दायित्व नेपाल सरकार, नेपाली राजनीति र नेपाली समाजको नबन्ने अवस्थामा अर्को देशको कुनै निजी समाचार माध्यमको कुनै स्थानीय शाखाको कार्यलाई धेरै महत्व दिनु आवश्यक छैन ।
६. हिजो राजा विरूद्ध भारतीय मिडिया त्यसैगरी आएका,खनिएका हुन् ।
हामीलाई प्रयोग गरे ,हामी त्यसैगरी प्रयोग भयौँ, गरियौँ ।
हामीलाई राजा विरूद्ध भड्काउन भारतीय मिडिया, अधिकारीहरू र केही युरोपीय मुलुकका दुतावाशका अधिकारीहरू हाम्रा घर घरमा, कोठाकोठामा छिर्ने गरेका हुन् ।
बाटो खनेका थियौँ , त्यो बाटो अरू पनि आए होलान ।
७. अल्ली अगाडि जाऔँ ! १९७१को बंगलादेश युद्धको क्रममा भारत र सोभियत सङ्घ वीच सुरक्षा सन्धि चरित्रको २० बर्षे सन्धि भएपछि चीनको सरकारी रेडियो पेकिङको हिन्दी भाषाको कार्यक्रममा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र सोभियत कम्युनिस्ट पार्टीका महासचिव लियोनेद ब्रेजनेवका चरित्र हत्याका क्रममा प्रशारित समाचार र टिप्पणीहरू त्यति अशिष्ट र अश्लील हुन्थे कि परिवारका मान्यजन वा भाइ-बहिनी, छोरा छोरीहरू माझ बसेर सुन्न सकिन्नथ्यो ।
८. प्रोपगन्डा वारमा यस्तो हुँदो रहेछ ।
कुनै अर्को देशको समाचारकै कारण सरकारीको कुरै छोडौँ निजी समाचार माध्यमका सम्पादक र पत्रकार नेपालमा हटाइने गरेका छन् ।
अनि हाम्रै कतिपय अनलाइन पढौँ न !
कुनै समाचार वा अन्तर्वार्ताको मुनी टिप्पणीको क्रममा हामीले लेख्नेगरेका कुरा हेरौँ त !
हाम्रै समाज त हो नी यो !
हामी यही समाजका अङ्ग त हौँ नी !
भारतमा पनि त्यस्तै रहेछ !
प्रजातन्त्र ठूलो तर छाती सानो -ज्यादै सानो !
९. ल अरू कुरा छोडौँ रे ।
प्रधानमन्त्री ओली विरूद्ध उनकै दलका नेता र कार्यकर्ताले लगाएका सवै आरोप सही छन् ?
राष्ट्रपति विरूद्ध उठेका हाम्रा कतिपय अशोभनीय चरित्रका विरोधका स्वरहरू यथार्थ धरातलमा उचित देखिन्छन् ?
आफूले कुनै विकल्पमा जान नसक्ने ,पूर्णत: संवैधानिक र आलंकारिक राष्ट्रपतिले सरकारको शिफारिश मानिन् भनेर विरोध गर्ने मानिस हौँ हामी !
१०. गएको तीस वर्षमा गिरिजा प्रसाद कोइरालाको पहिलो कार्यकालले मुलुकको आर्थिक विकासमा मारेको फड्को पछि ओलीको वर्तमान सरकारले सवैभन्दा बढी , कोइरालाको उक्त कार्यकालमा भन्दा बढी विकास दर प्राप्त गरेको छ ।
धेरै सम्भावानाका ढोका खुलेका छन् ।
सार्वजनिक विद्यालयहरूको भवन निर्माणमा यो सरकारको कार्यकालमा ऐतिहासिक उपलव्धि प्राप्त भएको छ ।
गाउँ गाउँमा सिँचाई खानेपानी सुविधा विस्तार र सडक यातायातको विकासमा त्यस्तै सफलता सरकारले आर्जन गरेको छ ।
कोरोना विरूद्ध लड्ने क्रममा संसारका धेरै मुलुकले भन्दा नेपालले राम्रो गरेको छ ।
अधिकांश स्थानीय निकायहरूले उम्दा काम गरेका छन् ।
तर सरकारका यी उपलव्धि बारे प्रमकै दल बोल्न सकिरहेको छैन ।
(कोरोनापछि र नक्सायुद्ध पछिको अवस्था बारे अहिले अनुमान नगरौँ )
११. हो शुरू देखिनै सरकार कूटनीतिक क्षेत्रमा चुक्दै गएको छ ।
सरकार र प्रशासन स्वच्छ देखिन सकेन ।
प्रधानमन्त्रीले आफ्नो पदको गरिमा र मर्यादा अनुरूप बोलीमा संयम र सन्तुलन प्रदर्शन गर्न नसकेका पनि हुन् ।
मन्त्रीहरूले गरेको भ्रष्टाचारको सवालमा प्रधानमन्त्री ढाल बनेर उभिएको देखिदा आशंका बाक्लिएका छन् ।
उही अभियोगमा आफ्ना पार्टीका अझ वढी जिम्मेवार वरिष्ट नेताहरू नछोइने तर विजय गच्छेदारहरू जस्ता दण्डित गराइएका छन् ।
१२. गम्भीर भएर हेरौँ त ! हामीले भारतीय नक्सामा समावेश रहेको तर हाम्रो नक्सामा नरहेको र भारतको नियन्त्रणमा रहेको भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्यौँ !
त्यो भनेको एक किसिमको चरम शीत युद्धको युद्धको स्थिति हो ।
नयाँ नक्सा जारी गर्यौँ , अनि आवश्यक पर्ने प्रमाण सङ्कलन गर्ने टोली बनायौँ !
त्यस्तो नक्सा जारी गर्नु अघि एक पटक आफ्नो सवैभन्दा निकटको मित्र राष्ट्रसँग हाम्रो प्रमाण यस्तो छ तिम्रो प्रमाण देखाऊ, भनेर लिखित, मौखिक कुनै आधारमा कुरा गरे जस्तो लागेको छैन ।
१३.सिद्धान्तत: नेपालको ,नेपालसँग आफ्नो भएको प्रमाण पनि रहेको, तर तर सय वर्ष भन्दा पनि अघि देखि आफ्नो नियन्त्रणमा नभएको, भोग चलनमा नरहेको भूमि सम्वन्धमा नेपालले दावी गर्नु उचित थिएन भन्ने हुँदै होइन !
दावी गरेर सो बमोजिम कूटनीतिक पहल पत्राचारको बाटो ठिक र जायज हुन्थ्यो होला !
यौटा चरणमा दावी मात्रै पर्याप्त हुन्थ्यो होला, तर हामीले त केही दिनमा सवै फटाफट सक्यौँ ।
हाम्रो प्रमाण जोड्दै छौँ तर उसको प्रमाण के हो सोध्ने आवश्यक ठानेनौ।
यस्तो हुँदैन अन्तर्राष्ट्रिय राजनीतिमा !
त्यस्तो निर्णय गर्नु अघि सम्वन्धित अर्को पक्षलाई आधिकारिक जनाउ दिएकै हुनुपर्दछ ।
अर्को कुरा, त्यति समय भित्र त त नेपाल सरकारको ढुकुटीबाट स्थानीय निकायको बैंक खातामा अनुदान र सहयोग रकम पुगेको उदाहरण पनि नहोला हामी कहाँ ।
यौटा कर्मचारीको सरूवा पनि टुंगिदैन त्यति समयमा त !
१४. राष्ट्रपतिको सम्वोधनमा उक्त भूभागलाई दावी गर्ने विषय राख्न सरकारी दलको सचिवालयले प्रधानमन्त्रीसँग राखेको माग सरकारलाई अप्ठ्यारोमा पार्ने आशयले गरिएको सरकार विरूद्धको सवैभन्दा घातक रणनीतिक प्रहार थियो ।
तीन तीन जना पूर्व प्रधानमन्त्री , एक जना पूर्व परराष्ट्र मन्त्री समेत भएर त्यस्तो आन्तरिक राजनीतिक तनावको स्थितिमा,
प्रधानमन्त्री त्यस्तो दवावमा रहेको बेलामा त्यस्तो मागको जटील र गम्भीर राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्ष बुझेरै उनीहरूले प्रधानमन्त्रीलाई त्यस्तो दवाव दिएका थिए ।
त्यसलाई केही समय रोकेर राख्ने वा अर्को सहज र व्यवस्थित तर प्रभावकारी विकल्पमा प्रवेश गर्ने समय पनि प्रधानमन्त्रीलाई भएन ।
त्यसको लागि आवश्यक पर्ने गम्भीर कूटनीतिक संवेदनशीलता र राजनीतिक साहश प्रधान मन्त्रीले देखाउन सक्नु भएन ।
जारी भयो, जारी गरियो, जस पनि लिनु पर्यो र दायित्व पनि बोक्नै पर्यो !
प्रधानमन्त्री यहाँ चुक्नु भयो तर आफू चुकेको कुरा छोप्न उहाँ भारत विरूद्ध बढी आक्रामक देखिन थाल्नु भयो ।
१४. भारत र चीनको सम्वन्धको आजको स्तरमा हामी भारतसँग यसरी व्यवहार गरिरहेको अवस्थामा हाम्रो सरकार र सत्तारूढ दलले चीनसँग देखाएको अस्वाभाविक निकटतालाई भारत सरकार र त्यहाँको मिडियाले सहज रूपमा नलिएको कुरा बुझ्न सकिन्छ ।
हुन्छ त्यस्तो !
आवेग र उत्तेजनामा केही निजी भारतीय मिडियाको पनि कुनै स्थानीय शाखाले अराजक भएर,अनुत्तरदायी भएर, अमर्यादित भएर कुनै सामग्री प्रशारण गरे भनेर प्रतिक्रियामा सम्पूर्ण भारतीय न्युज च्यानल बन्द गराउने कार्य उचित होइन ।
परिणाममा यो उनीहरूलाई नै सघाएको सावित हुन सक्दछ ।
हिजो राजाहरूले त्यसलाई पचाउने राजनीतिक धैर्य, संयम र साहश प्रदर्शन गरेका थिए ।
हाम्रा वर्तमान शासकहरूले पनि पचाउने त्यस्तै धैर्य, संयम र साहश सावित गर्नु पर्दछ ।
नेपाल राष्ट्र र नेपाली राजनीतिको लागि उनीहरूसँग त्यसको विकल्प छैन ।
*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।
यो पनि पढ्नुहोस्
वर्तमान नेपाली सत्ता राजनीतिमा कमजोर भारत र शक्तिशाली चीन
किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?