युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाएपनि गोली लाग्दोरहेछ । महामारीको २ बर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो । डा. शर्मा आफ्नै घरमा एकान्तवासमा बसे ।
आफु संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्था राखे ।
त्यसपछि पिंजडामा थुनेका चराहरु उडेजस्तै डा. शर्माको मोबाइलमा रिंगटोनको झरी लाग्यो । शुभेच्छाप्रति डा. शर्मा हर्षविभोर भए ।
डा.शर्माका काकाले भने – ज्वानो, बेसार र गुर्जो पकाएर कुँडो पिएझैं पिउनु, ठिक हुन्छ ।
अर्का परिचितले भने – गुर्जो नखानु है, कलेजोमा असर गर्छ । अदुवा र मरिच खुब खानू !
अर्को आवाज आयो – चिन्ता गर्नु पर्दैन डा.साहेब ! लोकल कुखुराको झोल भुँडी फुटुन्जेल खानुहोला, सन्चो हुन्छ ।
एकजनाले भन्यो – दोस्रो लहरमा १४ जना डाक्टर मरे। अलि होश पुर्याउनुहोला है !
परिचित मित्रले फोन गरे – एन्टिबायोटिक, सिटामोल, कफ सिरप र भिटामिन खानुहोला, निको हुन्छ ।
अर्को परिचित व्यक्तिको फोन आयो – कोरोना भाइरस हो । एन्टिबायोटिक नखानुहोला है, इम्युनिटी पावर घट्छ । सिटामोलले कलेजो खराब गर्छ ।
टाढाबाट फोन आयो – खुकुरी रम वा झवाईखट्टेसंग बट्टाईको रस खानुहोला, कोरोना सोरोना भाग्छ ।
फेरी अर्को फोन आयो – डा. साहेब ! मेरो अस्पतालमा आउनुहोस् । एकहप्ता यतै बसौं, ढुक्क हुन्छ ।
अर्को फोन आयो – मासुमंस, दुध, दही केहि नखानु है बाबु !
फोन काट्नेबित्तिकै अर्कोले भन्यो – घाममा बसेर दिनको डेढ किलो सुन्तला, बदाम,स्याउ, अनार खानुहोला । यो कोरोना सोरोना हैन, रुघामर्गी हो , बिसेक हुन्छ ।
डा. शर्माको स्कुले मित्रको फोन आयो – हाम्री आमालाई ७ महिना गलाएको हो, जाइफल, हिंग, कस्तुरीको नाभी, यार्सागुम्बा र चिराइतोलाई पिसेर लेदो बनाएर स्याउको रक्सी मार्फासंग १ बर्ष खानुहोला, जीउ तन्ग्रिंछ ।
डा. शर्मा पजल भए ।
उनले मनमनै भने – कोभिड त जित्ने थिंए, उपदेशले पो मार्ने भयो।
*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् । डा. पाण्डेको साहित्यकार उपनाम रवीन्द्र समीर हो ।