१४ बैशाख २०८१, शुक्रबार

कविता – हो साथी म फेरिएछु


रामचन्द्र तिम्सिना

फोहोरी जापान काण्ड खोजी-खोजी हेर्थे
रामायणको सुन्दर काण्ड हेर्ने भएछु ।
हँसिया हथौड़ा नओढे निन्द्रा आउँदैन थियो
राष्ट्रिय झण्डा ओढ्ने भएछु ।
हो साथी म फेरिएछु ।

मन्दिरभित्र भगवान खोज्थें
दिन दु:खीमा खोज्न थालेछु ।
भिन्दै लक्ष्य भिन्दै उद्धेश्य
बर्गिय मुक्तिमा नै भविष्य खोज्न थालेछु ।
हो साथी म फेरिएछु ।

रोदन चित्कार र कोलाहलमा हुर्केको मान्छे म
भड्किलो समाजमा निस्यासी रहेछु ।
गोठालोमा कन्दमुल खोजेर बाँचेको मान्छे म
दलहरुका गुलिया नारामा असलियता खोज्ने भएछु ।
हो साथी म फेरिएछु ।

जिन्दावाद र मुर्दावादमा खुशी हुने मान्छे
मौनतालाई अंगाली रहेछु ।
वाद, दर्शन र सिद्धान्त कोरा कागज भए
व्यबहारमा समाजवाद खोजिरहेछु ।
हो साथी म फेरिएछु ।

नेता जन्मायो देशले, नेतृत्व अर्कैको भयो,
राष्ट्रिययता खोजी रहेछु ।
राजनेता जन्मिनु पर्ने दलाल धेरै जन्मिए देशमा
तानाशाहको तमासा हेरिरहेछु ।
हो साथी म फेरिएछु ।
हो साथी म फेरिएछु ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !