४ जेष्ठ २०८१, शुक्रबार

नयाँ नेपाल


अरुण एशियन

अचेल मस्त निदाउन थालेको छु

मनमा कुरा पनि उतिसारो खेल्दैन

देशको चिन्ता पनि छैन

कुनै आस पनि छैन

अचेल नयाँ नेपाल यस्तै हो जस्तो लाग्छ

आखिर सबै नयाँ नै त छ

मेरो उमेर नयाँ छ

हजुरको भुडी र जुगा नयाँ छ

व्यवस्था नयाँ छ प्रक्रिया नयाँ छ

विवसता नयाँ छ

प्रयोग नयाँ छ

झन् नयाँ हजुरको बोली र परिबर्तन छ ,

 

अब मलाई नयाँ नेपालले ब्युझाउदैन

मलाइ कुनै पश्चतापले पगाल्दैन

कुनै तिर्सना र रहरले अगाल्दैन

अनि कुनै बेदना र आश्वासनले संगाल्दैन

मलाई सबै पाए झैँ लाग्छ

नयाँ नेपाल आए झै लाग्छ

आखिर जंगलमा कोहिलीले गीत नगएको त हो नी

गिद्ध र उल्लुहरु उडेकै छन्

बम र गोला बारुदको आवाज नआएको त हो नी

युवा बोक्ने जहाजको आवाज आएकै छ

हो, म अचेल मस्त निदाउछु,

तर नानी सुत्त्न छोडेको छ

खाली भन्छ एउटा युद्ध गर्नुपर्छ बाबा

नयाँ नेपाल आइसक्यो के को युद्ध ?

यस्तो  हैन अर्कै नयाँ नेपाल आउछ बाबा

फेरि कस्तो ? कस्तो नयाँ नेपाल ?

हजुरको छोरो मन्त्री भएको *

 

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका अरुण एशियन लेखक तथा साहित्यकार हुन् । उनका लेखहरु साहित्यिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन । उनको रंगीन सपना नामक उपन्यास प्रकाशित छ  । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !